ताजा अपडेट »

विद्युत झ्याप-झ्याप गएपछि प्राधिकरण तुलसीपुरको कार्यालयमा तालाबन्दी

आइतबार, ०५ असार २०७९, १२ : ४४
6 Shares

दाङ । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रको कार्यालयमा ताला लगाइएको छ । विगत लामोसमय देखि विद्युत झ्याप झ्याप जाने गर्दा उपभोक्ताहरू मारमा परेको भन्दै स्थानीय युवाहरूले विद्युत प्राधिकरण कार्यालय प्रमुखको कार्यकक्ष र मुख्य ढोकामा ताला लगाएका हुन् । कार्यलयको मूल ढोकामा ताला लगाएसँगै कर्मचारी र कार्यालय प्रमुख कार्यलयको भवन भित्रै थुनिएका थिए ।

केही समयदेखि विना जानकारी पटक पटक विद्युत जाने गर्दा आम उपभोक्ताले निकै सास्ती भोग्नु परेको भन्दै तुलसीपुरका युवाहरूले आइतबार प्राधिकरणको कार्यालयको ढोकामा ताला लगाएका हुन् । विभिन्न वाहनमा अघोषित लोडसेडिङ गर्नुभन्दा तालिका प्रकाशित गरी तथा सूचना जारी गरी विद्युत कटौती गर्न आग्रह समेत गरेका छन् ।

यसअघि प्राधिकरणमा देखिएको समस्यालाई तत्काल समाधान गरी विद्युतीय सेवा नियमित गराउन ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाइए पनि त्यसको कुनै सुनवाई नभएकाले वाध्य भएर कार्यालयमा ताला लगाउनु परेको तुलसीपुर ६ निवासी युवा बसन्त गिरीले बताए । उनले विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण उपभोक्ताहरूलाई समस्या भएको भन्दै आफूहरूको मागको सुनुवाइ नभएपछि ताला लगाएको पनि बताए । उनले भने,‘ विद्युत आउने जाने गर्दा हामी सबैले समस्या भोग्दै आएका छौँ । यसको समाधानको लागि हामीले पहिला पनि ज्ञापन पत्र बुझाएका थियौँ । तर, अहिलेसम्म समाधान नभएपछि बाध्य भएर आज ताला लगाएको हौँ । ’

उनले विद्युतको समस्या बुझ्नको लागि हावाहुरी कारण समस्या भएको भन्दै रेडिमेट जवाफ आइरहने पनि बताए । उनले कार्यालयको फोन सकभर फोन उठ्दैन, यदि उठे पनि हावाहुरीका कारण समस्या भएको भन्ने जवाफ आउँने गर्दछ । के हावाहुरी सधैँभरि लागेको हुन्छ, भन्दै प्रश्न गरे । प्रत्येक ५–५ मिनेटमा विद्युत कटौतीले आम उपभोक्ताहरू निकै समस्यामा परेको तुलसीपुर ६ का अर्का युवा यमलाल सुवेदीले बताए । पटक पटक विद्युत कटौती हुँदा पनि त्यसको समाधानका लागि प्राधिकरणले चासो नदिने र नागरिकको समस्यालाई वेवास्ता गरेको विरुद्ध आफूहरूले तालाबन्दी गरेको उनको भनाइ थियो । उनले आफूहरू कुनै संघसंस्था तथा पार्टीगत रुपमा नभइ आम नागरिकको रूपाबाट नै तालाबन्दी गरेको पनि बताए ।

उनले भने,‘ यदि विद्युत काट्नै नै हो, भने आम नागरिकहरूलाई जानकारी दिएर तालिकासहित काट्नु पर्यो । होइन् भने विना सूचना एक पटक होइन पटक पटक लाइन आउने जाने गर्दा समस्या भएको छ । धेरैको इलेक्ट्रोनिक सामानहरू जलेर नष्ट भएका छन् । एक्कासि बत्ती जान्छ । फेरि आउँदा भोल्टेज धेरै आउँछ । जसले गर्दा समानहरू जल्ने गरेका छन् ।’ तत्काल विद्युतीय सेवामा सुधार नभए थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने उनको भनाइ थियो ।

वाणिज्य सङ्घबाट ज्ञापन पत्र
झ्याप झ्याप बत्ती आउने जाने गर्दा व्यवसायीहरू धेरै समस्यामा परेको भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रलाई आइतबार ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै संघका अध्यक्ष रामप्रसाद चालिसेले छिटो यो समस्या समाधान हुनुपर्ने बताए । उनले त्यसका लागि संघले कर्मचारीदखि अन्य आबश्यक सहयोग गर्ने समेत बताए । उनले विद्युत अनियमित हुँदा उद्योग धन्दा सञ्चालनमा समस्या रहेको र मोटर, पंखा, फ्रिज, हिटर, कम्प्यूटर,ल्याप्टप, बल्ब, मोवाईल विग्रिने गरेको पनि बताए ।

उनले भने,‘ प्राविधिक समस्या रहेको छ । भने त्यसलाई समाधान गर्नु पर्यो । तर, भारतबाट ३८ मा खरिद गरेर विद्युत ल्याउने भारतलाई बेच्दा १२ मा दिने त्यो कारणले पनि समस्या भएको भए ध्यान दिनु पर्यो । बाहिर बत्ती पठाउने तर, यहाँका उपभोक्ताहरुले समस्या भोग्ने कहिँलेसम्म हो ।’ ज्ञापनपत्र बुझ्दै विद्युत प्राधिकरण विद्युत केन्द्र तुलसीपुरका प्रमुख ज्ञान प्रसाद फर्सालले यो समस्यामा आफू गम्भीर बनेको बताए । उनले अहिले देशका बिभिन्न ठाउँमा चट्याङ्, हावाहुरी लगायतका समस्याले गर्दा विद्युत अनियमित हुने गरेको बताए । उनले अन्य ठाउँमा समस्या हुँदा त्यसले तुलसीपुरलाई पनि असर गर्ने बताए ।

उनले तुलसीपुरमा विद्युत भोल्टेजको समस्या भने नभएको पनि उल्लेख गरे । उनले पश्चिम दाङको च्याटिखोलामा १३२ केभि लाईन तुलसीपुर आएकाले भोल्टेजको पनि समस्या नभएको भन्दै यदि कुनै ठाउँमा भोल्टेजको समस्या भए आफूलाई जानकारी दिन आग्रह गर्दै तत्काल समस्या समाधान गर्ने पनि बताए । उनले तुलसीपुरको कृष्णमन्दिर र आँखा अस्पतालको विद्युतको समस्या हल गर्न दुई वटा ट्रान्सफर्मर जडानको काम अगाडी बढाउन लागे समेत बताए । त्यसकालागि एक करोड बजेट आएको उनको भनाई छ । त्यस्तै मानपुर, विजौरी,एयरपोर्ट, फुलवारीको समस्या समाधानका लागि पनि बजेट ल्याउने प्रक्रिया अघि बढेको उनको भनाई छ । त्यस्तै उनले पुराना लाइन भएका कारणले पनि समस्या हुने भएकाले त्यसलाई सुधार गरेमात्र समस्या हुल हुनसक्ने बताए ।

उनले ब्यवसायीहरुलाई टिओडी मिटर तथा क्यापेसिट ब्याङ जोड्न पटक पटक आग्रह गर्दै आएको भएयता पनि व्यवसायीहरुले वेवास्ता गर्दै आएको पनि गुनासो गरे । उनले नयाँ तथा पुरानाहरुलाई क्यापेसिट ब्याङ अनिर्वाय जोड्न र २५ केभि भन्दा माथिको लाइन जोडेकालाई टिओडी मिटर अनिर्वाय जोड्नको लागि सहयोग गरिदिन वाणिज्य संघको टिमलाई आग्रह गरे । त्यस्तै उनले ब्यवसायीहरुले तिर्न बाँकी बक्यौता रकम पनि समयमा बुझाउनको लागि पहल गरिदिन आग्रह गर्दै त्यो काम भएपछि आफूहरूको समय बच्नेृ र विद्युतको समस्या हल गर्न तर्फ लाग्ने पनि बताए ।

घोराहीमा लालटिन उपहार

तुलसीपुरमा मात्र नभइ यो समस्या घोराहीमा पनि भएपनि नेपाली कांग्रेस घोराहीले नेपाल विद्युत प्राधिकरण घोराही शाखाका प्रमुखलाई लालटिन उपहार दिएको छ । यसअघि पनि अघोषित लोडसेडिङका कारण देखिएका समस्या सम्बोधन गर्न र विद्युत आपूर्तिमा सहजता ल्याउन घोराही नगर कांग्रेसले नेपाल विद्युत प्राधिकरण घोराही शाखाको ध्यानाकर्षण गराएको थियो ।

शुक्रबार घोराही नगर कांग्रेसले एक ध्यानाकर्षण पत्रसहित विद्युत कार्यालयमा डेलिगेसन पुगेको थियो । पुनः डेलिगेसन गएको कांग्रेस नगर समितिले अघोषित लोडसेडिङलाई तत्काल समाधान गर्न आग्रह गर्दै लालटिन उपहार दिएको हो । डेलिगेसन पुगेको टिमले वितरण केन्द्रका प्रशासन प्रमुख डण्डपाणी बिकलाई भेटी समस्या राख्नुका साथै यथाशीघ्र समस्या समाधान गर्न सुझाएका थिए ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी