ताजा अपडेट »

रुपन्देही-२ : पौडेल विरुद्ध सूर्यवंशी, सफल होला त सत्ता गठबन्धन?

सोमबार, १४ कार्तिक २०७९, १७ : ०८
12 Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ यतिबेला देशव्यापी रुपमा चर्चामा छ । रुपन्देही २ अर्थात बुटवल हरेक निर्वाचनको बेलामा चर्चामा आइनै रहने क्षेत्र हो । मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेद्वारी मनोयन दर्ता भए पछि यहाँ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका उम्मेद्वार राजु गुरुङबीच प्रतिस्पर्धा हुने धेरैको आंकलन रहेको थियो ।

तर, एकीकृत समाजवादीका गुरुङलाई निर्वाचन आयोगले चेक अनादरमा कालोसूचिमा रहेको भन्दै उम्मेद्वारी खारेज गरिदियो । यसले देशव्यापी रुपमा निकै चर्चा पायो । आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालत पुगेका गुरुङ गए । तर, अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गरिदियो । सत्ता गठबन्धनका उम्मेद्वारको उम्मेद्वारी नै खारेज भएपछि लगातर ३ पटकसम्म यहाँबाट निर्वाचन जितेर पटक–पटक मन्त्री भएका एमाले उपाध्यक्ष विष्णु् पौडेललाई केही सहज भएको एमाले नेताहरुले बताउने गरेका छन् । उम्मेद्वारविहीन भएको सत्ता गठबन्धनले जनमुक्तिबाट उम्मेद्वार बनेका केशब बहादुर थापा सूर्यवंशीलाई समर्थन गरे पछि अब पौडेलको मुख्य प्रतिस्पर्धी केशवबहादुर हुने निश्चत प्रायः भएको छ ।

केशव बहादुर थापा राष्ट्रिय जनमुक्तिका केन्द्रिय कार्यकारी अध्यक्ष त हुन् । तर, उनका लागि संसदीय निर्वाचन पहिलो र नयाँ हो । जनमुक्तिको केन्द्रिय कार्यकारी अध्यक्ष भए पनि उनी त्यति परिचित अनुहार भने होइन । २०५१ सालदेखि नै संसदीय निर्वाचन लड्दै एमाले उपाध्यक्ष विष्णु पौडेल २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनदेखि रुपन्देहीबाट निर्वाचन लड्दै आएका छन्। २०५६ सालको निर्वाचन बाहेक सबै निर्वाचन जितेका छन्।

पौडेल र थापाका सबल–दुर्बल पक्ष
रुपन्देहीमा ठूला–ठूला विकासमा विष्णु पौडेलको महत्वपूर्ण योगदान रहेकाले यहाँ उनलाई कसैले पनि रोक्न नसक्ने एमाले नेताहरु बताउँदै आएका छन् । रुपन्देहीका विकासका लागि पनि विष्णु पौडेलले रुपन्देही–२ बाट जित्न आवश्यक रहेको र यो कुरा रुपन्देहीबासीले राम्रोसँग बुझेको उनीहरु दाबी गर्छन्। यसले गर्दा पौडेलको केही व्यक्तिगत भोट आउने सम्भावना छ ।

२०७४ सालमा विष्णु पौडेलले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर बुटवललाई प्रदेशको राजधानी बनाउने अठोटका साथ आफूलाई जिताउन आग्रह गरे । भारी मतान्तरले निर्वाचन जितेर मन्त्री पनि भए । प्रदेश राजधानी बुटवलबाट दाङ सरेपछि एमाले र पौडेलसँग बु्टवलबासीले मन दुखाएका छन् । जुन वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले पनि संकेत गरेको छ ।

राजधानीका सवालमा मन दुखाएका बुटवलवासीलाई क्षतिपूर्ति स्वरुप बुटवललाई आर्थिक केन्द्र बनाउने बताउँदै आएका छन् । चुनावी अभियानमा घरदैलोमा रहेका उनले मतदातालाई सम्झाउँदै फकाउँदै पनि छन् । केहिले भने पौडेललाई कमजोर बनाउन एमाले महासचिव शंकर पोखरेलले रुपन्देहीका एमाले नेताहरुको साथ लिएर आफू हावि हुन खोजेको बताउने गरेका छन् ।

राष्ट्रिय जनमुक्तिको बुटवल खासगरी रुपन्देही क्षेत्र नम्बर–२ मा जनाधार कमजोर रहेको छ । अर्को तर्फ केशवबहादुर पहिलो पटक निर्वाचन लड्न लागेका छन् । उनी पूर्ण रुपमा सत्ता गठबन्धन अर्थात् नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मतमा भर पर्नुपर्ने छ । निर्वाचनमा कांग्रेस माओवादीका सबै कार्यकर्ताले सूर्यवंशीलाई मत दिन्छन् दिदैँनन् त्यो निर्वाचनको मत परिणामले नै बताउला ।

यद्यपी प्रतिष्पर्धामा पौडेल र थापा रहे पनि थापाको जीत र हारमा भने गठबन्धनको मुख्य भूमिका रहेको छ । निरन्तर निर्वाचन जितेर बुटवलमा विकासका ठूला योजना पारेका र बुटवलका अधिकांश जनतासँग भिजेका पौडेलविरुद्ध थापालाई अघि सारेको गठबन्धनले विजयी गराउँछ या सक्दैन ! गठबन्धनको सफल होला या असफल मंसिर ४ पछि नतीजाले बताउने नै छ ।

यस्तो छ चुनावी मतको अकंगणित
रुपन्देही क्षेत्र नम्बर २ मा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ । यी तिनै पालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको छ । जबकी २०७४ सालको स्थानीय निर्वाचनमा यी तिनै पालिका एमालेले जितेको थियो ।

स्थानीय तहको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ अन्तर्गत पर्ने वडामा नेपाली काँग्रेसका वडाध्यक्षले कुल ३४ हजार ९५९ मत पाए । एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादी केन्द्रले ३ हजार ८८ र एकृकीत समाजवादीले १ हजार ३८२ मत ल्याएका थिए । यस्तै जनमुक्तिले बुटवल उपमहानगरपालिका बाहेक यस क्षेत्रमा पर्ने अन्य पालिकाका वडाध्यक्षले २ हजार ७० मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा एमालेले बुटवलमा जनमुक्तिलाई केही वडा सदस्य दिएर तालमेल गरेको थियो ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।