ताजा अपडेट »

रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता, कुन निर्वाचन क्षेत्रमा कति ?

आइतबार, ०९ असोज २०७९, १७ : ५८
18 Shares

बुटवल । रुपन्देहीमा अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भन्दा १ लाख १६ हजार ३५० मतदात बढेका छन् । २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा रुपन्देहीमा ५ लाख २२ हजार ६०२ मतदाता रहेका थिए । अहिले रुपन्देहीमा मतदाता संख्या बढेर ६ लाख ३८ हजार ९५२ पुगेको छ । जसमध्ये ३ लाख २७ हजार ४३३ पुरुष, ३ लाख ११ हजार ५११ महिला र ८ जना अन्य मतदाता रहेका छन् ।

बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन यता मात्रै जिल्लामा ६ हजार ५९२ मतदाता बढेका छन् । स्थानीय तहको निर्वाचनमा रुपन्देहीमा कुल मतदाताको संख्या ६ लाख ३२ हजार ३६० रहेका थिए । रुपन्देहीमा प्रतिनिधिसभामा ५ वटा क्षेत्र र प्रदेशसभामा १० वटा क्षेत्र रहेका छन् । जिल्लाका ५ निर्वाचन क्षेत्र मध्ये सबै भन्दा धेरै मतदाता रुपन्देही १ मा रहेका छन् भने सबै भन्दा कम रुपन्देही ४ मा रहेका छन् ।

रुपन्देही क्षेत्र नम्बर १ मा गत निर्वाचनमा भन्दा अहिले २७ हजार ४३० मतदाता बढेका छन् । २०७४ सालको निर्वाचनमा १ लाख १२ हजार १३० मतदाता रहेकोमा अहिले बढेर मतदाताको संख्या १ लाख ३९ हजार ५६० पुगेको छ । प्रदेशसभा तर्फ रुपन्देही १(क)मा ७२ हजार २११ र (ख) मा ६७ हजार ३४९ मतदाता रहेका छन् ।

रुपन्देही २ मा २१ हजार ६०१ मतदाता बढेका छन् । यो निर्वाचनमा क्षेत्रमा गत निर्वाचनमा १ लाख ५ हजार २०६ मतदाता रहेकोमा अहिले बढेर १ लाख २६ हजार ८०७ पुगेका छन् । प्रदेशसभातर्फ (क) मा ६३ हजार३०४ र (ख) मा ६३ हजार ३०४ मतदाता रहेको छन् ।

रुपन्देही ३ मा गत निर्वाचनमा भन्दा अहिले २३ हजार ५१३ मतदाता बढेका छन् । यो निर्वाचन क्षेत्रमा गत निर्वाचनमा १ लाख ९ हजार २७८ मतदाता रहेका थिए । अहिले मतदाता बढेर १ लाख ३२ हजार ७९१ पुगेको छ । प्रदेसभातर्फ (क)मा ६५ हजार ५१३ र (ख) मा ६७ हजार २७८ मतदाता छन् ।

रुपन्देही ४ मा २० हजार ८२४ मतदाता थप भएका छन् ।२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा यहाँ ८९ हजार ८३५ मतदाता थिए भने अहिले बढेर १ लाख १० हजार ६५९ पुगेको छ । प्रदेशसभातर्फ (क)मा ५३ हजार ३८९ र (ख) मा ५७ हजार २७० मतदाता छन् ।

रुपन्देही ५ मा २२ हजार ९८२ मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा १ लाख ६ हजार १५३ मतदाता रहेकोमा अहिले बढेर १ लाख २९ हजार १३५ पुगेको छ । प्रदेशसभातर्फ (क)मा ७४ हजार ६५९ र (ख)मा ५४ हजार ४७६ मतदाता छन् ।

७०२ मतदान केन्द्र

रुपन्देहीमा १०४ मतदान केन्द्र थपिएका छन् । गत प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीमा ५९८ मतदान केन्द्र र २०८ मतदान स्थल रहेका थिए । अहिले मतदान केन्द्रको संख्या बढेर ७०२ पुगेको छ ।

मतदान स्थल भने अहिले पनि २०८ नै रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा ७०० मतदान केन्द्र रहेका थिए । अहिले अस्थायी मतदाता नामावली संकलनको काम भइरहेकाले केही मतदान केन्द्र थप हुन सक्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले ग्लोबल आवाजलाई जानकारी दिए ।

‘अहिले हामी अस्थायी मतदाताको नामावली संकलन गरिरहेका छौँ । अस्थायी मतदाताको संख्या के कति छ त्यो सबै संकलनको काम सके पछि केही मतदान केन्द्र थप पनि हुन सक्छन् ।’–उनले भने ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।