ताजा अपडेट »

दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण

विहीबार, १६ असार २०७९, २१ : २०
8 Shares


दाङ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय दाङले जिल्लाका सात स्थानीय तहहरुमा सिकलसेल तथा थालासेमीयाको स्क्रिनिङ परिक्षण गर्न थालिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जिल्लाका तुलसीपुर र घोराही उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा, राजपुर, राप्ती र दंगिशरण गाउँपालिकामा यहि असार १० र ११ गरि २ दिनसम्म दश बर्षदेखि ३० बर्ष उमेर समूहका नागरिकहरुमा सिकलसेलको रगत परिक्षण गर्न थालिएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले जानकारी दिए । यो कार्यक्रमको सम्पुर्ण जिम्मा प्रदेश सरकारले स्वास्थ्य कार्यालय दाङलाई दिइसकेको उनले बताए । बिषेश गरि थारु समुदायमा देखिने गरेको यो रोग अन्य समुदायमा पनि हुने र यसको परिक्षण प्रविधि महंगो हुने भएकोले आम नागरिकको राहातका लागि प्रदेश सरकारले एक चरणमा यो कार्यक्रम पहिलो पटक गर्न थालेको मन्त्री थारुले बताए ।

बिहिवार देउखुरीको गढवामा भएको एक कार्यक्रममा स्वास्थ्य कार्यालय दाङले सिकलसेल परिक्षणको अभियान जिल्लाका सात स्थानीय तहहरुमा गर्न थालिएको जानकारी गराएको हो । गढवा स्वास्थ्य चौकी संचालन तथा ब्यवस्थापन समितिका उपाध्यक्ष मानु कुमालको अध्यक्षतामा भएको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाहीले सिकलसेल र यसका लक्षणहरुका बिषयमा बिस्तृत जानकारी गराए ।

सिकलशेल एनिमीया र बिटा थालासेमीया रोग बंशााणुगत रुपमा सर्ने एक प्रकारको रक्त अल्पता हो । यस रोगका बिरामीहरुलाई जिन्दगीभर रगत चढाउनुपर्ने लगायत औषधि उपचारको अवश्यकता रहन्छ । यो रोगको लक्षण भएकाहरुले सन्तती जन्माउन बिहेवारी गर्दा अत्यन्तै ध्यान दिनु आवश्यक रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । विवाह पुर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस जाँच गरि सिकलसेल तथा थालासेमिया उल्लेखित कुण्डली मिलाएर बैवाहिक निर्णय गरेमा जिवनभर यस रोगको उपचार चाहिने, खर्चिलो प्रविधि र रोगबाट समेत बच्न सकिने डा.स्मृति शाहीले बताए । यस रोगको निदान, परामर्श तथा उपचारका लागि बाहिर जानुपर्ने झञ्जट टरिसकेको र अहिले दाङका राप्ती प्रादेशीक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोरहीमा ब्यवस्था रहेको स्वास्थ्य कार्यालय दाङका क्षयरोग तथा कुष्ठरोग अधिकृत डम्बर कुँवरले जानकारी दिए ।

अफ्रिकी मुलुकबाट नेपालमा भित्रिएको यो रोग अक्सर गरेर थारु समुदायमा देखिने गरेको भएपनि सबै समुदायमा लाग्न सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । यो रोगका लक्षणहरु हसिया रक्तकोष भएमा देखिने र जोर्नीहरु तथा पेट दुख्ने, पटक–पटक जण्डिस देखिने, आरबिसी र हेमोग्लोबिनको कमी भएपछि रक्त कोषिकाहरु छिटो मर्ने र रक्त सञ्चार बन्द हुने समस्या रहने कार्यक्रममा जानकारी गराए ।

यहि असार १० र ११ मा जिल्लाका सात स्थानीय तहहरुमा संचालन गर्न थालिएको निःशुल्क सिकलसेल परिक्षणमा कम्तिमा तिनहजार नागरिकहरुको रक्त परिक्षण गर्ने, गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुको परिचालन गर्ने, सचेतना मुलक पोष्टर पम्प्लेट र कुण्डली वितरण गर्ने र परामर्श सेवा प्रवाह गर्ने स्वास्थ्य कार्यालय दाङको लक्ष्य रहेको कार्यालय दाङका ल्याब टेक्निसियन निरिक्षक देविलाल डाँगीले जानकारी दिए । कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका डा.स्मृति शाही, डम्बर कुँवर, ल्याब टेक्निसीयन उज्ज्वल पौडेल, महिला स्वास्थ्य स्वयंसेविका सकुन्तला डिसी र गढवा स्वास्थ्यचौकी ब्यवस्थापन समितिका सदसय खुमानन्द पोखे्रल लगायतले बोलेका थिए । गढवा गाउँपालिकाका स्वास्य संयोजक कैलाश चन्द्र चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको अभिमुखिकरण कार्यक्रमको संचालन स्वास्थ्यचौकी प्रमुख रुपनारायण चौधरीले गरेका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी