ताजा अपडेट »

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९: रुपन्देहीमा यी उम्मेद्वारबीच कडा प्रतिष्पर्धा

सोमबार, २४ असोज २०७९, १७ : २५
14 Shares

बुटवल । मंसिर ४ गते हुने निर्वाचनमारुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० क्षेत्रमा प्रदेशसभातर्फ ११२ जनाले उम्मेदवारी दर्ता छन् ।

प्रतिनिधिसभानिर्वाचनमा रुपन्देहीमा राजनीतिक दलहरुले पुरानै अनुहारलाई अघि सारेका छन् । रुपन्देहीबाटमुख्य राजनीतिक दलहरुबाट टिकट पाउने अधिकांश उम्मेद्वारहरु ‘सत्ताको स्वाद चाखि’ सकेका छन्। यहाँबाट स्वतन्त्र युवाहरुले पनि उम्मेद्वारी दिए पनि अहिले पनि यी मुख्य राजनीतिक दलका पुरानै नेताहरु बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपी केही स्वतन्त्र उम्मेद्वारहरुले उनीलाई चूनौति दिने सम्भावना रहेको छ । रुपन्देही २ मा डा. निकोलश भुसाल , ३ मा अधिवक्ता प्रख्यात बन्जाडे र ५ मा भिष्म राना लगायतले स्वतन्त्र उम्मेद्वारी दिएर दलमा उम्मेद्वारहरुलाई चूनौति दिएका छन् । रुपन्देहीमा ६ लाख ३८ हजार ९५२ मतदाता रहेका छन् । जसमध्ये ३ लाख २७हजार ४३३ पुरुष, ३ लाख ११ हजार ५११ महिला र ८ जना अन्य मतदाता छन् ।

रुपन्देही–१ छविलाल भर्सेस घनश्याम
यो क्षेत्रमा धनश्याम भुसाल र छविलाल विश्वकर्मा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलिका कटु आलोचक धनश्याम भुसाल नेकपा एमालेले टिकट नदिए पछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेद्वारी दिएका छन् । पूर्व मन्त्री समेत रहेका भुसाल स्वतन्त्र उठे पनि उनलाई सत्ता गठबन्धनको साथ रहेको छ ।

यता नेकपा एमालेका सचिब समेत रहेका छविलाल विश्वकर्मालाई राप्रपा र जसपाको साथ रहेको छ । २०७४ सालमा यँहाबाट पूर्वमन्त्री विश्वकर्मा निर्वाचित भएका थिए । स्थानीय तहको मत परिमाण अनुसार यो क्षेत्रमा एमाले जसपाको गठबन्धनको मत धेरै अघि रहेकाले सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेद्वारी दिएका भुसाल केही दबाबमा रहेका छन् ।

स्थानीय तहको निर्वाचन अनुसार रुपन्देही १ मा कांग्रेसका वडाध्यक्षले पाएको मत ३२ हजार ९९९, एमालेको ३० हजार ३९४, राप्रपाको १४ हजार ५५२, जसपाको ६ हजार ६९५, माओवादीको ४ हजार २०२, नेकपा एसको १ हजार २४३ र लोसपा ३२५ मत पाएका थिए । क्षेत्रनम्बर–१ मा देवदहन गरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ पर्छ ।

रुपन्देही –२ : हेवीवेटका विष्णु पौडेलविरुद्ध गठबन्धनका राजु गुरुङ

पूर्व उपप्रधान तथा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग यस पटक आफ्नै पूर्वसहकर्मी राजु गुरुङ प्रतिष्पर्धा गर्दैछन् । यस भन्दा अघिको निर्वाचनमा पौडेललाई जिताउन भूमिका खेलेका गुरुङ अहिले उनै पौडेलका प्रतिष्पर्धी रहेका छन् । गुरुङ सत्ता गठबन्धनका साझा उम्मेद्वार हुन् । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले पाएको मत धेरै भएकाले यहाँबाट लगातार ३ पटक सहज रुपमा निर्वाचन जितेका पौडेल माथि यस पटक केही दबाब परेको छ ।

हालै सम्पन्न स्थानीय तहको वडाध्यक्षले पाएको मत परिमाण अनुसार कांग्रेसले ३४ हजार ९५९, एमालले ३३हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादी ३ हजार १८८, नेकपाएस १ हजार ३८२ र जसपाले १८३ मत पाएका थिए । यस क्षेत्रमा बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ देखि १३ सम्म, सैनामैना नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र तिलोत्तमा नगरपालिकाको १, २, ३, ४, ५ र ६ पर्छ ।

रुपन्देही ३ः गृहमन्त्री खाँणविरुद्ध एमाले समर्थनमा राप्रपाका बोहोरा
गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका दिपक बोहोरा आमने सामने हुने भएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका बालकृष्ण खाँण सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका छन् । यता पूर्वमन्त्री समेत रहेका राप्रपाका बोहारालाई नेकपा एमालेले सहयोग गर्ने छ । २०७४ सालको निर्वाचनमा बोहोरालाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । तर, उनी पराजित भए भने खाँण समानुपातिकमा बसेका थिए ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत अनुसार कांग्रेसले ३४ हजार १५३, एमाले २९हजार ४८, राप्रपाले १३ हजार ३९७, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एस ९७७ मत पाएका थिए । यस निर्वाचन क्षेत्रमा सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका र बुटवल उपमहानगरपालिकाको वडा नम्बर १४, १५, १६, १७, १८ १९, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाको वडा नम्बर १, २, ३, ६, ७ र तिलोत्तमा नगरपालिकाको वडा नम्बर १३ र १४ पर्छन् ।

रुपन्देही–४ : गठबन्धनका यादव विरुद्ध एमाले समर्थनमा जसपाका यादव

यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट व्यापारिक पृष्ठभूमिका प्रमोदकुमार यादवले उम्मेद्वारी दर्ता गरेका छन् । यादव २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । प्रमोद यादवलाई यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादवले चूनौति दिने छन् । ओमप्रकाश यादवलाई नेकपा एमालेको समेत समर्थन रहेको छ ।

स्थानीय तहमा वडाध्यक्षमा लोसपा १६ हजार २२६, कांग्रेस १५ हजार ६२७, जनमत पार्टी ७ हजार ७३४, एमाले ७ हजार ६०५, जसपा ७ हजार ४९७, राप्रपा ५ हजार ६९९, माओवादी ३ हजार ८०२ र नेकपा एस १हजार १९८ मतपा एका थिए । यसमा मर्चवार क्षेत्रको ३ वटा कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकालाई समावेश गरिएको छ । साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर २, १२ १३, मायादेवी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, सियारी गाउँपालिकाको वडा नम्बर ४ र ५ पर्छन् ।

रुपन्देही–५ : कांग्रेसका अनुभवी शाहविरुद्ध एमालेका घिमिरे

यस निर्वाचन क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसका भरत कुमार शाह र एमालेका बासुदेव घिमिरेबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । एमालेका खिमलाल भट्टराईको निर्वाचन क्षेत्र मानिँदै आएको यस क्षेत्रमा अन्ततः एमालेबाट घिमिरेले प्रतिष्पर्धा गर्दैछन् । शाह संसदीय प्रणाली र निर्वाचनका अनुभवी उम्मेद्वार हुन् । उनलाई प्रतिष्पर्धा र जित दुबैको अनुभव रहेको छ ।

तिलोत्तमा नगरपालिका संस्थापक मेयर रहेको घिमिरेका लागि संसदीय निर्वाचनमा पहिलो पटक प्रतिष्पर्धा गर्दै छन् । यता सत्ता गठबन्धनबाट भरतकुमार शाह चुनावी प्रतिस्पार्धामा रहेका छन् । २०७४ सालको निर्वाचन शाह यही क्षेत्रबाट निर्वाचित भएका थिए । स्थानीय तहमा वडाध्यक्षको मत अनुसार एमाले २७ हजार हजार १४५, कांग्रेस २६हजार ८८८, जसपा ९ हजार ३३७, जनमत पार्टी ५हजार ६५६, माओवादी ४ हजार ६२५, लोसपा ३ हजार ५५६, राप्रपा २हजार ८१३ र नेकपा एस १ हजार १६३ मत ल्याएका थिए ।

यस क्षेत्रमा कञ्चन गाउँपालिका र गैडहवा गाउँपालिका, सैनामैना नगरपालिकाको ५, ६, ७, ८, ९, १०, ११, लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नम्बर १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, मायादेवी गाउँपालिकाको वडा नम्बर एक पर्छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।