ताजा अपडेट »

बुटवलको आम्दा अस्पतालमा ८५ रुपैयाँ पर्ने औषधिलाई १२५ रुपैयाँ !

शनिबार, १८ असार २०७९, १५ : ५०
6 Shares

बुटवल । बुटवलको आम्दा अस्पतालले औषधि व्यापारमा समेत ठगी गरेको भेटिएको छ । अस्पतामा रहेको फार्मेसीले सेवाग्राहीबाट तोकिएभन्दा बढी मूल्य लिएको भेटिएको हो । पछिल्लो समय अस्पतालको सेवाप्रति आलोचना बढीरहेका बेला एक सेवा ग्राहीले मूल्यमा ठगिएपछि उक्त कुरा बाहिर ल्याएका छन् ।

औषधिको बजार मूल्य ८५ रुपैयाँ भएपनि अस्पतालको फार्मेसीले १२५ रुपैयाँको बिल थमाएपछि तिलोत्तमाका एक सेवाग्राहीले उक्त विषयलाई बाहिर ल्याएका हुन् । ५३ रुपैयाँ भारु मूल्य तोकिएको उक्त औषधिको नेपाली मूल्य ८४ रुपैयाँ ८० पैसा पर्ने भएपनि अस्पतालले १२५ रुपैयाँको बिल थमाएपछि उनी चकित परेको बताए । उक्त विषयमा कुरा गर्दा फार्मेसीका प्रतिनिधिले कम्यूटरमा १२५ रुपैयाँ नै मूल्य तोकेर राखिएको प्रतिक्रिया दिएको पीडित सेवाग्राहीले बताए । बच्चाका लागि प्रयोग गरिने ५ एमएलको ‘डोमस्टल वेवी’ को मूल्य ४० रुपैयाँ बढी भनेपछि उनले गुनासोका लागि अस्पताल प्रशासनले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरेपनि उक्त नम्बरमा फोन नलागेको गुनासो गरे । अस्पतालको सेवामा समेत सन्तुष्ट नदेखिएका पीडित सेवाग्राहीले आफ्नो नाम नखुलाउने सर्तमा उक्त विवरणहरु उपलब्ध गराएका हुन् । फार्मेसीमा रहेका प्रतिनिधिसँग मूल्यको बारेमा विवादभएपछि भने सच्याएर तोकिएकै मूल्यमा औषधि प्राप्त गरेको उनले बताए ।

उक्त विषयमा कुरा गर्दा अस्पतालका निर्देशक डा. राजेन्द्र बस्यालले भने तोकिएको मूल्यभन्दा एक रुपैयाँ पनि बढी लिने नीति नभएको उल्लेख गरे । ग्लोबल आवाजसँग कुरा गर्दै उनले प्राप्त जानकारी झुटो हुन सक्ने वा प्राविधिक कारणले त्रुटि भएको हुन सक्ने दाबी गरे । मातृशिशु स्वास्थ्यमा टेवा पु¥याउने उद्देश्यले करिब १० हजार जापानी नागरिकले गरेको सहयोगले २०५५ सालमा सिद्धार्थ बाल तथा महिला अस्पतालले सेवा सुरू गरेको थियो । एसोसिएसन अफ मेडिकल डक्टर्स (आम्दा) जापानको सहयोगमा अस्पताल निर्माण गरिएको थियो । आम्दाद्वारा स्थापित अस्पताल आम्दा अस्पताल नामले चिनिन्छ ।

बुटवल उपमहानगरपालिकामा रहेको यो अस्पतालको स्थानीय व्यवस्थापन समितिको अध्यक्ष उपमहानगर नै छ । बुटवल उपमहानगरपालिका–७ स्थित शिवनगर सामुदायिक वनको करिब १० बिघा क्षेत्रफलमा उक्त अस्पताल छ । स्थापनाकालदेखि नै उक्त अस्पताललाई बुटवल उपमहानगर, बुटवल उद्योग वाणिज्य संघ तथा बुटवलका दर्जनौं संघसंस्था र व्यक्तिहरूले पूर्वाधार निर्माण र उपकरणका लागि आर्थिक सहयोग गर्दै आएका छन् । यद्यपी औषधि बिक्रिमा अनियमितता मात्रै होइन सरकारले नै लागू गरेको नीतिलाई समेत अस्पतालले अटेरी गर्दै आएको छ । मातृशिशु मृत्युदर नियन्त्रण गर्न सरकारले आर्थिक वर्ष २०६५÷६६ मा आमा सुरक्षा कार्यक्रम लागू गरी महिलाहरूलाई प्रसूति सेवा लिन अर्थात् सुत्केरी हुन अस्पताल जान प्रेरित गर्दै आएको छ । तर, आम्दा अस्पतालले यो कार्यक्रम लागू नगर्दा त्यहाँ प्रसूति हुने आमाहरू सुरक्षा कार्यक्रमबाट बञ्चित हुनु परेको छ ।

अस्पतालका निर्देशक बस्यालले भने आमा सुरक्षा कार्यक्रम गर्न रकम अभाव भएको उल्लेख गरे । बुटवल उद्योग वाणिज्यसंघ, बुटवल उपमहानगरपालिका लगायतका सबै स्टेकहोल्डरहरुलाई कार्यक्रम लागू गर्नका लागि आवश्यक पर्ने स्रोत व्यवस्थापनका लागि प्रतिवेदन बुझाएको समेत दाबी गरे । अस्पताल सञ्चालनका लागि मुख्य आम्दानीनै सेवाग्राहीबाट लिने शुल्क भएका कारण न्यूनतम शुल्क लिने गरिएको दाबी गरे ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।