ताजा अपडेट »

बुटवल देवीनगरको खेल ग्राम योजना तुहियो : खुलामञ्चसँगै थपिने भयो फेरि अर्को पार्क

बुधबार, २५ जेठ २०७९, १६ : ०९
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ को नवनिर्मित वडा कार्यालय नजिकै ‘वि.पी.-पुष्पलालपार्क’ बनाउने योजना भएको छ । बुटवल उपमहानगरको मेयर पदमा निर्वाचित हुनुअघि नै चुनावी भाषणमा संकल्प प्रस्तुत गर्दै आएका नगर प्रमुख खेलराज पाण्डेले नगर कार्यापालिकाको पहिलो बैठकमै सो बारे निर्णय गराएका छन् ।

बुधबार बसेको कार्यापालिका बैठकले विपी–पुष्पलाल पार्क निर्माण गर्ने निर्णय भएको पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी गराए । नगर प्रमुख पाण्डेले खुलामञ्चका लागि छुट्टयाइएको जग्गा बाहेकको क्षेत्रमा पार्क स्थापना गरिने बताएका छन् । देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको उत्तरतर्फको खाली जमिनमा पार्क निर्माण गराउने कुराले यहाँका खेलकूदप्रेमीहरु भने सकारात्मक छैनन् । यसअघिको स्थानीय सरकारले खेलकुद ग्राम बनाउने योजनालाई लत्याएर ‘खुलामञ्च’को नाममा भाषण मञ्च बनाउन लागेको भन्दै आलोचना भएकै ठाउँमा नवनिर्वाचित स्थानीय सकारले समेत थप अर्को पार्क बनाउने कुराले यहाँका खेलप्रेमीलाई दुखी बनाएको छ ।

खेलकूद ग्राम निर्माण गर्नेगरी तयार पारिएको गुरुयोजना विपरित बुटवलका निर्वतमान मेयर शिवराज सुवेदीको योजना अनुसार त्यस क्षेत्रमा खुला मञ्चका लागि योजना प्रस्तावित भएको थियो । खेलकूद विकास र संरचना निर्माणमा पहिलेदेखि नै उदासिन देखिएको बुटवल उपमहानगरमा नयाँ जनप्रतिनिधिहरु आएपछि पनि उही रोग देखिने संकेत गरेको छ । नगरको पहिलो निर्णयले खेलकूद क्षेत्रका लागि सकारात्मक सन्देश दिन सकेन । राष्ट्रिय स्तरका प्रतियोगिताहरु भइरहने देविनगर फिफा टेक्निकल सेन्टरसँग जोडिएको खुला चौरलाई संरक्षण गरी खेलकूद ग्राम निर्माणका लागि यहाँका खेलप्रेमीहरुले जोड दिएपनि स्थानीय सकार तथा अन्य सरोकारवाला निकायहरुबाट बेवास्ता हुने गरेको छ । स्तरीय खेलकूद ग्राउण्ड र खुला क्षेत्र अभाव रहेको बुटवल उपमहानगरमा खेलकूद र खेलकूद पर्यटनको सम्भावना बोकेको देविनगर मैदान पनि नेताहरुको भाषण गर्ने थलो र नेताहरुको शालिक ठड्याउने थलोका रुपमा परिणत हुने भएको छ ।

बुटवलको अघिल्लो सरकारले विभिन्न मल्टिप्रपोजसहितको इनडोर, तथा आउटडोर खेलकूद गतिविधि सञ्चालन गर्न मिल्नेगरी तयार पारेको गुरुयोजनालाई लत्याउँदै खुला मञ्चको अवधारणा ल्याएको थियो भने यस पटकको सरकारले पनि थप अर्को पार्क निर्माण गरेर सम्भावित खेलग्राम मास्ने कामलाई निरन्तरता दिएको छ ।

नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य दीर्घ बहादुर केसीले खेलप्रति सरकारको ध्यान अझै सकारात्मक नभएको दुखेसो गरे । देविनगरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु पर्नेमा नेताहरुको भाषण गर्ने थलो र नेताहरुको शालिक सजाउने पार्क निर्माण हुनु सकारात्मक नभएको बताउँछन् । शहिदहरुको शालिक स्थापना गरेर पार्क निर्माण गर्नु सकारात्मक भएपनि खेलकूद ग्रामको सम्भावना भएका ठाउँमा ती योजनाहरुलाई नै अलपत्र पार्ने गरी ल्याएको योजना व्यवहारिक नहुने उनले उल्लेख गरे । बुटवललाई महानगर बनाउने परिकल्पना गरेका नेताहरुले बुटवलमै एक स्तरिय अन्तर्राष्ट्रिय स्तरको खेलकूद रङ्गशाला निर्माणमा ध्यान नदिनु दुःखद भएको उनले बताए ।

अघिल्लो सरकारले खुला मञ्च बनाउने भनेकै ठाउँमा यस पटकको सरकारले पार्क निर्माण गर्ने नयाँ योजना ल्याउनु एक-अर्कामा राजनीतिक स्वार्थ पूर्ति र जस लिने मेसो मात्रै भएको स्थानीयले गुनासो गरे । कुन ठाउँ के प्रयोजनका लागि उपयुक्त हुन्छ अध्ययन नै नगरी हचुवाका भरमा नेताहरुले योजना ल्याउनु राम्रो नभएको देविनगरमा खेल ग्राम स्थापनाको पक्षमा बोल्दै आएका एक व्यक्तिले गुनासो गरे ।

देवीनगर एन्फा एकेडेमी पश्चिम वरपर रहेको करिब २९ विगाहा क्षेत्रफल मध्ये १४ विगाह क्षेत्रफलमा उपमहानगरले खुला मञ्च निर्माण गर्नेगरी गुरुयोजना बनाएको छ । एन्फा एकेडेमीले साढे ४ बिगाहा र देवसिद्ध समाज सुधार तथा विकास समितिले डेढ विगाहा क्षेत्रफलमा मन्दिर र सभाहल बनाएको छ । यसैगरि देवसिद्ध खानेपानी तथा सरसफाईले करीब २ विगाहा, लन टेनिसले ७ कठ्ठा, नेपाल अपाङ आश्रमले ५ कठ्ठा गरि करीब आठ विगाहा जग्गा क्षेत्रफल सार्वजनिक संघ-संस्थाहरूले ओगटेका छन् । सो क्षेत्रमा बाँकी रहेका जग्गामा बुटवल–११ को वडा भवन निर्माण गरिएको छ । मुलुककै सबैभन्दा बढी जनसंख्या भएको वडा रहेको यहाँ रहेका खूला जग्गाजमिनहरु विभिन्न बहानामा मासिँदै जाने क्रम समेत बढेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।