ताजा अपडेट »

अस्तव्यस्त बुटवलको फुटपाथ, स्थायी व्यवसायी र यात्रुलाई सास्ती

विहीबार, २३ भदौ २०७९, १८ : ११
51 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रका अधिकांश फुटपाथ ठेला तथा हाटबजार व्यवसायीको कब्जामा छ । पुटपाथ नै व्यापारीको कब्जामा भएपछि पैदलयात्रीले ठेलम-ठेल हिड्नु पर्यो या त मुख्य सडकबाटै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । सडक र फुटपाथमै व्यवसाय गरिँदा पैदलयात्रुलाई सडक पार गर्न र हिँड्न निकै सकस हुने गरेको छ भने लाखौं–करोडौं लगानी गरेका ठूला व्यवसायीलाई समेत टाउ दुखाईको विषय बन्ने गरेको छ ।

नियमनकारी निकाय बुटवल उपमहानगरले भने समस्याको समाधानका लागि ठोस कदम चालेको छैन । नियमनकारी निकायले नै कारबाही गर्नुको साटो वर्षेनी हाटबजार व्यवसायबाट ठेकेदार लगाएर बैठकी कर असुल्दै आएको व्यापारी बताउँछन् । बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले फुटपाथको समस्या बारे जिज्ञासा राख्दा समस्या समाधानका लागि हाटबजार व्यवसायीहरुसँग छलफल हुने बताउँदै उनले अन्य प्रक्रिया अघि बढेपछि मात्रै जानकारी गराउने बताए ।

आफ्नो सय दिने कार्यकालको ४० बुँदे सफलता समावेश गरिएको पुस्तकमा उपमहानगरले ठेला व्यवसाय र इ-रिक्सा व्यवस्थित गर्न अध्ययन समिति गठन गरेको उल्लेख गरे पनि ठोस प्रगति भने देखिएको छैन । ठेला व्यवसाय व्यवस्थापन समितिको संयोजक स्वयम् नगर प्रमुख पाण्डे नै रहेका छन् । आफ्नो ४० बुँदे सफलतामा बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्म रहेका सडक छेउका व्यवसायीलाई ५० प्रतिशत कर छुट दिने व्यवस्था उल्लेख गरेको बुटवल उपमहानगरले फुटपाथ कव्जा र यात्रुको समस्याका बारेमा अहिलेसम्म पहल गर्न सकेको छैन । बुटवलको मुख्य बजार तथा संवेदनशिल क्षेत्र लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर तथा पूर्वतर्फ पैदलयात्रीका लागि ठाउँ नै नराखी ठेला व्यवसायीहरु भरिएका छन् । दैनिक हजारौंले सेवा लिने प्रादेशिक अस्पतालको अगाडिकै पुटपाथ व्यवसायीको कब्जामा भएपछि अस्पतालमा सेवा लिन आउने तथा अन्य पैदलयात्रीलाई सकस हुने गरेको छ ।

यसैगरी बुटवलको हाटबजारलाईनमा कान्ति स्कुलअगाडि, टेलिकमअगाडि बाटो नै छेक्ने गरी हाटबजार सञ्चालन हुँदै आएको छ । दीपनगरमा पनि सडकमै हाटबजार लाग्दै आएको छ । देवीनगर, नयाँगाउँ, रानीगञ्जको अवस्था पनि उस्तै छ । बुटवलको हाटबजारमा अन्य स्थानमाभन्दा बढी सेड छन् भने दीपनगर, देवीनगर, नयाँगाउँ, रानीगञ्ज लगायतमा सेडभन्दा बढी व्यवसायीहरूले फुटपाथ र सडकमै हाटबजार लगाउँदै आएका छन् । फुटपाथ र सडकमै हाटबजार लाग्दा दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिहरू बढी समस्यामा परेका छन् । व्यवसायीहरुलाई पटक-पटक पुटपाथ छाडेर सेडभित्र आउन आग्रह भैरहेको हाटबजार व्यवसायी संघका अध्यक्ष टेकबकादुर जिसीले बताए । नियामक निकाय बुटवल उपमहानगरसँग पनि छलफल भैरहेको बताउँदै उनले व्यवसायीहरुले बाटो नै अवरुद्ध गरे भनि गलत प्रचार नगरीदिन आग्रह समेत गरे ।

फुटपाथमा रहेका ठेला व्यवसायीहरु आफ्नो संगठन अन्तरगत नभएको बताउँदै उनले हाटबजार व्यवसायीबाट भएका कमजोरी सुधारका लागि पटक–पटक आग्रह गरिएको बताए । यद्यपी हाटबजार व्यवसायीहरुले नै सबैभन्दा बढी फुटपाथ ओगटेको गुनासाहरु आउने गरेका छन् । सेडभन्दा बाहिर हाटबजार लगाउनेबाट नगरपालिकाले नै ठेकेदारमार्फत कर असुल्ने गरेको उनले बताए । ‘हामीले व्यापारीहरूलाई त्यहाँ बसेर बजार नलगाउन पटक–पटक भनेका छौँ । तर पनि कर असुल्ने गरेपछि उनीहरू त्यहाँ बसेका छन् । नियमन निकायले यसमा चासो दिनुपर्छ ।’–जिसीले भने । फुटपाथमा व्यापार गर्नु रहर नभएर बाध्यता भएको भन्दै उनले यसलाई सामान्य रूपमा लिन समेत आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले पुटपाथ व्यवसायीलाई व्यवस्थिग गर्नुपर्ने बताउँछन् । पुटपाथमा व्यवसायीले कब्जा गर्दा सर्वसाधारणलाई सकस हुनुका साथै ठूलो लगानी गरेर बसेका स्थायी व्यवसायीलाई समेत समस्या हुने गरेको उनले बताउँछन् । फुटपाथ खुला गर्नका लागि विगतमा बुटवल उपमहानगर र संघको समन्वयमा प्रयासहरु भएपनि त्यसको दिर्घकालिन कार्यान्वयन हुन नसक्दा समस्या फेरी उस्तै देखिन थालेको कसजुले बताए । केही ठूला व्यवसायीहरुले समेत पुटपाथ कब्जा गरेको स्वीकार गर्दै उनले विशेषगरी साना तथा ठेला व्यवसायीहरुबाट कब्जा हुने गरेको उल्लेख गरे । ‘फुटपाथ व्यवस्थापनका लागि उपमहानगरले आवश्यक नीति बनाएर साना तथा फुटपाथ व्यवसायीहरुका लागि निश्चित ठाउँ तथा निश्चित समय तोकेर व्यवस्थापन गर्न सकिन्छ ।’–अध्यक्ष कसजुले भने, ‘उनीहरुलाई पनि व्यवसाय गर्न पाउने वातावरण सिर्जना गर्ने कर्तव्य नगरपालिकाको हो, त्यसका साथै सर्वधारणका लागि पुटपाथ खुला हुनुपर्छ भन्नेमा हामी सधै पक्षमा छौं ।’

उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले पुटपाथको व्यवस्थापन नगरी बुटवललाई सुन्दर शहरको परिकल्पना गर्न नसकिने बताए । फुटपाथको समस्या बारे उपमहानगरलाई पटक–पटक जानकारी गराउनुका साथै छलफलहरु भैरहेको बताउँदे उनले निस्पक्ष भएर उपमहानगरले कठोर निर्णय गर्न सक्नुपर्ने बताए । फुटपाथ व्यवसायीलाई राजनीतिक दलहरुले आफ्नो चुनावी भोट बैंकको रुपमा प्रयोग गर्दा त्यसको सही व्यवस्थापन गर्न नसकेको उनको आरोप छ । ‘पैदल यात्रुका लागि बनाइएको फुटपाथ कब्जा हुँदा जनप्रतिनिधिहरुले नै बोलेको अवस्था छैन ।’–मञ्चका अध्यक्ष जिसीले भने, अब उपमहानगरले कठोर निर्णय गरेर भएपनि फुटपाथ खाली गराउनै पर्छ । त्यहाँ व्यवसायीलाई अन्यत्र व्यवस्थापन गर्ने विषयमा सोच्न आवश्यक छ ।

बुटवल उपमहानगरपालिकाले हाटबजार व्यवसायीहरूबाट वार्षिक एक करोड रुपैयाँ कर उठाउँछ । सबैभन्दा बढी बुटवल–५ स्थित हाटबजारबाट कर असुल्ने गरेको छ । संघका अनुसार बुटवलको हाटबजारबाट उपमहानगरले ठेकेदार मार्फत ६० लाख रुपैयाँ कर उठाउँदै आएको छ । दीपनगरबाट १५ लाख, देवीनगरबाट ७ लाख र रानीगञ्ज, नयाँगाउँ लगायतबाट १८ लाख गरी करिब एक करोड कर व्यवसायीबाट उठाउने गरेको संघले जनाएको छ । बुटवल–५ हाटबजार र बुटवल–७ दीपनगर हाटबजारबाट उपमहानगरले समान रूपले शुल्क उठाउँदै आएको छ । माछा, मासुको पसलबाट सेडमा ४५, प्लेटमा ४० र भुईँमा ३५ रुपैयाँ उठाउँदै आएको छ ।

त्यसबाहेक सिद्रा पसल, नास्ता, भाडा, कपडा, फलफुल तरकारी, लगायतबाट सेडमा ४०, प्लेटमा ३० र भुईँमा २५ रुपैया उठाउँदै आएको छ । यो शुल्क शनिबार, सोमबार, बुधबार र बिहीबार लगाउँदाको हो । त्यस बाहेक अन्य दिनमा हाटबजार लगाउँदा सेडमा २५, प्लेटमा २० र भुईँमा १५ रुपैयाँ तिर्नुपर्ने उपमहानगरपालिकाको वेवसाइटमा उल्लेख छ । त्यसबाहेक कपडा, माछा मासु, आलु प्याज, खाद्यान्य, भाडा, फलफुल तरकारीका लागि प्लेटमा २५, भुईँमा २० रुपैयाँ शुल्क लाग्ने बताइएको छ । उपमहानगरपालिकाका अनुसार प्रत्येक पसलका लागि ७ दशमलव ७ वर्ग फिट क्षेत्रफल व्यापारीका लागि उपलब्ध गर्ने र त्योभन्दा बढी क्षेत्रफल प्रयोग गरे थप शुल्क लाग्नेछ । हाटबजारमा बस, ट्रक, ट्याक्टर, जीप, बयल गाडामा सामान ल्याई बिक्री गर्नेलाई प्रतिबोरा १० र प्रतिपेटी २ रुपैयाँका दरले बैठकी कर लिइने गरिएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।