ताजा अपडेट »

‘पाल्हिनन्दनका अध्यक्ष नै अवैध धन्दामा’ : करोडौं हत्याउन १२ वर्षदेखिको बिजनेश पार्टनरलाई जेल पुर्याएको आरोप

आइतबार, १२ भदौ २०७९, १२ : ५०
25 Shares

बुटवल । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दिपक’ले आफ्नै व्यवसायी सहकर्मीको करोडौं रकम हत्याउन लागुऔषध मुद्दामा फसाएको आरोप लागेको छ । कवाडको काम गर्ने आफ्नै ‘बिजनेश पार्टनर’लाई पाखा लगाएर उनलाई तिर्नुपर्ने १ करोड ३३ लाख बराबरको रकम समेत कुम्ल्याउने योजनामा गाउँपालिका अध्यक्षले लागुऔषधमा फसाएर प्रहरीलाई जिम्मा लगाएको आरोप लागेको हो ।

नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचति गुप्ताले दलका केन्द्रीय नेताहरुको आडमा शक्तिको दुरुपयोग गदै अवैध धन्दामा समेत संलग्न हुँदै आएको यहाँका राजनीतिक दलका नेताहरुले आरोप लगाएका छन् । आफ्नै बिजनेश पार्टनर दुई भारतीय नागरिकलाई फसाएपछि गाउँपालिका अध्यक्षलाई कारबाही माग गर्दै नेपाली काँग्रेस तथा जनता समाजवादी पार्टीले आवाज उठाउँदै आएका छन् ।

गुप्ताले भारतीय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो । गुप्ताका परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले शनिबार परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा सुनवलको भुमहीमा बस्दै आएका कवाड व्यवसायी भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका गुप्ता र पासवानलाई फसाएको दाबी गरेका हुन् ।

उनीहरुले गुप्ता र पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाइ गर्न र गाउँपालिका अध्यक्षमाथि छानबिन गर्न माग गरेका छन् । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन हालसम्म सार्वजनिक नहुनुले संका उत्पन्न गराएको बताएका छन् । नेपाली काँग्रेस पश्चिम नवलपरासीका कार्यबहाक सभापति विक्रिम यादवले गठबन्धन सरकारको बलमा निर्दोषमाथि अन्याय भएको दाबी गरे । माओवादी केन्द्रका केन्द्रीय नेता तथा गृहमन्त्री बालकेष्ण खाँण लगायतको आडमा गाउँपालिका अध्यक्ष तथा प्रहरी प्रशासनले समेत निर्दोष व्यक्तिलाई फसाउन खोजेको उनीहरुको आरोप छ । जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले गाउँपालिका अध्यक्ष, प्रहरी प्रशासन, केन्द्रीय तहका नेता तथा गृहमन्त्रीसम्म सेटिङ गरेर अवैध काम गर्नेलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने काम भएको आरोप लगाए । आर्थिक चलखेल गरेर सहयोगीलाई दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले गहिराइमा पुगेर छानबिन गर्न माग गरेका छन् ।

गुप्ता र पासवानलाई फसाउन गत असार २२ गते गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले आफैंले ल्याएको लागूऔषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर पक्राउ गराएको रामा गुप्ताका साला सञ्जय साहले बताए । गाउँपालिका अध्यक्ष गुप्तासँग रामाले १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पाउनुपर्ने रकम दिन आलटाल गरेपछि रामाले कवाड अन्यत्र दिन लागेपछि अध्यक्ष गुप्ताले बारम्बार फोन गरेर ज्यान लिनेसम्मको धम्की दिंदै आफूलाई नै कबाड बेच्न दबाव दिंदै आएको उनले परिवारले बताउँछ । ‘गाउँपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत नाफा हामीले पाउने सहमति थियोे’, पीडित रामाकी पत्नि लालसा गुप्ताले भनिन्–‘हामीले पाउनुपर्ने एक करोड ३३ लाख रकम नदिन अध्यक्षले धेरै समय आलटाल गरेका थिए, त्यो दिन पिपरहियामा बोलाए, पैसा दिने होला भनेर गएको उहा (रामा गुप्ता)लाई फसाउन रहेछ ।’

कवाड व्यवसायी गुप्ता र पासवान बसेको ठाउँमा २७० सेट डाइजेपाम नुर्फिन र फेनार्गन भेटिएको प्रहरीको भनाई छ । निर्दोषलाई फसाएको भन्दै नवलरासीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालले माथिल्लो प्रहरी निकायमा जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका दुवै युवक डेढ महिनादेखि प्रहरी हिरासतमा छन् । प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ताका सहयोगी धोबीलाई पनि पक्राउ गरेको छ ।

यसअघि ४० साउनमा नेपाली कांग्रेस पाल्हीनन्दन गाउँ समितिका सभापति हरिहर चौहान, जसपा गाउँ कार्य समितिका सहसंयोजक कमलेश माली, जसपाका गाउँ युवा समितिका अध्यक्ष बसन्त यादव र कांग्रेस जिल्ला समिति सदस्य चन्द्रमणि चौधरीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै निर्दोष भारतीय नागरिकलाई मुक्त गरी दोषीलाई कारबाही गर्न माग गरेका थिए । गाउँपालिका अध्यक्ष गुप्तासँग पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।