ताजा अपडेट »

गठबन्धनमा घात-प्रतिघातकै चिन्ता : शिर्ष नेताको निर्देशन -शंका उपशंका र बहानाबाजी चल्दैन

शुक्रबार, ०४ कार्तिक २०७९, २० : २५
17 Shares

बुटवल । पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुमा आगामी मंसिर–४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा घात-प्रतिघात हुने चिन्ता देखिएको छ । शुक्रबार रुपन्देहीको तिलोत्तमा स्थित होटल पौवामा भएको पाँच दलीय गठबन्धनको लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्न उपस्थित भएका नेताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । दलका शिर्ष नेताहरुले गठबन्धन दलका सबै शिर्ष नेताहरुले कार्यकर्ताहरुलाई पटक-पटक दोहोर्याउँदै आपसमा घात नगर्न निर्देशन गरेका छन् ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा गठबन्धन दलभित्रको प्रतिघातकै कारण उपमेयर पद गुमाउन परेका दुई पालिकाहरु बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको बीचमा अवस्थित कार्यक्रम स्थलमा नेताहरुले गरेका भाषणमा फेरी सोही घटना दोहोरीले चिन्ता देखिन्थ्यो । गएको स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिका गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेपाली काँग्रेसका रामकृष्ण खाँणले मेयर पद जित्दा उपमेयरमा नेकपा माओवादी केन्द्रका हेमलाल पाण्डेले हार व्यहोर्नु परेको थियो । यसैगरी बुटवल उपमहानगरमा काँग्रेसकै खेलराज पाण्डेयले मेयर पदमा जित दर्ता गर्दा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ठूलो मतान्तरले हार्नु परेको थियो । यस पटकको निर्वाचनमा पनि सोही घटना दोहोरिने चिन्ताले होला अधिकांश समय नेताहरुले आफ्नो भाषणमा घात-प्रतिघात त्यागेर गठबन्धनका साझा उम्मेदवारलाई जिताउनु पर्ने निर्देशन कार्यकर्ताहरुलाई दिएका थिए ।

भेलामा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्क भएर गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । ‘हामी सबै एउटै डुङ्गामा छौं, दुर्घटना भए हामी सबै पर्छौ, सफल भए सबै हुन्छौं ।’–एकले अर्कालाई घात गर्न नहुने आसयसहित उनले अर्कोलाई हराउछु भनेर लाग्दा सबै असफल हुनेतर्फ सचेत गराए । मंसिर ४ को विर्नाचनमा दुई वटा बिचार र प्रवृत्ति बीचको ‘ब्याटल’ भएको बताउँदै उनले गठबन्धनलाई जिताउन आग्रह गरे । काँग्रेस जस्तो बुर्जुवासँग गठबन्धन गरेको भनि विपक्षीहरुले आरोप लगाउने गरेको बताउँदै उनले प्रतिगनकारीभन्दा काँग्रेस हजारौं गुणा लोकतान्त्रिक भएको समेत दाबी गरे । आफ्नो भाषणको अधिकांश समय गठबन्धनको औचित्य र आवश्यकता बारे चर्चा गरेका अध्यक्ष प्रचण्डले मंसिर ४ मा दुई वटा गठबन्धन आमने–सामने हुने बताउँदै त्यो लडाई प्रतिगामी र अग्रगामी बीचको भएको टिप्पणी गरे । प्रचण्डको भाषणमा गठबन्धन भित्र आपसमा घात हुनेप्रति चिन्ता देखिएको थियो ।

यसैगरी कार्यकर्ता भेलाको अन्तिममा बोलेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डलाई विश्वास दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह नै गरे । आपसमा भ्रम भयो भने त्यसले आफूहरुलाई नै बढी नोक्सान हुने बताउँदै देउवाले भने ‘प्रचण्ड जिलाई विश्वास दिलाउने गरी लाग्नुस, भ्रम भयो भने हामीलाई नै बढी नोक्सान हुनेछ ।’ अझै केही वर्ष गठबन्धन आवश्यक रहेको बताउँदे उनले आपसमा शंका–उपशंका नगर्न आग्र गरे । गठबन्धनलाई बचाउन आवश्यक रहेको कुरा पटक–पटक दोहोर्याउँदै उनले एक–आपसमा भ्रम नराख्न कार्यकर्ताहरुलाई समेत आग्रह गरे ।

कार्यक्रममा सहभागी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत घन्चमञ्च भएर अलि–अलि मनमुटाव भएपनि गठबन्धनलाई जिताउन लाग्नुपर्नेमा जोड दिए । स्थानीय तहमा नेपाली काँग्रेसले विभिन्न ठाउँमा गरेका प्रतिघातलाई स्मरण गरेर पनि हुन सक्छ देउवा र पौडेल दुबैले एक भएर जान कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने आफ्नो भाषणको अधिकांश समय एमाले अध्यक्ष केपी ओलीको आलोचनामा खर्चिए । ओलीलाई अधिनायकवादीको आरोप लगाउँदै उनले प्रतिबाध गर्नका लागि गठबन्धनको आवश्यकता औल्याए ।

कार्यक्रममा सहभागी राष्ट्रिय जनमोर्चाका कार्यबहाक अध्यक्ष रस्मीराज नेपाली तथा लोकतान्त्रिक समाजवादी नेता सन्तोष पाण्डेयले समेत गठबन्धनलाई बलियो बनाउनु पर्नेमा जोड दिए । गठबन्धनका लुम्बिनी प्रदेशका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको कार्यक्रममा स्थानीय तहमा देखिएका कम्जोरी र घात–प्रतिघात मंसिर ४ को निर्वाचनमा पनि देखिन सक्नेतर्फ नेताहरुको चिन्ता देखियो । गठबन्धनका सबै दलहरु एक पार्टी जस्तौ हो भन्ने सन्देश दिनका लागि संयुक्त रुपमा सहभागी भएको बताउँदै नेताहरुले ढोकाढाडीमा नलाग्न कार्यकर्ताहरुलाई पटक–पटक सम्झाएका थिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।