ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री केसीले उद्घाटन गरेको ‘रोजगार पोर्टल’ गुमनाम

शुक्रबार, ०३ भदौ २०७९, १७ : ५७
30 Shares

बुटवल । रुपन्देही उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रको बिहीबार शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले भने–‘सरकारले गर्नु पर्ने काम तपाईहरु(उद्योग संघ)ले गर्नुभयो । रोजगार सिर्जना तथा जनशक्ति आपूर्तिका लागि रोजगार सूचना केन्द्रले ठूलो सहयोग गर्ने अपेक्षा ।’ उनले निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्दै उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रले श्रम शक्तिलाई आवश्यकताअनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

उद्योग संघले सञ्चालनमा ल्याएको रोजगार सूचना केन्द्रको बारेमा चर्चा गर्दैगर्दा मन्त्री शाहीलाई लुम्बिनी सरकारले २ वर्षअघि सञ्चालमा ल्याएको यस्तै प्रकारको अनलाइन पोर्टल बारे जानकारी नभएको कुरा प्रस्ट हुन्थ्यो । २ वर्षअघि नै सञ्चालनमा ल्याइएको रोजगार पोर्टल बारे सम्बन्धित मन्त्रालयका मन्त्री नै बेखर हुनुले रोजगार सिर्जनाप्रति सरकार कति गम्भिर छ भन्ने कुरालाई समेत स्पष्ट पारेको छ ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले रोजगारकर्ताहरुलाई रोजगारदातासँग पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रोजगार पोर्टल हाल अलपत्र अवस्थामा रहेको छ । सरकार परिवर्तनसँगै प्रदेशभित्रै रोजगारीका अवसर सिर्जना गरी यस क्षेत्रका लागि आवश्यक जनशक्तिको प्रबन्ध गर्न सञ्चालनमा ल्याइएको रोजगार पोर्टल हाल बन्द अवस्थामा रहेको छ ।

बेरोजगार रहेका कुनैपनि क्षमताका नागरिकले घरमै बसेर अनलाइन आवेदन भर्न सक्ने र रोजगार दाताहरुले आफ्ना लागि आवश्यक जनशक्ति यसै पोर्टलको माध्यमबाट आपूर्ति गर्न सक्ने गरी सञ्चालनमा ल्याइएको प्रविधि सरकारको बेवास्ताका कारण अलपत्र परेको हो ।

अच्चमको कुरा त के छ भने हालका मुख्यमन्त्री तथा तत्कालिन आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले रोजगार पोर्टलको उद्घाटन गरेका थिए । २०७७ कार्तिक २८ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तामझामका साथ कार्यक्रमको आयोजना गरी आफैले उद्घाटन गरेको रोजगार पोर्टल आफू मुख्यमन्त्री भएपछि भने बेवास्ता गरेका छन् ।

नागरिकहरुले रोजगार पोर्टलमा गएर आफूले चाहेका रोगार क्षेत्र, आफ्नो क्षमता, सीप तथा ज्ञानका बारेमा खुलाएर आवेदन दिन पाउने व्यवस्था उक्त पोर्टल रहेको थियो । यसैगरी रोजगार दाता कम्पनीहरुले आफ्ना लागि आवश्यक जनशक्ति, सेवा सुविधा लगायतका विषय खुलाएर जनशक्ति माग गर्न सक्ने व्यवस्थासहितको रोजगार पार्टल गुमनाम भएको छ ।

दुई वर्ष अघि सञ्चालनमा आएको www.rojgari.lumbini.gov.np नामक रोजगार पोर्टल बन्द भएको हो । लुम्बिनी प्रदेश श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव दिपकराज नेपालले रोजगार पोर्टल बारे आफूलाई जानकारी नभएको उल्लेख गरे । ‘यस बारेमा हामीलाई जानकारी नै छैन, सायद हाम्रो मन्त्रालय अन्तरगत पर्दैन होला ।’–अनविज्ञता प्रकट गर्दै भने । यसैगरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता नरेन्द्र कुमार रानाले पनि रोजगार पोर्टल बारे आफूलाई जानकारी नभएको बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।