ताजा अपडेट »

भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई

शुक्रबार, १७ असार २०७९, १६ : २२
2 Shares

बुटवल । रुपन्देहीको बेलहिया नाका भएर दैनिक हजारौँको संख्यामा भारतबाट मानिसहरु नेपाल आउँछन् । छिमेकि मूलुक भारतमा अहिले कोरोना संक्रमणको दर दिनप्रति दिन बढ्दै गइरहेको छ ।

तर, भारतीय सिमानाकाबाट भने भारतबाट आउनेहरु बिना कोरोना परीक्षण नेपाल प्रवेश गर्ने गरेका छन् । यसअघिका लहरमा पनि सीमानाबाट भएका बिना रोकतोक ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिएको थियो । सिमानाकामा रहेका हेल्थ डेस्कहरु प्रभावकारी हुन नसक्दा कोेरोनाले पहिलो र दोस्रो लहरमा भयावह अवस्था ल्याएको थियो ।

अहिले पनि बेलहिया नाकामा कोरोना परीक्षणका लागि हेप्प डेक्स राखिएको छ । तर, त्यो डेक्स प्रभावकारी हुन सकेको छैन् । नाकामा एन्टिजेन्ट परीक्षणको व्यवस्था भए पनि भारतबाट नेपाल आउने अधिकांश कोरोनाको चेकजाँच नगरि नेपाल प्रवेश गर्ने गरेका छन् । अहिले पनि बिना रोकतोक ओहोरदोहोरले नेपालमा संक्रमणले विकराल रुप लिने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयले पनि भारतमा कोरोना बढेकाले सचेत हुन आग्रह गरे त गरेको छ तर, अन्य आवश्यक कदम भने चालेको देखिदैँन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भारतमा कोरोना संक्रमण बढेकाले यहाँ पनि जोखिम हुन सक्ने भन्दै सिमानाकामा रहेको हेल्प डेक्सलाई प्रभावकारी बनाउन निर्देशन बताए पनि डेक्सलाई कसरी प्रभावकारी बनाउने प्रष्ट योजना छैन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसीसी) को बैठक बसेर नाकामा रहेको हेल्प डेक्सलाई प्रभाकारी बनाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

‘नाकामा हेल्प डेक्स त पहिलादेखि नै राखिएको थियो । अहिले भारतमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले पनि हामीलाई एउटा निर्देशन पनि आइसकेको छ । बैठकले बेलहिया नाकामा रहेको हेल्प डेक्सलाई प्रभावकारी बनाउन निर्णय गरेको छ । अब त्यही अनुसार काम गर्न निर्देशन पनि दिइसेका छौँ ।’–उनले भने ।

भारतबाट नेपालमा आउनेहरु सबैलाई तत्काल कोरोना परीक्षण गर्न नसकिए पनि शंका लागेकालाई अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउँछन् । तत्काल रुपन्देहीमा संक्रमणको जोखिम नरहे पनि जुनसुकै बेलामा पनि संक्रमण फैलिन सक्ने भएकाले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताए ।

परीक्षणका लागि जनशक्तिकै अभाव
बेलहिया नाकामा अहिले मेडिकल अधृकित डा. अरुण खरेलको नेतृत्वको स्वास्थ्यकर्मी टोलिले कोरोना परीक्षण गर्ने गरेको छ । हेल्थ हेक्समा मेडिकल अधिकृत खरेलसहित ४ जना अहेब, १/१ जना अनमी, ल्याब टेक्निशियन, ल्याब असिन्टेन्ट र २ जना कार्यालय सहयोगि रहेका छन् । यस बाहेक गैरसकारी निकायका केहि कर्मचारी र रेडक्रसबाट आएका केही स्वय्मसेवक रहेको हेल्थ डेक्सका सहायक इन्जार्ज अहेव लालमोहन चौधरी बताउँछन् ।

‘रेडक्रसबाट आएका स्वयम् सेवक बिहान ६/१२ र १२–६ बजेसम्म ९/९ जनाका दरले पालै पालो गरि आउनु हुन्छ । उहाँहरु २ महिनाको लागि आउनु भएको हो । उहाँहरुको समय असारबाट सकिन्छ । नमुना पोजेक्टबाट आउनु भएकाको पनि असारबाट नै समय सकिन्छ ।’–उनले भने । यसबारेमा सम्बन्धीत निकायलाई जानकारी गराइसकेको उनी बताउँछन् ।

संख्या धेरै भए पनि स्वास्थ्यकर्मीको कम हुँदा परीक्षणमा समस्या आएको सहायक इन्चार्ज अवेह चौधरी बताउँछन् । आफूहरुले भारतबाट नेपाल आएका मध्ये शकां लागेका र भारतमा धेरै संक्रमण देखिएको स्थानबाट आउनेलाई प्राथमिकतामा राखेर परीक्षण गरिएको डेक्सका सहायक इन्चार्ज चौधरीले बताए । ‘अहिले हामीले भारतको दिल्ली, मुम्बाई लगायतबाट नेपाल आएका पर्यटकहरु र २ हप्ता भन्दा धेरै समय भारतमा बसेका नेपालीलाई प्राथमिकतामा राखेर परीक्षण गरेका छौँ ।’–उनले भने ।

सबैलाई परीक्षण गर्नका लागि जनशक्तिको अभाव भएकाले बसमा आएका मध्ये केहीको नुमना परीक्षण गर्ने गरेको र पोजेटिभ आएको अवस्थामा अरुको परिक्षण गरिएको उनले बताए । साथै धेरै जसोले खोप लगाइसेको भन्दै परीक्षण गर्न अटेर गर्ने गरेको गुनासो गर्छन् । ‘हामी खोप लगाइ सकेका छौँ । बुस्टर डोज लगाइसकेका छौँ । किन परीक्षण गर्नु पर्छ? भन्नु हुन्छ । हामीहरुले सम्झाई बुझाई गरेर नुमना परीक्षण गरेका छौँ । रिपोर्ट १५ देखि २० मिनेटमा नै आउँछ।’–उनले भने ।

शुक्रबार ३५५ जना शकां लागेका मध्ये २३८ जनाको एन्टिजेन्ट परीक्षण गरिएको हेल्प डेक्सका अहेव चौधरीले बताए । परीक्षण गरिएका मध्ये १ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको इन्चार्ज चौधरी बताउँछन् । यस्तै बिहीबार ३०५ जना शकां लागेका मध्ये १८९ जनाको परीक्षण गर्दा ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको चौधरीले बताए । मंगलबार १७९ जनाको परीक्षण गर्दा ३ जना मध्ये ३ जना, आइतबार १८८ जनाको परीक्षण गर्दा १ जना पुरुष र शनिबार १८८ जनाको परीक्षण गर्दा २ जना महिलाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए । बुधबार १०५ जना र सोमबार १५० जनाको परीक्षण गर्दा सबैको पनि रिपोर्ट पोजेटिभ आएको थिएन् ।

भारतमा कोरोना संक्रमणको दर बढेकाले नाकामा परीक्षणको दरलाई बढाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल बताउँछन् । ‘पहिला संक्रमणको जोखिम कम भएकाले परिक्षण पनि कम गरेका थियौँ । अहिले भारतमा संक्रमण बढेको छ । यसकारणले परिक्षणको दर बढाउने अब छिट्टै नै बढाउछौँ ।’–उनले भने ।

भारतमा मात्रै होइन नेपालमा पनि बढ्यो संक्रमण दर
भारतमा केही दिन यता कोरोना संक्रमण तीब्र गतिमा देखिएकउो छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ७७० जना नयाँ संक्रमित थपिएको जनाएको छ । मन्त्रालयका अनुसार भारतमा दैनिक ४.१६ प्रतिशतले संक्रमण बढिरहेको छ ।

यता नेपालमा पनि संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ८ सय १४ नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये १ दशमलव ७७ प्रतिशत हो । १ असारमा संक्रमणदर ० दशमलव ६४ प्रतिशत मात्र रहेकोमा दुई सातामै कोरोना संक्रमणको दुई सातायता झण्डै चार गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदरसँगै संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लागेको देखाउँछ । ७ असारमा १२४ सक्रिय संक्रमित रहेकोमा शुक्रबारसम्म आइपुग्दा २९७ पुगेको छ ।

‘भारतमा भन्दा भ्याकसिनको कभरेज राम्रो छ, आत्ति हाल्नु पर्दैन्’

विगतमा कोरोना पहिलो लहर र द्रोसो लहरमा सम्बन्धीत निकायले सीमानाकामा लापरवाही गरेकाले नेपालमा कोरोना संक्रमणले भयाभय रुप लियो । विगतमा भारतमा कोरोना संक्रमण फैलिएको १/२ महिनामा कोरोनाले नेपालमा विकाराल रुप लिएको थियो ।

अहिले पनि पहिला दिल्लीमा कोरोना संक्रमण आएको एक डेढ महिनामा नेपालमा आएको र अहिले पनि त्यही अवस्था आउन सक्ने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्शन डा. नन्दु पाठक बताउँछन् । ‘पहिला पनि दिल्लीमा संक्रमण आएको एक डेढ महिनामा नेपालगंजमा संक्रमण आयो । त्यसपछि बुटवल, नारायणगढ हुँदै संक्रमण देशभर फैलिएको थियो । अहिले पनि टेरेन्ट त्यही हुन सक्छ ।’–उनले भने ।

यद्यपी भारतमा भन्दा नेपालमा कोरोना विरुद्धको भ्याकसिनको कभरेज राम्रो भएकाले कोरोना संक्रमणको दर बढे पनि अहिले अस्पताल भर्ना हुने र जोखिम भने कम हुने डा. पाठक बताउँछन् । ‘भारतमा भ्याकसिनको कभरेज त्यति राम्रो छैन्् । हाम्रो त भ्याकसिनको कभरेज राम्रो छ । खुला सिमानाका कारण अहिले पनि भारतमा कोरोना बढेकाले नेपालमा पनि बढ्न सक्छ । यहाँ भ्याकसिनको कभरेज राम्रो र बुस्टर डोज धेरैले लगाएकाले अस्पतालमा भर्ना हुने र त्यसबाट हुने जोखिम भने कम नै हुन्छ ।’–डा. पाठकले भने ।

भ्याकसिनले अहिलेसम्म देखिएका सबै भेरिण्टलाई काम गरेको र बुस्टर डोज लगाएका र एन्टीबढी राम्रो भएकालाई खासै असर नगर्ने तर, दिर्घ रोगी र जेष्ठ नागरिकका लागि भने केही समस्या हुन सक्ने भएकाले पहिला नै सचेत हुनु पर्ने बताए ।

भाइरसको नयाँ म्युटेशनको रुप नदेखिएको र सचेत नै रहेको कारणले पहिला जस्तो गा्रहो नभए पनि भारतमा कोरोना संक्रमण बढेपछि नेपालमा पनि संक्रमण बढ्ने भएकाले सिमानाकाहरुमा कडाईका साथ चेकजाँच गर्न आवश्यक रहेको उनी बताउँछन् । साथै भारतबाट आउनेहरु पहिला जस्तै होम आइसुलेशन, मास्कको प्रयोग अनिवार्य लगायत सबै स्वास्थ्य सुरक्षाका मापदण्ड भने पालना गरि रहन आवश्यक रहेको बताए ।

‘विश्लेष्ण गरिरहेका छौँ, विज्ञहरुको अध्ययनका आधारमा अघि बढ्छौँ’

भारतमा कोरोना संक्रमण बढे पनि अहिलेसम्म थप सतर्कताका लागि लुम्बिनी प्रदेश सरकारसँग केही तयारी भने छैन् । भारतमा कोरोना संक्रमण बढेको भए पनि अहिलेसम्म प्रदेश सरकारले थप सर्तकताको कुराहरुमा अहिलेसम्म अघि नबढेको लुम्बिनी प्रदेश सरकारका आन्तिरक मामिला तथा संचार मन्त्री एवं प्रवक्ता तिलकराम शर्मा बताउँछन् ।

भारतमा कोरोना संक्रमणको दर दिनप्रति दिन बढिरहेकाले अब आवश्यक सर्तकता बढाउनु पर्ने स्थिती आउन सक्ने प्रवक्ता शर्माले बताए । यसको बारेमा विश्लेष्ण गर्ने काम भइरहेको बताउँदै उनले विज्ञहरुको अध्ययनका आधारमा अघि बढ्ने बताए । कोरोना संक्रमण छैन भनेर आफूहरु चुपचाप लागेर बसेको दाबी गर्छन् ।

८० प्रतिशत नागरिकले कारोना विरुद्धको भ्याकसिन लगाइसकेको अवस्था भएकाले नेपालीको बढी ढुक्क रहने स्वभावका कारणले पनि नेपालीको आत्मबल पहिला भन्दा केही बढेको उनी बताउँछन् । ‘यसको बारेमा विश्लेष्ण गर्ने काम भइरहेको छ । विज्ञहरुको अध्ययनका आधारमा हामी अघि बढ्छौँ ।’ मन्त्री शर्माले भने ‘८० प्रतिशत नागरिकले कारोना विरुद्धको भ्याकसिन लगाइसक्नु भएको छ । यसले गर्दा पहिला भन्दा केही नेपालीको आत्मबल बढेको पनि पाएका छौँ ।’

अहिलेसम्म नेपालमा कोरोना संक्रमणको जोखिम कायम नरहेको र जोखिम खतराको महशुस हुना साथ सरकारले आवश्यक कदम चाल्ने मन्त्री शर्माको भनाई रहेको छ । साथै मन्त्री शर्माले सबैलाई सचेत हुनका लागि आग्रह गरे ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।