ताजा अपडेट »

पाल्पा-२ : पाण्डेले सम्धि रोज्दा गैरेलाई अवसर, कसले मार्ला बाजी ?

विहीबार, ०३ कार्तिक २०७९, ०६ : ५२
15 Shares

बुटवल । विद्यार्थी राजनीतिबाट उदाएका पाल्पाका एमाले युवा नेता ठाकुर गैरेलाई पार्टी विभाजनसँगै नयाँ अवसर प्राप्त भयो । एमालेभित्र रहँदा सदाबहादर उम्मेदवारका रुपमा रहेका पूर्व मन्त्री सोमप्रसाद पाण्डे माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेपछि गैरेले पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गर्न चुनावी मैदानमा छन् । एउटै पार्टीमा रहँदा समेत गैरेका लागि अबरोध जस्तै भएका पाण्डेयसँगै आगामी मंसिर ४ को निर्वाचनमा प्रतिस्पर्धा हुँदै छ ।

पूर्व मन्त्री तथा निवर्तमान सांसद पाण्डेय नातामा माधव नेपालका सम्धी हुन् । नेपालले नयाँ पार्टी खोलेपछि पाण्डे पनि उनकै दल रोजेर त्यता लागेका हुन् । छैटौ पटक चुनावी मैदानमा उत्रिएका पाण्डे र पहिलो पटक चुनावी मैदानमा उभिएका गैरे बीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । विगतमा पटक–पटकका संसदीय निर्वाचनहरुमा युवा नेता गैरेले टिकट पाउनु पर्ने भन्दै कार्यकर्ताहरुले आवाज उठाउँदै आए पनि सोही क्षेत्रबाट उम्मेदवार चयन गर्ने क्रममा माधव कुमार नेपालले आफ्ना सम्धि (पाण्डेय)लाई नै सिफारिस गर्ने गरेका थिए । पार्टी विभाजनपछि भने गैरेलाई बोटो खुल्यो । तर, चुनौतीका रुपमा फेरी उनै पाण्डेसँग प्रतिस्पर्धा गर्नुपर्ने भयो ।

समाजवादी नेता पाण्डे सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा राष्ट्रिय जनमोर्चा लगायत दलको समर्थन छ । लामो समयदेखि संसदीय राजनीतिमा अभ्यास गरिसकेका अनुभवी पाण्डेयसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उभिएका गैरेका लागि कम चुनौतीपूर्ण छैन । यसअघि सबै निर्वाचनमा पाण्डेयलाई गैरेले सघाउँदै आएका थिए ।

चुनाव जित्न उम्मेदवारहरुको यस्तो छ दाबी
गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको पाण्डेय दाबी गर्छन् । आफू मन्त्री हुँदा युरेनियम अन्वेषण र पाल्पालाई प्राविधिक शिक्षाको हवदेखि लुम्बिनी र पाल्पालाई पर्यटनसँग जोड्दन सफल भएको पाण्डेय दाबी गर्छन् । विगत ३० वर्षदेखि यही क्षेत्रबाट विभिन्न पटक चुनाव लड्दै आएका पाण्डेय अनुभवी र चुनावी रणनीति बनाउन पोख्त भएका कारण जित निश्चित भएको उनी निकट नेताहरु दाबी गर्छन् । पाल्पामा एमालेसँग प्रमुख प्रतिस्पर्धी मानिएको नेपाली काँग्रेससँगै नेकपा माओवादी केन्द्रको साथले समाजवादीका नेता पाण्डेयलाई जित सहज भएको उनीहरुको दाबी छ । यसैगरी जनमोर्चा समेत गठबन्धन दलमा भएका कारण त्यसको थोरै मत थपिँदा पनि आधार थप बलियो हुने अनुमान गरिएको छ ।

यसैगरी पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरेको दाबी छ । गैरे यो पटक जिल्लामा नयाँ अनुहारसँगै लोकप्रिय चुनावी एजेन्डा अगाडि सारेका उम्मेदवार भएकाले जित निश्चित भएको उनको दाबी छ । त्यसो तर विगत ३० वर्षलेखि यस क्षेत्रमा विभिन्न पटक सांसददेखि मन्त्रीसम्म हुँदै आएका पोण्डेयले जनताले महशुस गर्नेगरी कुने बिकासका योजना नल्याएका कारण पनि नयाँ अनुहारप्रति जनताको आकर्ष हुन सक्ने अनुमान गरिएको छ । २ नम्बर क्षेत्रमा पर्ने पश्चिम पाल्पा बिकासको हिसाबले पनि कमजोर र पूर्वाधार निर्माणमा नगन्य अवस्थाले पनि जनताहरुले नयाँ अनुसारलाई जिताउने एमाले नेताहरु बताउँछन् ।

यस्तो छ विगतका चुनावी परिणाम
२०७४ अघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो । त्यसबाहेक २०५१ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कूलप्रसाद नेपालले एमालेबाट निर्वाचन जितेका थिए । तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए । साविकको पाल्पा– ३ कांग्रेस र एमालेबीच झिनो मतान्तरमा जीतरहार हुने क्षेत्र हो । संघीयतापछि भने जिल्लाको साविक पाल्पा– २ को केही भागलाई १ र केही भागलाई साविक पाल्पा ३ मा मिसाएर नयाँ क्षेत्र बनाइएको छ । २०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए । २०५१, २०५६, २०६४, २०७० मा पाण्डे पाल्पा–२ बाट उम्मेदवार हुँदै आए । स्थानीय तह पुनःसंरचनापछि जिल्लामा २ निर्वाचन क्षेत्र कायम भयो । पाण्डेयले २०७४ मा पनि पाल्पा–२ कायम भएको यही क्षेत्रबाट टिकट ल्याएर चुनाव जिते ।

यसपटक पनि उनले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याएका हुन् । पाण्डेय २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए । पाण्डेयले पाल्पामा चारपटक जीत हाँसिल गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो । वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको छ । पाण्डेयलाई यसपटक चुनाव जित्न त्यति सहज छैन । संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।

नेपाली कांग्रेसले क्षेत्र नं २ बाट प्रदेशसभा २ ‘क’ मा मात्र उम्मेदवारी दिएको छ । २ ‘ख’ मा माओवादी केन्द्रका उम्मेदवार छन् । परीक्षण हुन बाँकी उम्मेदवार भएकाले पनि गैरेले उनलाई कडा टक्कर दिने अनुमान गरिएको छ । गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका नेता हुन् । २०७४ मा प्रतिनिधिसभा क्षेत्र–२ बाट उम्मेदवार बनेका पाण्डेय ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।