ताजा अपडेट »

भाटभटेनी सुदुरपश्चिमको धनगढीमा, २३औं स्टोर शुभारम्भ हुँदै

बुधबार, ११ जेठ २०७९, १८ : ३१
4 Shares

धनगढी । नेपालकै ठूलो चेन सुपर मार्केट भाटभटेनी सुपरमार्केट अब सुदुर पश्चिममा पनि सञ्चालनमा आउने भएको छ। भाटभटेनीको २३ औं स्टोरको रुपमा सुदुरपश्चिम प्रदेशको धनगढीमा शुभारम्भ हुँदैछ । स्टोरको आगामी २७ गते औपचारिक समुद्घाटन हुने भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले जानकारी दिए ।

देशभर स्टोर विस्तार अभियानमा रहेको भाटभटेनीले यस अगाडि २२ वटा स्टोर सञ्चालनमा ल्लाइसकेको छ । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गरिएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले बताए ।

यसैक्रममा देशको पश्चिम क्षेत्र सुदुर पश्चिमबाट पनि सेवा प्रदान गर्ने लक्ष्यका साथ धनगढीमा २३ औं स्टोर स्थापना गरिएको र शुभारम्भका लागि तयारी भइरहेको उनले बताए । यस स्टोरमा २ अर्ब बढी लागत रहेको रहेको र करिब २ सय जनाले रोजगार प्राप्त गर्ने गुरुङले बताए ।

उनले भने ‘स्वदेशमै सहज र शुलभ मूल्यमा अन्तराष्ट्रिय स्तरको सपिङ सेवा उपलब्ध गराउनुका साथै धेरै युवाहरुलाई स्वरोजगार बनाउने हाम्रो प्रयास हो । यो स्टोर भाटभटेनीको २३औं स्टोर हो । देशको संघीय राजधानीबाट टाढा रहेको प्रदेशमा हाम्रो सेवा सुरु गर्न पाउँदा खुशी लागेको छ । यसको शुभारम्भले यस क्षेत्रका जनतालाई सपिङको सहजता र यहाँको बजार थप चलायमान हुनेमा हामी विश्वस्त छौं । साथै यहाँबाट पनि अन्य स्टोरमा जस्तै सहयोगको अपेक्षा गरेका छौं ।’

भाटभटेनीले सेवा,स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको उनले दावी गरे । ‘हामीले अन्तराष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै होइन । स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई विशेष प्राथमिकता दिएका छौं । स्थानीय किसान,उद्यमी,व्यवसायी,उद्योगले उत्पादन गरेका सामग्री खरिद गर्नुका साथै स्थानीय जनशक्तिलाई रोजगार प्रदान गर्दै आएका छौं । कोभिडकै दौरान हामीले १ हजार बढी थप युवालाई रोजगार दिन सफल भएका छौं ।’ उनले भने ।

धनगढी उपमहानगर–३ चटकपुर, बोराडाँडीमा १७ कट्ठा क्षेत्रफलमा स्टोर निर्माण सम्पन्न हुन लागेको भवन डेढ लाख स्क्वायर फिट क्षेत्रफल र अण्डरग्राण्डसहित ६ तल्लाको भवन रहेको छ ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलाउनाका सामान , लत्ताकपडा , जुत्ता , टिभि फ्रीज, वासिङमेसिन लगाएत दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध हुने भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए । पूर्ण वातानुकुल तथा आकर्षक स्थानमा सपिङसँगै उपभोक्ताको समयको पनि बचत हुने उनको भनाई छ ।

साथै स्टोरमा अन्तराष्ट्रिय स्तरको क्यू यू फर्निचर, पेपे पिज्जा, मल्टिप्लेक्स सिनेमा हल लगाएतका सुविधाहरु पनि रहने उनले बताए । व्यवस्थापक भट्टराइले स्टोरको शुभारम्भको अवसरमा ग्रोसरीमा १० प्रतिशत र इलेक्ट्रिक सामानमा २० प्रतिशत छुटसँगै फ्रि होमडेलिभरी सुविधा रहेको जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।