ताजा अपडेट »

३ दिने ‘अल्टिमेटम’ नटेर्नेलाई कारबाही गर्न अनकनाउँदै बुटवल उपमहानगर

सोमबार, २७ भदौ २०७९, १७ : ४४
14 Shares

बुटवल । निर्माण तथा पसलका सामग्री, वर्कसप तथा ठेला व्यापारीले भरिएको अस्तव्यस्थ फुटपाथ, सडकमै अव्यवस्थित पार्किङ र ठेलम–ठेल बजार, बुटवलको पुरानै व्यथा हो । बुटवल उपमहानगरले शुक्रबार भाद्र २४ गते ३ दिनको म्याद तोकेर सडक तथा पुटपाथ अधिकार क्षेत्रभित्रका सामग्रीहरु, ठेला व्यवसाय, वर्कसप तथा पार्किङ लगायत खाली गर्न सुचना जारी गरेपनि अवस्था भने उस्तै छ ।

उपमहानगरले उक्त सुचना जारी गरेसँगै काठमाण्डौं महानगरका बालेन शाहले अवैध संरचनामा डोजर चलाएर हटाउन थालेको अभियानसँग जोडेर प्रशंसा भयो । बुटवलमा शहरलाई व्यवस्थित बनाउनका लागि अवैध संरचना तथा बजारलाई व्यवस्थित गर्नका लागि उमहानगरले ‘एक्सन’मा जान लागेको भन्दै चर्चा गरेका छन् भने अर्को पक्षले बुटलको मुख्य सडक नै अस्तव्यस्त र बजार धुलाम्य भएको समस्यालाई छाडेर व्यापारीलाई दुःख दिन थालेको गुनासो गरेका छन् ।

बजार व्यवस्थित गर्नका लागि विगतमा समेत फुटपाथ तथा पार्किङ व्यवस्थापनका प्रयास भएका थिए । व्यवसायी तथा बुटवल उपमहानगरकै पहलमा भएका कतिपय प्रयासहरु दिर्घकालिन नहुँदा समस्या हुने गरेको स्वयम् व्यवसायीहरुले नै स्वीकार्ने गरेका छन् । पछिल्लो पटक बुटवल उपमहानगरले बजार ब्यवस्थित गर्न ३ दिने सूचना सार्वजनिक गरे पनि त्यसको कार्यान्वयन भने भएको देखिँदैन । सूचनाको समयावधि सकिएको अवस्थामा उपमहानगरले अब कसरी कघि बढ्छ बुटवलका जनता ‘रिजल्ट’को पर्खाईमा छन् ।

उपमहानगर भने अटेर गर्नेहरुलाई तत्काल कारबाही गर्न अनकनाइरहेको देखिन्छ । सडक क्षेत्राधिकार तथा फुटपाथ खाली गर्न गरिएको निर्देशन कार्यान्वयन नहुँदा पनि सान्त बस्नुे उपमहानगर अझै पनि पर्ख र हेरको स्थितीमा रहेको देखिन्छ । अब कसरी अघि बढ्ने भन्ने प्रश्नमा नगर प्रमुख खेलराज पाण्डेले सबै वडाहरुलाई परिपत्र गरी सोही अनुसार निर्णय हुने बताएका छन् । ग्लोबल आवाजसँग कुरा गर्दै नगर प्रमुख पाण्डेले सबै वडाहरुलाई परिपत्र गरिने र ती वडाहरुले आवश्यकताका आधारमा सडक तथा फुटपाथ खाली गराउने उनले बताए । म्याद तोकेर सूचना सार्वजनिक गर्दा पनि अँटेर गर्नेहरुलाई तत्कालै कारबाही गर्ने पक्षमा उपमहानगर नरहेको उनको प्रतिक्रियाबाट बुझ्न सकिन्छ ।

बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका अधिकांश फुटपाथ ठेला तथा हाटबजार व्यवसायीको कब्जामा छ । पुटपाथ नै व्यापारीको कब्जामा भएपछि पैदलयात्रीले ठेलमठेल हिड्नु पर्यो या त मुख्य सडकबाटै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । सडक र फुटपाथमै व्यवसाय गरिँदा पैदलयात्रुलाई सडक पार गर्न र हिँड्न निकै सकस हुने गरेको भन्दै आवाज उठ्ने गरेका छन् ।

व्यवसायीहरुलाई पटक-पटक पुटपाथ छाडेर सेडभित्र आउन आग्रह भैरहेको हाटबजनार व्यवसायी संघका अध्यक्ष टेकबकादुर जिसी बताउँछन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुलेका अनुसार विगतमा पनि फुटपाथ खाली गराउने काम भएका थिए । व्यवसायीहरुको हेलचक्र्याई तथा नियामक निकाय बुटवल उपमहानगरले समेत बास्ता नगर्दा समस्या फेरी उठ्ने गरेको उल्लेख गरे । बुटवल उपमहानगरपालिकाले हाटबजार व्यवसायीहरूबाट वार्षिक एक करोड बढी रुपैयाँ कर उठाउँछ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।