१९ असार २०७९, आईतवार

Jul 3, 2022

नेपाली अर्थतन्त्रमा वर्तमान समयमा आर्थिक संकटको अवस्थालाई बाह्य अर्थतन्त्रसँगको असन्तुलनको विषयलाई समष्टिगत आर्थिक परिसूचकहरूको बलियो प्रमाणलाई तुलनात्मक आधारमा विश्लेषण गरिएको छैन । नेपाली अर्थतन्त्रको तनावपूर्ण अवस्थालाई श्रीलंकाको आर्थिक संकटसँग जोड्ने प्रयास भइरहेको छ । जुन अपूर्ण व्याख्या हो भने नेपाली अर्थतन्त्र संकटमा परेको कुरा सत्य नै हो । नेपालमा विदेशी मुद्राको सञ्चिति रु.९.७५ अर्ब अमेरिकी डलर (कुल गार्हस्थ्य उत्पादनको २७.४३ प्रतिशत) छ । जसले वर्तमानको मुल्यमा आगामी छ महिनाको वस्तु तथा सेवा खरिद गर्ने क्षमता राख्ने गर्दछ ।

Advertisement

अर्थमन्त्रालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण चालु आर्थिक वर्षको चैतसम्म जम्मा १,८५४ अर्ब (कुल गार्हस्थ्य उत्पादनको ४३ प्रतिशत) मात्र छ भने रु.८.८० अर्ब अमेरिकी डलर मात्र वैदेशिक ऋण (कुल गार्हस्थ्य उत्पादनको २७.५९ प्रतिशत) छ । यस आर्थिक वर्षमा रु.३४ करोड अमेरिकी डलरभन्दा कम विदेशी ऋणको सावाँ र व्याज भुक्तानी गर्नुपर्नेछ जुन नेपालका लागि सहज छ । कुनै पनि देशको अर्थतन्त्र संकटतर्फ उन्मुख हुन गार्हस्थ्य उत्पादनमा कमी, अत्यधिक आन्तरिक र बाह्य बेरोजगारी, दैनिक आर्थिक गतिविधिमा रोकावट , बाह्य देशहरुबाट आर्थिक नाकाबन्दी , गृर्ह युद्ध र राजनीतिक–आर्थिक–सामाजिक आन्दोलनजस्ता परिचसूचक हुनुपर्छ । यद्यपी नेपाली अर्थतन्त्रमा यस किसिमका कुनै पनि समस्याहरु तत्काल देखिएका छैनन् ।

मुलुकको अर्थतन्त्रमा देखिएको अर्को संकट भनेको विप्रेषण आप्रवाकमा आएको न्यूनीकरण (१.५ प्रतिशत) हो । कोभिडको समयमा समेत विपे्रषण आप्रवाहमा कमी आएको थिएन । सामान्य अवस्थामा न्यूनीकरण हुदै जानु नेपाली अर्थतन्त्रका लागि तनावको विषय हो । विदेशी मुद्राको सञ्चिती बिस्तारका लागि प्रमुख शर्तका रुपमा रहेको रेमिटान्स आप्रवाहको गिरावटले आमी संकटतर्फ धकेलिएको संकेत हो । विप्रेषण प्रवाहबाट आएको ३ प्रतिशत रकमले मात्रै स्वदेशी अर्थतन्त्रमा पुँजी निमार्णका लागि योगदान गर्ने भएकोले पनि नेपाली अर्थतन्त्रले वैदेशिक रोजगारीबाट दीर्घकालिन लाभ लिन नसक्ने सुनिश्चित छ ।

समकालिन समयमा नेपालमा विदेशी मुद्राको सञ्चितीमा आएको कमीका कारणले देखिएका वितिय संकटहरुलाई आधार बनाएर देशको आर्थिक अवस्था नाजुक अवस्थामा रहेको कुरालाई अर्थतन्त्रका विज्ञहरुले बताई रहेको पाईन्छ । यस्ता गलत अफवाह र सतही विश्लेशण तथा व्याख्याहरुको कारणले गर्दा आम जनमानसमा नैरासयता र ,दिग्दारीपन, उत्पन्न भई सम्रग राज्य प्रति नै निरासाको वातावरण सिर्जना भएको छ।

अर्थतन्त्रका जानकारहरुले आफ्नो राजनीतिक दर्शनका आधारमा वर्तमान समयको आर्थिक संकटलाई व्याख्या गरेका छैन । उनिहरुले सरकार र सम्बन्धित निकायलाई सुधारका प्रभावकारी उपायहरुको बारेमा जानकारी प्रदान गरिरहेका छन । यद्धपी सरकारले सुधारका कार्यहरु तर्फ भन्दा थप विवादित हुने विषयमा आफुलाई समाहित गरेर आर्थिक रुपमा असफताको स्पष्ट संकेत गरेको छ । जसको ज्वलन्त उदाहरणका रुपमा स्वायत मौद्रिक संस्थाका प्रमुखको निलम्बनलाई लिन सकिन्छ । वर्तमान समयमा देखिएको आर्थिक संकट विशेष गरि घरेलु अर्थतन्त्रमा बैदेशिक मुद्रा सञ्चितीको कमीका कारणले सिर्जना भएको हो ।

कोभिड महामारीपछि आर्थिक पुनरुत्थानसँगै बढेको उच्च आयातलाई नियन्त्रण गर्न सरकारले चालु आर्थिक वर्षको मंसिरदेखि नै प्रयास गरिरहेको छ । अर्थ मन्त्रालयका मासिक बुलेटिनहरुका अनुसार सरकारले आयात नियन्त्रणको पहिलो चरणमा सरकारले २० हार्मोनिक कोडअन्तर्गतका वस्तुहरूको आयातमा नगद मार्जिनको व्यवस्था गरेको छ । दोस्रो चरणमा कुल ४७ वस्तुको आयातमा नगद मार्जिन राखेर थप कडाइ गरेको छ । पछिल्लो समय विलासी तथा कम आवश्यकताका वस्तुहरूको आयातका लागि एलसी केही समयका लागि बैंकर्स संघले रोकेको छ । यसबाट अघिल्ला महिनाहरूमा ६१ प्रतिशतसम्मले बढेको आयात बिस्तारै सुधार हुँदै चैतमा ३८ प्रतिशतमा पुगेको छ । त्यस्तै वैदेशिक मुद्रा प्रवाहमा कमी ल्याउन क्रिप्टोकरेन्सी, हाइपर फन्ड, हुन्डी, डिजिटल नेटवर्किङ, अनलाइन जुवालगायतमा गैरकानुनी रूपमा रकम बाहिरिएको आशंका गरी सरकारले कडाइ गरेको छ । यसको प्रभाव पनि देखिन थालेको छ ।

चालु आर्थिक वर्षका प्रथम ९ महिना वैदेशिक सहायता तथा लगानीका क्षेत्रमा सन्तोषजनक अवस्था रहेको पाईन्छ । यस अवधिमा विभिन्न द्विपक्षीय एवं बहुपक्षीय ऋण तथा अनुदान सहायताको प्रतिबद्धता रु. २ खर्ब २४ अर्ब बराबरको छ । प्रत्यक्ष वैदेशिक लगानीतर्फ चालु आर्थिक वर्षका प्रथम ८ महिनामा करिब ३४ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको छ । जसले नेपाली अर्थतन्त्र बिस्तारै सुधारोन्मुख गतिमा सञ्चालित भएको बुझ्न सकिन्छ ।

कोभिड १९ र यसका बिभिन्न लहरहरुबाट अत्यधिक प्रभावित बनेको पर्यटन व्यवसायले विस्तारै लय समाति रहेको कारणले गर्दा पनि नेपाली अर्थतन्त्र थप तनावपूर्ण अवस्थामा पुग्ने सम्भावना कम रहेको छ । यो क्षेत्र चलायमान हुने वितिकै वैदेशिक मुद्राको सञ्चितीमा पनि सुधार आउने गर्दछ । यद्यपी नेपाली अर्थतन्त्रलाई बलियो बनाउनका लागि स्वाधिन अर्थनीतिका माध्यबाट राष्टिय पुँजीको विकास गरि नेपालीहरुलाई श्रमसँग जोड्नु नै पर्दछ । नेपाली अर्थतन्त्रको हालको समस्याका लागि विशेषगरि कोभिड महामारीपछि आर्थिक पुनरुत्थानको समयमा देखिएको समष्टिगत आयात मागमा आएको वृद्धि तथा देशको मौद्रिक गतिविधिको नियामक निकाय र सरकार बीचको असमझदारी नै जिम्मेवार रहेको छ ।

विगतमा आर्थिक नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा उदासीनताले अर्थतन्त्रमा क्रमिक रूपमा संरचनागत समस्या निम्त्याएको छ । उदाहरणका लागि, कृषि उपजको आयात आर्थिक वर्ष २०७८/७९ का प्रथम ८ महिनामै कुल आयातको २०.६२ प्रतिशत भइसकेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कृषिजन्य वस्तुको आयात करिब रु.३ खर्ब २५ अर्ब रुपैयाँ बराबरको थियो, जुन मुलुकको कुल व्यापारको २१ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ र २०७५/७६ मा यो आयात कुल व्यापारको क्रमशः २ खर्ब ४३ अर्ब र २ खर्ब २२ अर्ब थियो ।

विगतमा प्राप्त मात्रामा गृर्हकार्य नगरीकन विश्व व्यापार संग्ठनको सदस्यता लिई आर्थिक उदारीकरण र निजीकरणलाई अभ्यासमा लगेको कारणले वर्तमान समयमा नेपालको वैदेशिक व्यापारको अवस्था प्रतिकुल तवरले सञ्चालनमा रहेको छ । नेपाली अर्थतन्त्र वर्तमान समयमा उपभोत्ता अर्थतन्त्रमा रुपान्तरित भएको छ । स्वदेशमा उत्पादन सम्भव भएका वस्तु तथा सेवाहरु समेत उत्तरआधुनिकताका नाममा विदेशबाट आयात गर्ने सस्कृतीको विकास भएको छ । जसले नेपाली अर्थतन्त्रलाई थप सकसपूर्ण बनाउन सहयोग गरेको छ ।

नेपाली अर्थतन्त्रमा व्यापारघाटा उच्च बनाई विदेशी मुद्राको सञ्चितिमा दबाब सिर्जना गर्ने अर्को महत्वपूर्ण कारक पेट्रोलियम पदार्थको आयात हो । चालु आर्थिक वर्षका प्रथम ९ महिनामै रु १ खर्ब ७३ अर्ब रुपैयाँ बराबर पुगिसकेको छ । जबकि आर्थिक वर्ष २०७७/७८ भरि रु.१ खर्ब ४९ अर्ब रुपैयाँको मात्र आयात भएको थियो भने २०७६/७७ र २०७५/७६ मा क्रमशः रु.१ खर्ब ३३ अर्ब र रु.१ खर्ब ८० अर्ब रुपैयाँको  आयात भएको छ । यसलाई न्यूनीकरण गर्ने भरपर्दो उपाय भनेको विद्युतीय सवारीको प्रयोग भएकोले सरकारले यसका लागी आवश्यक सबै कानुनी प्रक्रिया पुरा गरि निजी , सहकारी क्षेत्रलाई आर्कषित गर्न सक्नु पर्दछ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको श्रम स्वीकृतिमा वृद्धि देखिएपनि रेमिट्यान्समा अपेक्षित सुधार आएको छैन । यसका कारणहरु नेपालीहरुले आफ्नो आम्दानीलाई अतिरिक्त पैसाँको लोभमा हुन्डी एवम् क्रिप्टोकरेन्सीजस्ता भर्चूअल मुद्रा तथा डिजिटल नेटवर्किङ र अनलाइन जुवा प्रकृतिका अवैध कारोबार मा विदेशी मुद्राको प्रयोग गर्नु पनि हो । नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई कानुनी माध्यबाट पैसा स्वदेशमा पठाउनका लागि आवश्यक सबै व्यवहारिक तथा नीतिगत व्यवस्थापन गर्न नसक्दा पनि हामीलाई वैदेशिक विनिमयको संकट परेको हो ।

यसैगरि वर्तमान समयमा अत्यधिक मात्रामा खाद्य वस्तुको मुल्यमा भएको वृद्धि पनि नेपाली अर्थतन्त्रको प्रमुख चुनौती हो । बजारमा सबै प्रकारका वस्तुको मूल्य ज्यामितीय आकारमा बढिरहेको छ भने उपभोत्ताको क्रयशक्ति दिन प्रतिदिन कम्जोर बन्दै गएको छ । यस किसिमको तनावपूर्ण अवस्था वर्तमान समयमा स्थानीय तहको निर्वाचनमा गरिएको खर्च पुरा गर्नका लागि गरिने अदृश्य आर्थिक गतिविधि र सौदाबाजीले थप जटिल बन्न पुग्नेछ ।

देशको अर्थतन्त्रमा सकारात्मक सुधार आउनु भनेको समग्रमा पूँजी निर्माणको कार्य अगाडि बढेर आर्थिक विकासका लागी चाहिने पूँजीको मागमा समस्या नहुनु हो । पछिल्लो एक दशकको समयावधिमा नेपालीहरुको आर्थिक चेतनाको स्तर बढेको कुरालाई विश्व बैंक , अन्तराष्टिय मुद्रा कोष तथा विकास साझेदार संघ संस्थाहरुले समेत स्वीकार गरिसकेका छन् । जनगणना २०७८ को प्रारम्भिक नतिजाका अनुसार नेपालको कुल जनसंख्यामा ५५ प्रतिशत भन्दा धेरै प्रतिशत जनसंख्या सक्रिय जनसंख्या रहेको बताएको छ । देशको आर्थिक विकासको पूर्वाधार विस्तारको पहिलो शर्त आर्थिक चेतना सहितको अधिक जनशक्ति हो । जुन वर्तमान समयमा नेपालले प्राप्त गरेको छ यसलाई प्रभावकारी व्यवस्थापन गरि उत्पादनका कार्यमा सहभागी गराउन सकेमा नेपाली अर्थतन्त्रका सबै प्रकारका सकस समाधान गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली ! पौडी खेल्ने क्रममा दुई भारतीय नागरिकको मृत्यु तत्कालीन नेकपाका बहुमत सदस्यको भेटवार्ता, के भयो कुराकानी ? सरसफाइका लागि कठोर नीति ल्याउँदै तुलसीपुर चट्याङ लागेर ३ बाख्रा र एक भैंसी मरे, एक महिला घाइते जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु फूलहरूलाई के हिउँद, के बर्खा (फोटोफिचर) बुटवल मण्डपको नाम फेर्ने उपमहानगरको निर्णयप्रति व्यवसायिक संघ-संस्थाहरुको असहमति, फिर्ता लिन माग तुलसीपुरका पानी मुहान क्षेत्रमा चुनढुगा उत्खननको तयारी, खानेपानी संस्थाको बिरोध एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल तिलोत्तमालाई युवामैत्री स्थानीय शासन घोषणा गर्न प्रतिबद्धता छोरी भएर जन्मिनु विडम्बना हो ! अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज हस्ताक्षर किर्ते गरी छ्यालिस लाख रुपियाँ अपचलन गर्ने कर्मचारी पक्राउ पन्ध्र प्रतिशत दलित बालबालिका विद्यालयको पहुँच बाहिर पत्रकार पन्थीको ‘अन्ट्रान्सलेटेबल’ विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा विपद्बाट हुने क्षति न्यूनिकरण गर देशको आर्थिक अवस्था गम्भीर संकटमा : प्रचण्ड सेयर बजारमा हरियाली बुटवलमा साइन्स-म्याथ ओलम्पियाड, कान्ति माविका शिशिर प्रथम