ताजा अपडेट »

बुटवल मण्डपको नाम गिरिजाप्रसाद राख्ने प्रस्तावको विरोध, पुर्नविचार गर्न सुझाव

विहीबार, ०९ असार २०७९, १३ : ०३
2 Shares

बुटवल । राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुटवलमा निर्माणधिन बुटवल मण्डपको नाममा गिरिजाप्रसाद कोइरालाको नाम थप्ने उपमहानगरको योजनामा विभिन्न राजनीतिक दल, विभिन्न संघसंस्थादेखि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ।

उनीहरु सकेसम्म बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई सो निर्णयमा पुर्नविचार गर्न आग्रह समेत गरेका छन्। बुटवल उपमहानगरको ११ औं नगरसभामा नगरप्रमुख पाण्डेयले बुटवल मण्डपको नामका अगाडि गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्ताव नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन्।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि हरि क्षेत्रीले नेतागणको नामबाट भन्दा पनि स्थानीयहरुको संस्कृति, सम्पदा वा ऐतिहासिक पहिचानबाट नाम राख्दा राम्रो हुने बताउँछन् । ‘कुनै एउटा नेताको नामबाट बुटवल मण्डपको नाम राख्दा आफ्नो पक्षको हुने खुशि हुने र आफ्नो पक्षको नेताको नाम नहुने पक्षले विरोध गर्छन्। यसकारण स्थानीयहरुको चाहानाका आधारमा नाम राख्दा राम्रो हुन्छ।’–उनले भने । अहिलेको बुटवल मण्डप नै स्थानीयहरुले मन पराएको भन्दै उनले यो निर्णयमा पुर्नविचार गर्न आग्रह गरे ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले विभिन्न ठाउँमा रहेका यस प्रकारका मण्डपहरु नेताहरुको नामबाट भन्दा पनि स्थानीय पहिचानका आधार रहेकाले नेताको नाम राख्नु गलत भएको बताउँछन् । जग्गा प्राप्तिका लागि गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहे पनि यो बुटवल मण्डका रुपमा परिचित भइसकेका र सबै उद्योगी व्यवसायीहरुले स्वीकार गरिसकेको अवस्थामा अब नाम परिवर्तन गर्न नहुने बताए । ‘देशका अन्य ठाउँमा रहेका यसप्रकारका मण्डपहरुको नाम त्यहाँको विशेषताको आधारमा राखिएको छ। नेताको नाममा कहि कतै नि छैनन् । बुटवलमा रहेको बुटवल मण्डप बुटवल मण्डपका रुपमा राष्ट्र भरि नै परिचित भइसेको अवस्था छ। यसकारण हामी उद्योगि व्यवसायीहरुको नेताको नामबाट मण्डको नाम राख्ने कुरामा असहमति छ।यसमा विचार गर्न नगरप्रमुखलाई आग्रह गर्छु ।’–उनले भने ।

एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जनताको अवस्था परिवर्तन गर्नुको साटो नगरप्रमुख खेलराज पाण्डेयले नामको राजनीती गर्न लागेको बताए । ‘जनताको अवस्था परिर्वतन गर्न छाडेर नामको राजनीति भएको छ। यो हामीलाई मान्य छैन् । यसमा तत्काल पुर्नविचार गर्न आग्रह गर्छु ।’–उनले भने ।

यस्तै पत्रकार डीआर घिमिरेले  बुटवल मण्डपको नाम धेरै सोच विचार गरेर नै राखिएको बताउँदै भईरहेका वा प्रस्तावमा आई सकेका कुनैपनि नाम वा काममा मनमुटाव ल्याउने काम नगर्न आग्रह गरेका छन्।

‘बुटवल मण्डपको जग्गा लिन जाँदा म नेपाल पत्रकार महासंघ रूपन्देहीको अध्यक्षका हैसियतले संगै थिएँ । नामाकरण त्यतिवेलै गरिएको हो । धेरै सोंचविचार गरेरै नाम राखिएको थियो । नामले भाव बोकेको हन्छ । सकेसम्म भावलाई समेट्ने प्रयत्न भएको हो । जे प्रयोजन हो, तदनुसारको नाम राख्दा राम्रो हुन्छ । गिरिजा प्रसादको नाममा कुनै पार्क वा सडक राख्न सकिएला तर प्रारम्भनै त्यहीँबाट गर्नुपर्छ । त्यसैले मेरो प्रस्ताब छ, नयाँ योजनालाई नामाकरण गरेर काम शुरू गरौ । भईरहेका वा प्रस्तावमा आई सकेका कुनैपनि नाम वा काममा मनमुटाव ल्याउने काम विल्कुल नगरौ ।’–उनले भनेका छन्।

यस्तै राप्रपाको तर्फबाट उपमेयरको प्रत्यासि रहेकी भगवती पाण्डेले बुटवल मण्डप नै उपयुक्त रहेकाले नाम परिवर्तन गर्न आवश्यक नरहेको बताइन् । ‘बुटवल मण्डपको रुपमा परिचित भइसकेको अवस्थामा आफू निकट नेताको नाम जोडनु गलत हो । यसमा मेरो र मेरो पार्टीको गम्भीर आपत्ति रहेको छ । यसलाई कार्यान्वयन नगरियोस् ।’–उनले भनिन् ।

नगप्रमुख पाण्डेयले बुटवल मण्डपको जग्गा प्राप्ति गर्दा तत्कालिन प्रधानमन्त्री स्व. गिरिजप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउँदै गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने नीति तथा कार्यक्रममा प्रस्ताव गरेका थिए।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।