ताजा अपडेट »

दशैंमा 'मालाश्री' धुन बजाउने गन्दर्भहरुको पेसा संकटमा

विहीबार, २० असोज २०७९, १३ : ०६
38 Shares

दाङ । जब गाईने सारंगीले मालाश्री धुन बजाउदै घर-घर जानु हुन्थ्यो, अनि मात्रै दशैं सुरु भएको अनुभूति हुन्थ्यो । दशैंमा गाइनेहरुलाई घर-घरमा गएर मालाश्री धुन बजाउन भ्याई नभ्याई हुन्थ्यो । तर, अहिले मालाश्री धुन सुन्नेहरु घटेका छन् । त्यसैले पनि गाइनेहरुले बजाएका मालाश्री धुन सुन्न पाईदैन ।

नयाँ पुस्ताले मालाश्री धुनको महत्व नबुझेकाले पनि उनीहरुले दशैंमा बजाईने यो धुन सुन्ने गरेका छैनन् । तर, पूरानो पुस्ताले भने मालाश्री धुन सुन्न मनपराउने गरेको सुसिल गन्दर्भले बताए ।“पुरानो पुस्ताले मालाश्री धुन नसुन्दा दशैं आएको अनुभूति गर्दैनन्, त्यसैले धेरै ठाउँ बोलाउने पनि गर्छन”,उनले भने “तर, नयाँ पुस्ताले अझै यसको महत्व बुझ्न सकेका छैनन्, त्यसैले पनि अहिले यो धुन लोप हुने अबस्थामा छ ।”

त्यसैले पनि अहिले गन्दर्भहरु घर-घरमा गएर मालाश्री धुन बजाउन छोडेका छन् । अर्को तर्फ नयाँ पुस्ताले पनि सारंगी बजाउने पेशा नअंगाल्दा पनि यो पेशा लोप हुने अबस्थामा पुगेको अर्का गाइने चक्र गन्दर्भले बताए ।“नयाँ पुस्ताले यो पेशा गर्न छोडे, यो पेशामा सम्मान नभएकाले पनि नयाँ पुस्ताहरु यो पेशा अंगाल्न चहादैनन्”,उनले भने “त्यसैले पनि सारंगी बजाउनेहरु पनि घट्दै गएका हुन् ।”

दशैंको समयमा मालाश्री बजाउँदा अलिअलि आम्दानी गर्ने गरिएको भएपनि अन्य समयमा झनै शंकट अबस्था रहेको उनको भनाई छ । राज्यले गन्दर्भ समुदायको उचित सम्मान दिन नसक्दा पनि अपहेलना पर्ने गरेको उनको भनाई छ । राज्यले गन्दर्भ समुदायको पेशा संरक्षण र ब्यबस्थापन गर्नुपर्ने उनले बताए । विद्यालय स्तरमा पनि यस्ता कक्षा सञ्चालन गर्न आबश्यक रहेको उनले बताए ।

राज्यले पनि नहेर्ने र पेशा पनि शंकट पर्दै जान थालेपछि अहिले गन्दर्भ समुदायलाई दैनिक चलाउन पनि समस्या हुने गरेको छ । विगतजस्तो सारंगी बजाएर आम्दानी गर्न सक्ने अबस्था नरहेको रामबहादुर गन्दर्भले बताए । “विगतमा सारंगी बजाएर पनि आम्दानी गर्ने अबस्था थियो”, उनले भने “तर, अहिले त्यस्तो अबस्था छैन्, हामीलाई दैनिकी चलाउन नै समस्या हुने गरेको छ ।”

दाङमा मात्रै करिब ५० भन्दा बढि सारंगी बजाउने गन्दर्भहरु छन् । रक्षाचौरमा मात्रै ५/७ जना गन्दर्भ रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी