ताजा अपडेट »

बजारमा प्रतिबन्धित प्लास्टिकका माला, प्रशासन भन्छ- ‘तत्काल कारवाही गर्छौं’

आइतबार, ०६ कार्तिक २०७९, २१ : ४२
49 Shares


बुटवल । सरकारले देशभर प्लास्टिकका फुलगुच्छाको उत्पादन, आयात, विक्री वितरण र भण्डार गर्न पूर्ण रुपमा रोक लगाएको छ । वन तथा वातावरण मन्त्रालयले साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी त्यस्ता बस्तुहरु माथि पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो।

यस्तै वातावरण विभागले बिहीबार पनि सार्वजनिक सूचना जारी गरी तिहार र छठ जस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैँयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुने जनाएको छ ।

तर, बुटवल लगायतका मुख्य बजारमा भने प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला खुलेयामा बिक्री वितरणका लागि बजारमा राखिएको छ । बुटवलको मुख्य बजार अमरपथ, हाटबजार लगायतका मुख्य बजारमा तिहारका लागि बिक्री गर्न राखिएका प्लास्टिका माला राखिएको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक अधिकृत रामचन्द्र अधिकारीले जिल्ला प्रशासनले प्रतिबन्धित प्लास्टिकका माला तिहारमा बिक्री वितरण हुन सक्ने भएकाले सिमानाका भित्र छिर्न नदिन र नियन्त्रण गर्न निर्देशन दिइसकेको बताउँछन् । ‘प्रतिबन्धित प्लास्टिकका मालालाई भन्सारबाट नै नियन्त्रणमा लिनका लागि जिल्ला प्रशासनले सुरक्षा निकायसँग भएको नियमित बैठकमा त्यस्ता बस्तुहरुलाई नियन्त्रण गर्न निर्देशन र निर्णय पनि भएको छ । बजारमा बिक्री भएको पाइएमा जिल्ला प्रशासनले बजार अनुगमन नगरे कारवाही प्रक्रिया अघि बढाउँछ ।’–उनले भने ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले पहिला त्यस्ता प्रतिबन्धित साम्रगी बिक्री वितरण गर्नेलाई सचेत गराउने बताउँछिन् । सचेत गराउँदा पनि अटेर गरी बिक्री वितरण गरेको पाइए कानुन बमोजिम दण्ड जरिवाना र कारवाही हुने उपप्रमुख अर्यालले बताइन् । ‘तिहारका लागि प्रतिबन्धित प्लास्टिकका माला विक्री वितरण गर्नेलाई हामि पहिलो पटक विक्री वितरण नर्गनका लागि सचेत गराउँछौँ । सचेत गराउँदा पनि विक्री वितरण गरेको पाइए कानुन अनुसार कारवाहीको प्रक्रिया अघि बढाउँछौँ ।’–उनले भनिन् ।

बुटवल उपमहानगरपालिकाले भोलिबाट नै प्रतिबन्धित फुलका माला विक्री वितरण नगर्नका लागि बजारमा माइकिङ्ग गर्ने उपप्रमुख अर्यालले बताइन् । ‘चार्डपर्वमा हुने कालोबजारी रोक्न र प्रतिबन्धीत प्लास्टिकजन्य मालाको विक्री वितरण रोक्न लागि आज हामी बैठक बस्छौँ । बुटवल उपमहानगरपालिका कालोबजारी र प्रतिबन्धित फुलको मालाको बिक्रि वितरण रोक्न जस्तो कमद पनि चाल्न तयार छ ।’–उपप्रमुख अर्यालले भनिन् ।

‘पुष्प व्यवसाय धरासायी भयो’
राज्य आफैँले प्रतिबन्धन लगाएका प्लास्टिक मालाको विक्री वितरण रोक्न नसक्दा र भारतबाट हुने सयपत्री फुलको आयातमा कडाई नगर्दा नेपालको पुष्प व्यवसाय धरासयमा परको लुम्बिनी फ्लोरिक्ल्चर एशोसियसनकाका संस्थापक उपाध्यक्ष किरण श्रेष्ठ बताउँछन् ।

भारतबाट ल्याउने सयपत्री फुलको तुलनामा नेपालमा उत्पादन हुने सयपत्री फुलको मूल्य बढी हुने भएकाले नेपालको भन्दा भारतबाट ल्याएका सयपत्री फुल उपभोक्ताले खरिद गर्ने गरेको संस्थापक उपाध्यक्ष श्रेष्ठले बताए । ‘राज्य आफैँले प्रतिबन्ध लगाएका प्लास्टिकमा मालाहरु बजारमा विक्री वितरण भइ रहेका छन् । राज्यले खुलेयामा त्सता साम्रगी विक्री वितरण हुँदा पनि कारवाही गर्दैन् । ’– उनले अघि भने ‘भारतबाट खुलेयामा सयपत्री फुलको आयात हुँदा भइरहेको छ । यसले गर्दा नेपालको पुष्प व्यवसाय नै धरापमा परेको छ ।’

नेपालका पुष्प व्यवसायीहरुले फुलको उत्पादन गरे पनि राज्यले वजारीकरणका लागि सहयोग नगर्दा व्यवसायीहरु पलायन हुने अवस्था आएको बताए । फुलको भण्डारका लागि कोल्ट स्टोरको व्यवस्था हुन नसक्दा धेरै फुल नोक्सान हुने गरेको उनी बताउँछन् । साथै नेपालमा आवश्यक पर्ने फुल उत्पादन गर्न सकिने भए पनि राज्यले अनुदानको व्यवस्था नगर्दा र दिएको अनुदान पनि नक्कली किसान बनेर अनुदान लिनेहरु रहेको बताए ।

साथै राज्यले भारतबाट आयात हुने सयपत्री फुलको आयात रोकी यही उत्पादन बढाउन अनुदानको व्यवस्था गर्न, बजारीकरणको व्यवस्था र प्रयाप्त कोल्ट स्टोलको व्यवस्था मिलाइ पुष्प व्यवसायीलाई प्रोत्साहन गनु पर्ने बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।