ताजा अपडेट »

कोरोना अवधीका शैक्षिक कार्यक्रम प्रभावहिन, स्थानीय निकायमा देखिए अनियमितता

शनिबार, ०४ भदौ २०७९, १४ : ४४
31 Shares

बुटवल । कोरोना महामारीको समयमा स्थानीय तहहरुमा चरम आर्थिक बेथिति फेला परेको छ । स्थानीय तहले कोरोना अवधीमा सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रममा अनियमितता फेला परेको हो । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको २०७९ सालको प्रतिवेदन अनुसार स्थानीय तहले ‘दिवा खाजा’ कार्यक्रम तथा लक डाउन अवधिमा सिकाई सहजीकरण ‘सियूजी’ कार्यक्रम अन्तरगत लाखौ रकम अनियमितता गरेको भेटिएको छ ।

कपिलवस्तुका स्थानीय तहहरुले महामारीको अवधिमा शिक्षण संस्थाहरु बन्द भएको अवधिको समेत रकम निकासा गरी दुरुपयोग गरेको भेटिएको छ । यसैगरी महामारीले शैक्षिक संस्थाहरु बन्द भएको अवस्थामा सिकाई क्रियाकलाप सञ्चालन गर्न लागू गरिएको सियूजी कार्यक्रम अन्तरगतको रकम समेत चरम दुरुपोग भएको भेटिएको हो । महालेखाले शक्षिण संस्थाहरुले खर्च गरेकोभन्दा बढी रकम निकासा भएको औल्याएको छ ।

महामारी अवधिमा शिक्षण संस्थाहरु बन्द भई बालबालिकाहरु घरमै बसे पनि स्थानीय तहहरुले खाजा वापतको रकम विद्यालयलाई बुझाएको देखिन्छ । नेपाल सरकारले लागू गरेको दिवा खाजा कार्यक्रम अन्तरगत सबै सामुदायिक विद्यालयका बालविकासदेखि कक्षा ५ सम्ममा बालबालिकालाई विद्यालयमै खाजाको व्यवस्था गरिएको छ । सरकारले प्रति विद्यार्थी दैनिक १५ रुपैयाँका दरले सामुदायिक विद्यालयहरुलाई रकम उपलब्ध गराउने गर्दछ ।

यसैगरी विद्यालय बन्द भएको अवधिमा सिकाईलाई निरन्तरता दिनका लागि सरकारले सियूजी कार्यक्रम लागू गरेको थियो । उक्त कार्यक्रमको रकम समेत दुरुपयोग भएको भेटिएको छ । यो कार्यक्रम अन्तरगत कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु तथा शिक्षकलाई अनलाईन माध्यमबाट कक्षा सञ्चालन गर्न सिम कार्ड खरिद तथा उपकरणहरु व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिएको थियो ।

महालेखाले सार्वजनिक गरेको २०७९ को प्रतिवेदनमा जिल्लाका सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम अन्तरगतको रकम निकासा भएपनि आवश्यक कागजात तथा बिल भरपाई नभएपछि असुल गर्न निर्देशन गरिएको छ । यसैगरी सियूजी कार्यक्रम अन्तगरको रकम समेत अनियमित रुपमा निकासा गरेको भेटिएपछि असुल उपर गर्न महालेखाले निर्देशन गरेको छ ।

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिकाले दिवा खाजा कार्यक्रम अन्तरगत ६ लाख २२ हजार ५८१ रुपैयाँ रकम बढी निकासा गरेको भेटिएको छ । नगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयको नाममा कुल ६४ लाख ५६ हजार ३७५ रुपैयाँ निकासा गरेको थियो । निकासा भएको मध्ये आवश्यक बिल भरपाई र विवरण खुलाउन नसकेका १३ वटा विद्यालयबाट रकम असुल गर्न महालेखाले निर्देशन गरेको हो । आर्थिक वर्ष २०७७/७८ मा कोरोना महामारीका कारण लामो समय विद्यालयहरु बन्द थिए । स्थानीय निकायले त्यस अवधिको समेत दिवा खाजाको रकम निकासा गरेका छन् ।

सोही नगरपालिकाले सियूजी कार्यक्रम अन्तरगत निकासा गरेको २६ लाख ३५ हजार ५१६ रुपैयाँ असुल उपर गर्न महालेखाले निर्देशन गरेको छ । यस कार्यक्रम अन्तरगत कोभिड–१९ का कारण उत्पन्न परिस्थितीलाई सहजिकरणका लागि शिक्षक तथा विद्यार्थीलाई सियूजी सेवामा आवद्ध गर्न सामुदायिक विद्यालयमा अध्ययनरत बास्तविक विद्यार्थीको संख्या यकिन गरी प्रति विद्यार्थी १२५ रुपैयाँका दरले ३ महिनाका लागि हुन आउने रकम विद्यालयलाई अनुदान दिने व्यवस्था उल्लेख थियो । अधिकांश विद्यालयहरुलाई कार्यक्रम नै सञ्चालन नगरी यो रकम भुक्तानी दिएको भेटिएको छ ।

नगरपालिका अन्तरगत रहेका ४३ वटा सामुदायिक विद्यालयहरुले कार्यक्रम गरेको भन्दा बढी भुक्तानी लिएका छन् । अधिकांश विद्यालयहरुले कार्यक्रम नै सञ्चालन नगरी भुक्तानी लिएको भेटिएको छ । नगर अन्तरगतका विद्यालयहरुका लागि सियूजी कार्यक्रम सञ्चालन गर्न कूल ३० लाख ३२ हजार ६२५ रुपैयाँ निकासा भएको मध्ये ८ वटा विद्यालयमा गरी जम्मा ३ लाख ९७ हजार १०९ रुपैयाँ बराबरको कार्यक्रम भएको छ । कार्यक्रम लागू गरेका विद्यालयहरुले समेत कामभन्दा बढी रकम लगेको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका प्रमुख हरिप्रसाद ज्ञवालीले कोभिड अवधिमा लकडाउन पूर्व नै दिवा खाजाको रकम भुक्तानी गरिएको हुँदा हिसाब मिलानमा समस्या देखिएको स्वीकार गरे । महालेखाले गलत ढंगले व्याख्या गरेको हुँदा स्थानीय तहको कमजोरी देखिएको उनको आरोप छ । ‘बालबालिकाहरुको संख्याका आधारमा विद्यालयहरुलाई रकम भुक्तानी ग¥यौ तर, कोभिडले एक्कासी लकडाउन भई विद्यालय बन्द हुँदा यो रकम बेरुजु देखिएको हो’–ज्ञवालीले भने । यसैगरी सियूजी कार्यक्रम अन्तरगत विद्यालयहरुलाई भुक्तानी गरेको रकम समेत बिल भरपाई बाहेकको सबै रकम असुल उपर गरिएको ज्ञवालीको भनाइ छ ।

यो प्रश्न कपिलवस्तु नगरपालिकाको मात्रै होइन । महाराजगञ्ज नगरपालिकाले दिवा खाजा खर्चमा आर्थिक वर्ष २०७७/७८ मा १३ लाख ९१ हजार ७९५ रुपैयाँ बढी निकासा गरेको छ । नगरपालिका अन्तरगत रहेका ५९ वटा विद्यालयका लागि यो रकम निकासा गरिएको हो । नगरपालिकाको भौचर नम्बर २०७७/११/१४ बाट कूल ९७ लाख ९५ हजार ६०० रकम निकासा भएको मध्ये आवश्यक बिल भरपाई र कागजात नपुगेको रकम असुल उपर गर्न महालेखाले निर्देशन गरेको छ ।

यो नगरपालिकामा पनि सियूजी कार्यक्रम सञ्चालन नै नगरी विद्यालयहरुले २२ लाख ४१ हजार ३२५ रुपैयाँ बढी भुक्तानी लिएका छन् । नगरपालिका अन्त्र्गतका ४३ वटा विद्यालयका लागि कूल २५ लाख २५ हजार ६२५ रुपैयाँ निकासा भएको मध्ये २ लाख ८४ हजार ३०० रकम बराबरको कार्यक्रम मात्रै सञ्चालन भएको छ । छ वटा विद्यालयले मात्रै सियूजी कार्यक्रम सञ्चालन गरेका थिए । ती विद्यालयलाई समेत काम गरेभन्दा बढी रकम भुक्तानी दिइएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख रेश्मीराज अर्यालले अग्रिम भुक्तानी उपलब्ध गराउँदा दिवा खाजा कार्यक्रममा अनियमितता देखिएको स्वीकार गरे । ‘नगरपालिकाले विद्यार्थी संख्याका आधारमा दिवा खाजाका लागि रकम निकासा गर्यो, त्यस लगत्तै कोभिडले विद्यालय बन्द भएपछि खर्च हुन सकेन । यसलाई स्वाभाविक मान्नुपर्छ’–अर्यालले भने । आफ्नो नगरपालिकामा मात्र नभई अधिकांश स्थानीय निकायमा महामारीले गर्दा यस प्रकारका समस्या रहेको उनले दाबी गरे ।

सियूजी कार्यक्रम अन्तरगतको रकम अनियमितता देखिनुमा विद्यालय तथा केही कमजोरी सरकारको नीतिमा समेत रहेको अर्यालले बताए । आफ्नो नगरपालिकामा लामो समयसम्म बिल भरपाई उपलब्ध गराउन ताकेता गर्दा पनि विद्यालयहरुले उपलब्ध नगराउँदा बरुजु देखा परेको उनले स्वीकार गरे । यसैगरी सियूजी कार्यक्रम अन्तरगत सिकाई सहजीकरणका लागि शिक्षक तथा विद्यार्थीका लागि सिम कार्ड खरिद गर्ने भनिए पनि त्यति व्यवहारिक र भरपर्दो नहुँदा समस्या देखिएको उनले भनाइ छ ।

‘नेपाल सरकारले नेटवर्क नै नटिप्ने ठाउँमा समेत एनटिसीको सिमकार्ड किनेर प्रयोग गर्न भन्छ, अन्य नेटवर्कका सिमलाई मान्यता दिँदैन’– अर्यालले भने । अन्य नेटवर्कका सिम खरिद गरिहाले पनि सबै ठाउँमा नेटवर्कले काम गर्न सक्दैन जसका कारण विद्यार्थीहरु पनि यस कार्यक्रममा अकर्षित हुन सकेनन् र विद्यालयहरुले खर्च गर्न सकेनन् ।

यसैगरी कार्यक्रमका लागि खर्च गरेका विद्यालयहरुले समेत निर्धारित समयमा बिल भरपाई उपलब्ध गराउन नसक्दा महालेखाले असुल उपर गर्न निर्देशन गरेको उनले बताए । बिल भरपाई समयमा उपलब्ध नगराएका विद्यालयहरुले समपरीक्षणका लागि आग्रह गर्ने गरेको उनले बताए ।

कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाले दिवा खाजाका लागि ५ लाख ५५ हजार ४०५ रुपैयाँ बढी निकासा गरेको छ । यसैगरी सियूजी कार्यक्रमका लागि १६ लाख १६ हजार ६२५ रुपैयाँ रकम बढी निकासा गरेको पाइएको छ । विभिन्न १८ वटा सामुदायिक विद्यालयलाई कार्यक्रम नै सञ्चालन नगरी रकम भुक्तानी गरेको प्रतिवेदनमा देखिन्छ । दिवा खाजा कार्यक्रम अन्तरगत बुद्धभूमिका भृकुटी माविले ५७ हजार ९४५ तथा इमिलिया माविले ४ लाख ९७ हजार ४६० रुपैया बराबर रकमको बिल भरपाई पेस गर्न नसकेका हुन् ।

बुद्धभूमि नगरपालिका अन्तरगत दिवा खाजा कार्यक्रममा बिल भरपाई पेस गर्न नसकेका विद्यालयहरु ।

बुद्धभूमि–३ मा रहेको नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक बाबुरा थारुका अनुसार सियूजी कार्यक्रम सञ्चालनका लागि स्थानीय निकायबाट रकम निकासामा ढिलाई भएको थियो । यद्यपी विद्यार्थीहरुबाट फर्म भराएर पूरा रकम खर्च गर्न नसकेपनि कार्यक्रम भने लागू गरिएको उनले दाबी गरे । उनको विद्यालयले खर्च गर्न नसकेको ४२ हजार ७५० रुपैयाँ रकम गाउँपालिकाको खातामा फिर्ता गरेको थियो । सोही विद्यालयका अभिभावक यमलाल भट्टराईले कोभिडको समयमा सरकारले सियूजी कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नभएको उल्लेख गरे । विशेष गरी ग्रामिण क्षेत्रमा रहेका विद्यार्थीहरुका लागि सिकाई सहजिकरण कार्यक्रम ‘सियूजी’ प्रभावकारी नदेखिएको उनले बताए ।

जिल्लाको उक्त नगरपालिकामा कोभिड समयमा सञ्चालन गरिएको सिकाई सहजीकरण कार्यक्रम ‘सियूजी’ अन्तरगतका रकम खर्च हुन सकेनन् । नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा गरी कूल १६ लाख १६ हजार ६२५ रकम बराबरको बिल भराई प्राप्त नभएपछि महालेखाले असुल उपर गर्न निर्देशन गरेको थियो ।

भूद्धभूमिमा सियूजी कार्यक्रम अन्तरगको रकम असुल उपर गर्नु पर्ने विद्यालयहरुको विवरण ।

जिल्लाको विजय नगर गाउँपालिकाले दिवा खाजा शीर्षकमा १ लाख २३ हजार ५३० रुपैयाँ बढी निकासा गरेको छ । उक्त गाउँपालिकाले २०७७ चैत्र २० गते र २०७८ असार १८ गते गरी दुई पटकमा कूल १ करोड ८८ लाख २१ हजार ६३० निकासा गरेको मध्ये बिल भरपाई तथा आवश्यक विवरण नबुझाएको रकम असुल उपर गर्न महालेखाले निर्देशन गरेको छ । उक्त गाउँपालिकामा रहेका जन जागृती माविले १० हजार २ सय, नेपाल तारा माविले १३ हजार २३० तथा जन ज्योति आधारभूत विद्यालयले सबैभन्दा बढी १ लाख १ सय रुपैया बराबरको भिल भरपाई पेस गर्न नसकेका हुन् । जनज्योगित आविले कूल ४ लाख ५३ हजार ६०० भुक्तानी लिएको मध्ये ३ लाख ५३ हजार ५०० रकम बराबरको मात्रै बिल भरपाई पेस गर्न सकेको थियो । यसैगरी सोही गाउँपालिकामा सियूजी कार्यक्रम अन्तरगत २३ लाख २० हजार ५०० रुपैयाँ बढी निकासा गरेको भेटिएको छ । गाउँपालिका अन्तरगत रहेका विभिन्न ३० वटा सामुदायिक विद्यालय कार्यक्रम नै नगरी उक्त रकम लगेका छन् ।

विजयनगर–१ मा अवस्थित दुधधारी माविका प्रधानाध्यापक सुग्रिव प्रसाद कोरीका अनुसार स्थानीय निकायले ढिला गरी निकासा दिएका कारण सियूजी कार्यक्रमको रकम विद्यालयहरुले प्रयोग गर्न पाएनन् । ‘समयावधि सकिनै लाग्दा स्थानीय निकायले निकास दियो, रकम निकासाका लागि हामीले कागजी प्रक्रिया मिलाउँदा मिलाउँदै विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरुभयो । त्यसपछि रकम खर्च गर्ने कुरै भएन ।’–कोरीले भने । सियूजी कार्यक्रमका लागि उनको विद्यालयले प्राप्त गरेको ४ लाख ११ हजार ३७५ रुपैयाँ पुनः गाउँपालिकाको खातामा दाखिला गरेको उनले बताए । उनको विद्यालयले दिवा खाजा अन्तरगको खर्चमा भने सबै रकमको बिल भरपाई उपलब्ध गराएको थियो ।

विजयनगर गाउँपालिकामा दिवा खाजा कार्यक्रमको रकमका लागि बिल भरपाई पेस गर्न नसकेका विद्यालयहरु ।

यसैगरी विजयनगर गाउँपालिका अन्तरगत नै पर्ने नेपाल तारा माविका प्रधानाध्यापक शिवराज सुवदीले पालिकाबाट ढिला गरी रकम निकासा बाहेक अन्य प्राविधिक जटिलताहरु पनि देखिएकाले खर्च गर्न नसकिएको बताए । सीम खरिदका लागि विद्यार्थीहरुबाट फर्म भराउने लगायतका काम गरे पनि उक्त समयमा सियूजी कार्यक्रमका लागि आवश्यक पर्ने सीम कार्ड नेपाल टेलिकमले नै उपलब्ध गराउन नसकेको उनले बताए । यसैगरी सीम कार्ड प्राप्त गरेपनि नेटवर्कको समस्या, कतिपयको घरमा मोवाइल फोनकै अभाव लगायत कारणले उक्त कार्यक्रम प्रभावकारी नभएको उनले उल्लेख गरे । आफ्नो विद्यालयले खर्च गर्न नसकेको रकम गाउँपालिकाकै खातामा दाखिला गरिसकेको उनले बताए । दिवा खाजाको बाँकी रहेको रकम समेत गाउँपालिकालाई बुझाइएको उनले उल्लेख गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।