ताजा अपडेट »

माओवादीबाट ३ पटक जितेका टोपबहादुरले एमालेबाट के गर्लान्?

विहीबार, २६ साउन २०७९, १७ : ३८
27 Shares
विहीबार, २६ साउन २०७९
27 Shares

बुटवल । सम्भवत: गतवर्षसम्म टोपबहादुर रायमाझीले कहिले पनि सोँचेका थिएनन् होला, एमालेबाट निर्वाचन उठ्नु पर्ला भन्ने । हुन त राजनीतिमा असम्भव भन्ने केही पनि हुँदैन भने जस्तै माओवादी जनयुद्ध र आफ्नो जीवनको उर्जाशिल समय माओवादीमै बिताएका रायमाझी यस पटकको निर्वाचनमा एमालेबाट निर्वाचन लड्ने तयारीमा छन् । रायमाझीले अर्घाखाँचीमा नेकपा माओवादीबाट २०६४, २०७० र २०७४ मा गरी ३ पटक सांसद जिते । उनी माओवादीबाटै पटक–पटक मन्त्री समेत बने । तर, माओवादी छोडेर एमालेमै रहेका उनी अहिले एमालेका सचिव हुन् ।

रायमाझीले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट जिते । २०६४ सालको संविधानसभाको निर्वाचनमा रायमाझिले नेपाली कांग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गराएर पहिलो पटक संसद छिरे । २०७० सालमाकांग्रेसकै डा. रामबहादुर बिसीलाई पराजित गरे । २०७४ सालको निर्वाचनमा बामगठबन्धनबाट उठेका रायमाझि भारी मतका साथ निर्वाचित हुँदै हटिक गरे ।

रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याए निर्वाचित हुँदा उनका निकट प्रतिष्पर्धी कांग्रेसका डा.रामबहादुर बिसीले ३२ हजार ५४४ मत पाए । यस पटक माओवादीबाट एमालेमा आएका रायमाझी अर्घाखाँचीमा एमालेबाट उठ्ने पक्का–पक्की जस्तै छ । अर्घाखाँचीमा एमालेका नेताहरुले पूर्व माओवादीबाट आएका रायमाझीलाई नेता मान्न आफूहरु तयार रहेको बताउने गरेकाले पनि एमालेबाट टिकट पाउन रायमाझीलाई अप्ठ्यारो भने छैन।

सत्ता गठबन्धनबाट अर्घाखाँचीमा नेपाली कांग्रेसले प्रतिनिधिसभा र गठबन्धनका अन्य घटकहरुले प्रदेशसभाको टिकट पाउने सम्भावना छ । नेपाली कांग्रेसबाट बलियो दाबेदारको रुपमा उपसभामुख पुष्पा भुसाल र टोपबहादुर रायमाझीसँग २ पटक पराजित भएका डा.रामबहादुर बिसी रहेका छन् । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग निकट रहेकी भुसालले अर्घाखाँचीबाट निर्वाचन लड्न चाहेमा भुसालले टिकट पाउने सम्भावना बलियो छ । तर, भुसाल समानुपातिकामा बस्न पनि सक्ने सम्भावना छ ।

२०६४ सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट जितेकी भुुसाल २०७० सालमा भने तत्कालिन एमालेका स्व. दुमनसिंह थापासँग पराजित भएकी थिइन् । २०७४ सालमा बामगठबन्धन बलियो रहेकाले आफू नउठेर डा.रामबहादुर बिसीलाई अघि सारेकी थिइन् । यसपटक पनि सत्ता गठबन्धनको तर्फबाट रायमाझीसँग २ पटक पराजित भएका कांग्रेसका नेता डा.रामबहादुर बिसीलाई अघि बढाए सहानुभूतिको मत आउने भएकाले उनैलाई अघि बढाउने सम्भावना छ।

टोप बहादुरलाई चूनौती कति?
डा.बाबुराम भट्टराईसँग निकट रहेका रायमाझी माओवादीमा शक्तिशाली थिए । जब डा. भट्टराईले माओवादी त्यागे त्यसपछि रायमाझीको ओरालो राजनीतिक यात्रा सुरु भयो । यही बीचमा एमाले र माओवादीबीच एकता भई नेकपा भयो र केही समयपछि विभाजन । त्यसपछि एमालेमा प्रवेश गरे । टोपबहादुर रायमाझी एमालेमा गएपनि अर्घाखाँचीमा माओवादीका धेरै नेता कार्यकर्ताहरुले भने उनलाई साथ दिएनन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनअनुसार जिल्लामा सत्ता गठबन्धन तर्फका वडाध्यक्षले पाएको मत धेरै छ ।

सत्ता गठबन्धनका वडाध्यक्षले ५३ हजार ७७२ मत ल्याउँदा एमालेले ४८ हजार २८० मत पायो । तर, जिल्लामा रहेका ६ पालिकामध्ये ४ वटा पालिकाको प्रमुख भने एमालेले जितेको छ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गुटबन्दी कारण पालिका प्रमुख गुमाउनु परेको बताउने गरेको छ । माओवादी पृष्ठभूमिका एमाले सचिव रायमाझीले माओवादीका नेता तथा कार्यकर्तालाई आफूतर्फ तान्न नसक्नुले र पूर्ण रुपमा एमालेमै निर्भर बन्दा रायमाझीलाई थप चूनौती हुन सक्ने छ ।

अर्घाखाँचीमा नेकपा एमालेको संगठन राम्रो भएपनि टोपबहादुर रायमाझीलाई एमालेका सबै कार्यकर्तासँग राम्रोसँग घुलमिल हुन समय लाग्छ नै । रायमाझीले अर्घाखाँचीको विकासका लागि धेरै योजना ल्याएको र विकास निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाले व्यक्तिगत भोट आउने एमाले नेताहरुको दाबी रहेको छ । तर, विपक्षीहरुले भने पटक–पटक मन्त्री भएपनि काम नगरी प्रचार बढी गरेको बताउँछन्।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।