ताजा अपडेट »

बुटवल बदल्ने महत्वकांक्षी योजना ‘तिनाउ-दानव करिडोर’

शनिबार, ०१ असोज २०७९, ०१ : ४०
10 Shares

बुटवल । सताप्दी अघिदेखि नै पश्चिम नेपालको नून र घ्यू साट्ने मुख्य बजार बटौली । पहाडी जिल्लाबाट नून, तेल, कपडा लगायतका सामान किनमेल गर्न मानिसहरु आउने थलो बटौली । पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल अहिले मात्रै होइन, सयौं वर्षअघि पनि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका पहाडको फेदी मधेसको सिरान नै बटौली थियो ।

व्यापारिक थलोका रुपमा ईतिहास बोकेको बुटवलले पछिल्लो दशकमा भौतिक तथा पूर्वाधार बिकासमा उल्लेख्य प्रगति गरेको छ । बुटवलमा निर्माण भैरहेका ठूरा तथा राष्ट्रिय गौरतवका आयोजनाहरुले थप उचाइमा पुर्याउँदै छ । बुटवलको बीचभागबाट बग्ने तिनाउले यहाँको सभ्यता बिकासमा ठूलो योगदान गरेको छ । चुरेको फेद भएर बग्ने तिनाउ नदीले यो शहरलाई सितलता मात्रै प्रदान गरेको छैन, हजारौं विगाह जमिनलाई सिञ्चित गरेर उर्वर बनाइरहेको छ । यही नदीलाई संरक्षण गर्दै हरेक वर्ष यसको पूर्व र पश्चिमतर्फको बगरसँग जोडिएका बस्तीमा हुने क्षति न्युनिकरण गर्नुका साथै पर्यटकीय थलोको रुपमा बिकास गर्ने महत्वकांक्षी योजनाका साथ अघि बढेको छ ‘तिनाउ–दानव करिडोर’ निर्माण ।

करिडोर सम्पन्न हुँदा तिनाउ नदी व्यवस्थापनका लागि दाँयाबाँया बहाव क्षेत्र निर्धारण गरी नदीको जगदेखि नै पर्खाल लगाइने छ । पर्खाल क्षेत्रबाहेकको ३ मिटर क्षेत्रफलमा हरियाली बगैचा निर्माण र त्यसको छेउमा बस्तीतर्फ फुटपाथसहितको ७–७ मिटरको दुई लेन कालोपत्रे सडक तयार हुने छ । तिनाउ दानव करिडोरको निर्माणसँगै बुटवलले भौतिक पूर्वाधारको बिकास तथा आर्थिक प्रगतिमा समेत महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । रुपन्देहीको महत्वाकांक्षी परियोजना तिनाउ–दानव करिडोरको पहिलो चरणका काममा हालसम्म ३० प्रतिशत बढी प्रगति भएको छ । तिनाउ नदी र दानव नदी किनारमा हरियालीसहित सडक निर्माण गरी सुन्दर बुटवलको परिकल्पनासहित अगाडी बढाइएको योजना अन्तरगत पहिलो चरणमा तिनाउ नदीतर्फ साढे ८ किलोमिटर तथा दानव नदी तर्फ ४ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ ।

करिडोर निर्माण अन्तरगत नदी उकास क्षेत्रमा ग्याबिन भर्ने, मेशनरीवाल उठाउने, नाली निर्माण, कल्भर्ट निर्माण लगायतका काम भएका छन् । ०७७ असोजमा ठेक्का स्वीकृत भएको करिडोरको तिनाउतर्फ पुरानो बसपार्क पछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगर घाटसम्म र दानवपट्टि बेलबासको झोलुंगे पुलदेखि नयाँ गाउँको पुलसम्म पहिलो चरणको सम्झौता भई काम अघि बढेको छ । सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर सागर पन्थीका अनुसार तिनाउ करिडोरतर्फ पहिलो चरणको काममा ३५ प्रतिशत प्रगति भएको छ । बुटवलको देविनगर पुलदेखि मगरघाट पुलसम्म नदीका दुबैतर्फ गरी ३२ हजार घनमिटर जाली लगाउने काम भएको छ । यसैगरी १ किलोमिटर नाली निर्माण भएको छ ।

किरातेश्वर, मैनाचुली, अविशा जेभिसँग २०७७ असोजमा ३६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता भए पनि पहिलो वर्ष कोरोना महामारी तथा साइड क्लियर लगायतका कारणले अघि बढ्न सकेको थिएन । दोस्रो वर्ष भने योजनाको काम सन्तोषजनक रहेको पन्थीले बताए । यसैगरी करिडोर क्षेत्रमा भएका बस्ती व्यवस्थापनको समस्या समाधान भएमा यो वर्ष पनि थप ३० प्रतिशत बढी प्रगति हुने अनुमान छ ।

यसैगरी दानव नदी तर्फको करिडोर निर्माणका लागि लामा, बानिया जेभिसँग ठेक्का सम्झौता भई काम भइरहेको छ । करिडोरको करिब ४ किलोमिटर सडक २७ महिनामा सक्नेगरी २०७७ असोजमा ठेक्का सम्झौता भएको हो । यो योजनामा पनि ३० प्रशित बढी प्रगति भएको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनियर आशोक पौडेल बताउँछन् । करिडोर निर्माणका लागि हालसम्म २ किलोमिटर भढी ग्याबिन भर्ने तथा मेशिनरी वाल उठाइएको छ । आधा दर्जन कल्भर्ट निर्माण तथा एक किलोमिटर सडक ग्राभेलको काम समेत भएको उनले बताए । बस्ति व्यवस्थापन लगायतका सबै समस्या हटेको खण्डमा यसै वर्ष काम सम्पन्न हुने उनको दाबी छ ।

दानव नदीमा करिडोर निर्माण अन्तरगत उठाइएको वाल

तिनाउ नदीतर्फ करिडोर निर्माणको जिम्मा पाएको किरातेश्वार मैनाचुली अविशा जेभिका साइड ईन्जिनियर ललित मण्डलले बस्ती व्यवस्थापन हुन नसक्दा पूर्ण क्षमता र गतीमा काम गर्न नपाइएको गुनासो गरे । ‘यदी साइड क्लियर भएको हुन्थ्यो भने, हालसम्म हामीले धेरै प्रगती गर्ने थियौं । हाम्रो अपेक्षाभन्दा निकै कम प्रगति भएको छ ।’–मण्डलले भन्छन्, यदी बस्ती व्यवस्थापन हुने हो भने यो वर्षभित्र बाँकी रहेका काम लगभग पूरा गर्न सक्ने थियौं ।

यसैगरी दानव नदीतर्फ निर्माणको जिम्मा पाएको लामा बानियाको गुनासो पनि उस्तै छ । उक्त कम्पनीको साइमा आफ्नो जग्गा मिचिएको भन्दै बुटवल टेक्निकल कलेजले मुद्दा हालेपछि आयोजनाको काम अघि बढाउनका लागि अदालतको फैसला पर्खेर बस्नुपर्ने बाध्यता रहेको छ । सोही करिडोरको बुटवल–१३ अन्तरगतका केही स्थानीयले समेत मुद्दा दायर गर्दा काममा अबरोध सिर्जना भएको छ ।

पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख रुपैयाँ र दानव करिडोरमा १९ करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ । करिडोर निर्माणका लागि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो । त्यसले ५० किलोमिटर करिडोर निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने देखाएको छ । करिडोरको बुटवल मगरघाटदेखि दक्षिणतर्फ तिलोत्तमामा पर्ने तिनाउ करिडोरका लागि समेत ठेक्का सम्झौता भई काम अघि बढेको छ । उक्त क्षेत्रको करिडोर निर्माण गर्ने जिम्म दानव करिडोरको ठेक्का पाएको निर्माण कम्पनीले नै प्राप्त गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको तिनाउ–दानव करिडोर पनि स्थानीयको नाममा सुरू गरिएको आन्दोलनले प्रभावित बन्न पुगेको छ । बुटवलतर्फ तिनाउ करिडोरले सबैभन्दा धेरै क्षेत्र ओगटेको वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री तिनाउ–दानव करिडोर पीडित संघर्ष समितिका नाममा दलहरुकै सहयोगमा आन्दोलनलाई बढवा दिइरहेको बताउँछन् । जिल्लाकै महत्वपूर्ण मानिएको तिनाउ–दानव करिडोर निर्माणको काममा दलहरुले राजनीतिक प्रतिशोध साध्ने थलो बनाउँदा योजना प्रभावित भएको उनको गुनासो छ । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले करिडोर क्षेत्रभित्र पर्ने घर–जग्गाको व्यवस्थापन गरेर मात्रै निर्माणको काम गरिने भन्दै यहाँका जनतालाई आश्वस्त हुन आग्रह गर्दै आएका छन् ।

बिकासमा राजनीतिक प्रतिशोध नमिसाऔं

तिनाउ–करिडोरको शिलान्यास गर्दै तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेल

बुटवलको भौतिक विकासमा महत्वपूर्ण र दूरदर्शी प्रभाव पार्ने करिडोरको शिलान्यास गरेका पूर्व अर्थमन्त्री बिष्णु पौडेलले यो योजना सफल भएमा यहाँको पर्यटकीय बिकास तथा आर्थिक केन्द्रको रुपमा स्थापित हुन सक्के दाबी गरेका छन् ।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहेका उनले बिकास निर्माणमा राजनीति गर्नुहुँदै भन्ने मान्यता राख्दै आएका आएका छन् । आफ्नो क्षेत्रमा थालिएका अधिकांश विकास आयोजना राजनीतिक दल बीचको अस्वस्थ प्रतिष्पर्धाको शिकार बन्नु परेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बिकासमा स्वस्थ र सकारात्मक प्रतिस्पर्धा आवश्यक रहेका औल्याउँछन् । कुनैपनि बिकास निर्माणको काममा राजानीतिक प्रतिशोध साध्ने काम गलत भएको उनी बताउँछन् । स्थानीय तहले अगाडि बढाउने सानातिना योजनासँगै प्रदेश र संघीय सरकारले अगाडि बढाएका गौरवका आयोजनाले पनि स्थानीयको अवरोध र विभिन्न मुद्दा–मामिला व्यहोर्दै आएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत समावेश गरिएको तिनाउ–दानव करिडोरको निर्माण सम्पन्न भएपछि बुटवलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र मर्चवारसम्म जोड्ने बाइपास सडकको रूपमा प्रयोग गर्न सकिने छ । तत्कालीन अर्थमन्त्री पौडेलले २०७७ मंसिर १० शिलान्यास गरेको यो करिडोरले नदी कटानलाई समेत समाधान गर्नेछ । तिनाउ र दानव नदीको वारिपारि दुबैतर्फको किनारमा ग्रिनरी सहितको डबल लेनको सडक निर्माणपछि यस क्षेत्रको बस्तीले थप सुन्दर र व्यवस्थित देखिने छ । पूर्व अर्थमन्त्री पौडेलले कोरिडोर अन्तरगत घर–जग्गा पर्ने जनताहरुलाई उचित व्यवस्थापनि गरेर मात्रै करिडोर निर्माणको काम हुने भएका ढुक्क हुन आग्रह गरेका छन् ।

तिनाउ दानव करिडोरमा घर–जग्गा परेका आन्दोलित स्थानीय
डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।