ताजा अपडेट »

भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’

मंगलबार, २१ असार २०७९, १७ : २६
2 Shares

बुटवल । संघीय सरकार मातहतमा रहेको बाँकेको नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सकको दादागिरी बाहिर आएको छ । काम नै नगरी सेवा सुविधा भुक्तानी लिने तथा महिना नपुग्दै हाजिरी गरेर कागज मिलान गर्ने जस्ता कृतेकाम फेला परेको हो । अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकले महिना पूरा नहुँदै अग्रीम हाजिरी गर्ने गरेको खुलासा भएको छ ।

अस्पतालमा ड्युटी नगरेर निजी अस्पतालमा समय बिताउने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको भेरी अस्पताल विकास समितिको आरोप छ । ड्युटी गर्न समयमा नआउने, काममा लापरवाही गर्ने र निजी अस्पतालमै समय बिताउने भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. सुरेश कुमार नागलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको समितिले आरोप लगाएको हो ।

काममा चरम लापरवाही गरेपछि समितिको तर्फबाट पटक–पटक सुध्रिन अनुरोध गर्दा समेत अटेर गरेको पाइएको भन्दै डा. नागलाई आवश्यक कारवाही गरिदिन गतवर्ष २०७८ सालको साउन २२ गते बसेको समितिको बैठकले मन्त्रालयमा सिफारिस गरिएको भएपनि मन्त्रालयले बेवास्ता गरेको भेरी अस्पताल विकास समितिले कारबाहीका लागि लेखेको सिफारिस पत्रमा उल्लेख छ । लगातार अनुपस्थित रहेर ड्युटी नगरेका डा. नागले असार २० गते अस्पताल प्रशासनमा घुसेर असार २९ गते सम्मको अग्रीम हाँजिरी गरेको समेत खुलासा भएको छ ।

डा. नागले अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्य बिमुख भएको पाइएको भन्दै समितिले आज पुनः कारवाहीका लागि जिल्ला प्रशासन बाँके मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सिफारिस गरेको छ । अस्पतालका वरिष्ठ सर्जन पदमा कार्यरत रहेका डा. नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल संचालनमा रहेको छ । डा. नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १÷२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेको अस्पतालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।