ताजा अपडेट »

३७ जिल्लामा ५२ पदका लागि मतदान हुँदै

शनिबार, १४ मंसिर २०७६, ०८ : ५३
4 Shares

मंसिर १४,

काठमाडौँ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त पदपूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ। निर्वाचन हुने क्षेत्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने तयारी अनुसार काम भइरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार ३७ जिल्लाका ५२ रिक्त पदको मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्। प्रतिनिधिसभातर्फ ३२ मतदानस्थल र ८२ मतदान केन्द्र, प्रदेशसभा सदस्यतर्फ ७८ मतदान स्थल र १ सय ७४ मतदान केन्द्र तथा स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थल र २ सय ८१ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिसभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नं.२ मा उपनिर्वाचन हुँदैछ। यहाँ ७१ हजार ८ सय ७१ मतदाता छन्। प्रदेशसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं. १ (क), बागलुङ क्षेत्र नं. २(ख), दाङको क्षेत्र नं.३ (ख) गरी तीन स्थानमा उपनिर्वाचन हुँदैछ।

स्थानीय तहतर्फ धरान उपमहानगरपालिकाको प्रमुख र संखुवासभाको मकालु पाँचथरको फाल्गुनन्द र महोत्तरीको पिपरा गाउँपालिका गरी तीन ठाउँमा अध्यक्ष पदको लागि उपनिर्वाचन हुँदैछ। हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न गाउँपालिका तथा नगरपालिकाको वडाध्यक्ष ४३ समेत गरी कूल ५२ रिक्त पदमा उपनिर्वाचन हुँदैछ। आयोगका अनुसार ८ सय वा सोभन्दा बढी मतदाता भएका केन्द्र ३ सय ३७ छन्। ८ सयभन्दा कम मतदाता रहेका केन्द्र २ सय रहेका छन्।

उपनिर्वाचन हुने ३७ जिल्लाका २ लाख ३३ हजार ४ सय २ महिला, २ लाख २० हजार ७ सय १० पुरुष र अन्य २ गरी जम्मा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुरमा ४५ हजार १५, बागलुङमा ३५ हजार १ सय ८४ र दाङमा ६८ हजार ७ सय १९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ। यसैगरी स्थानीय तहतर्फ २ लाख ३३ हजार ३ सय २५ मतदाता रहेका छन्।- नेपालन्युज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।