ताजा अपडेट »

बुटवल सडकको कन्त बिजोग, एक झर्को वर्षामै सडकमा खाेलाे बग्याे

मंगलबार, १४ असार २०७९, ०८ : ३३
2 Shares

बुटवल । बुटवलको सडकमा मँगलबार विहानैदेखिको वर्षासँगै बाढी आएको छ । सडकमा जलमग्न र हिलाम्य भएपछि पैदल यात्री तथा सवारी आवागमनमा समेत समस्या भएको छ । मुख्य बजार क्षेत्रमै पानीको उचित निकास नुहँदा निर्माणाधिन सडकबाटै भेल बगेको छ ।

लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक बिस्तारको काम समयमै नहुँदा यो समस्या आएको हो । पछिल्लो समय सडक मर्मतमा निर्माण कम्पनीले सक्रियता देखाउँदै सडक सम्याउने तथा कालोपत्रेको काम गरेपनि त्यसअघिनै सक्नु पर्ने नाली व्यवस्थापनको काम नगर्दा सडक वर्षामा जलमग्न भएको छ । यही सडकका कारण यसअघि बुटवलका मेयर शिवराज सुवेदीले ठूलो आलोचना खेप्नु परेको थियो भने अहिले निर्वाचित मेयर खेलराज पाण्डेले तदारुकता देखाउन सडकमै पुगेर अध्ययन अवलोकन गरेका तस्विरहरु सार्वजनिक भैरहेका छन् । यद्यपी चर्चाका लागि बुटवलका सडकमा कालो छर्किने काम भएपनि अव्यवस्थित र अन्दधुन्द निर्माणले जनतालाई झन सास्ति दिएको छ । सडक छेउमा रहेका नानी व्यवस्थापन गर्ने, नालीसम्मको जमिन सम्याउने लगायतका काम छाडेर एक्कासी बीचभागमा कालो छर्कीएको सडकबाटै एक झर्को पानीमा भेल बगेको हो ।

बुटवलको मुख्य बजार क्षेत्रहरु गोलपार्क, लक्ष्मीनगर, ट्राफिकचोक, अस्पताललाईन हुँदै नयाँ बसपार्कसम्म सडक हिलाम्य बनेका छन् । कहिले स्थानियको विरोध, मुद्दा मामिला त कहिले ठेकेदार सम्पर्कमा नआउने जस्ता समस्याकै कारण सडक निर्माणको काममा प्रगति हुन सकेको छैन । सडक बनाउँदा बनाउँदै बीचमा अलपत्र पारिएपछि स्थानीय र यात्रुहरुले ठूलो सास्ती ब्यहोर्नु परिरहेको छ । स्थानीय निर्वाचनमा समेत उम्मेदवारहरु बीच सामाजिक संजालमा सोही सडकको बिषयमा आरोपप्रत्यारोप चलेको थियो । बुटवलमा चुनाव जित्नकै लागि मुल सडकको निमार्णको विषयलाई सबै उम्मेदवारहरुले मुल विषय बनाएका थिए । चुनाव सकिए लगत्तै निर्वाचित जनप्रतिनिधि रातरात फोटो खिचाउनैका लागि सडकमा मेशिन पनि चलाए ।

खाल्डो परेको सडकका केही खाल्डाहरु पुरेर अब त हुन्छ की भन्ने आशा पनि देखाए । २–४ दिन तामझाम देखिएको सडक निर्माणको काममा भने दिनहरु बित्दै जाँदा कुनै प्रगति हुन सकेन । ठेकेदार कम्पनीले स्थानीय जनप्रतिनिधिलाई बेवास्ता गरिदिँदा सडकको काम रोकियो र पुरिएका खाल्डाहरु फेरि पानीले बगाउन थाल्यो । वर्षामा त्यही सडकहुँदै भेल बग्न थाल्यो । काम गर्छु भनेर ठेकेदारका प्रतिनिधिले प्रतिवद्धता जनाएपनि सरासर काम हुन नसकेको बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले बताउँदै आएका छन् । प्रतिबद्धता अनुरुप काम नभएको र बारबार मोबाईल स्विचअफ गर्ने गरेकाले ठेकेदारसँग नियमित सम्पर्क समेत हुन नसकेको उनको गुनासो छ ।

वर्षौंदेखि मुल सडकको कन्तबिजोग हुँदा पनि स्थानीय, प्रदेश र संघ तीन वटै सरकार सडकको विषयमा गम्भिर देखिदैन । असार मसान्तसम्म ठेक्का समयावधी सकिन लाग्दा काम देखाउनैका लागि अस्थाई पिचको काम अघि बढाउन लागिए पनि सडक छेउको नाली व्यवस्थापन तथा निर्माणको काम नहुँदा सडक अस्तव्यस्त बनेको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी कञ्चनजंगा बिरुवा जेभीले सुस्त गतिमा काम गर्दा असारमा काम नसकिने निश्चित छ।

२०७३ चैत १७ गते ठेक्का सम्झौता भई ०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने भए पनि जग्गा विवादले उक्त समय अदालती उल्झनमै बितेको थियो । सडक विस्तारको बाटो खुलेपछि पुनः तोकिएको समय अवधिमा समेत निर्माण कम्पनीले काम गर्न नसक्दा म्याद थपेर ०७९ असार ३० गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । आयोजना सुरुहुने बेलादेखि नै जग्गा विवादले विभिन्न अदालती उल्झन झेल्दै आएको राजमार्ग चौराह–गोलपार्क सडक राजनीतिक दाउपेचको विषय बन्दा थप ढिलासुस्ति भएको यहाँका स्थानीयहरुले बताउने गरेका छन् । राजनीतिक स्वार्थमा जस-अपजसको खेलले निर्धारित समयमा काम पूरा त हुने भएननै त्यसकाे असर यात्रुहरुले खेपीरहनु पर्ने भयाे । व्यापारिक मार्ग अन्तरगत अन्य काम सम्पन्न भएपनि राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक बिस्तारले पूर्णता नपाउँदा बुटवल बजारनै अस्तव्यस्त भएको छ ।

तस्बिरहरु विभिन्न सामाजिक सञ्जालबाट

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।