ताजा अपडेट »

संविधान दिवसको अवसरमा अध्यक्ष ओलीसहित एमालेको वृहत वाकथन (फोटो फिचर)

शनिबार, ०१ असोज २०७९, ०९ : ४०
7 Shares

काठमाण्डौं । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन नेकपा एमालेले काठमाडौंमा बृहत वाकथन (पदयात्रा) गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले पदयात्राको नेतृत्व गर्दै उनको साथमा पत्नी राधिका शाक्यको समेत उपस्थिती रहेको थियो ।

पदयात्राको सुरुवात गर्दै अध्यक्ष ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताए । ‘यो सरकारी नभएर जनस्तरको दिवस हो । संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’ उनले भने, कैयौं संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा विद्वेष र तनावको विषय बनाउने कुचेष्टा समेत भएका थिए ।

‘नेपाललाई द्वन्द्वमा फसाउने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । ती सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’, ओलीले भने । अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको उनको टिप्पणी छ । लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा ओलीले जोड दिए ।

ओलीले लोकतन्त्र, राष्ट्रियताको पक्षमा लाग्न आव्हान पनि गरेका छन् । ‘देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु ।’ अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताए ।

उनले भने ‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । लोकतन्त्र नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’ पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै उनले धन्यवादसमेत दिए । आफ्नो मतव्यको अन्तिममा ओलीले राष्ट्रिय झण्डा सबैलाई फहराउन आग्रह गरेका थिए ।

निर्वाचन आयोगले असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा) आयोजना गरेको एमालेले जनाएको छ । एमालेले यो पदयात्रामार्फत पार्टी चुनावको दौडमा होमिएको सन्देश पनि दिन खोजेको नेताहरूले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।