ताजा अपडेट »

अमृता मृत्यु प्रकरण : गृहमन्त्रीकै नगरमा दियो बालेर न्याय खोज्दै

विहीबार, २९ बैशाख २०७९, ०९ : १२
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा–२ जानकीनगर स्थित सडकमा हरेक दिन दियो बल्न थालेको करिब एक महिना हुन लाग्यो । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तरगत जानकीनगरमा हरेक साँझ करिब १ घण्टा दियो बल्ने गर्दछ । गत चैत्र ३० गते विष सेवनबाट मृत्यु भएकी अमृता खत्री टण्डनको न्यायका लागि भन्दै उनका आफन्तले दियो बाल्ने गरेका हुन् ।

मृत्यु भएको महिना दिन बितिसक्दा पनि अमृताको शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा लम्पसार परिरहेको छ । न्यायको आन्दोलन जारी राख्ने बताउँदै अमृताका आफन्तले दिनभरको चर्को घामले रापिएको सडकमा उनै अमृताको आत्मशान्ति र न्यायको कामना गर्दै दियो बाल्ने काम नियमित भएको छ । उनीहरुले हरेक दिन दियो बाल्ने सडकमै ठूला–ठूला नेता मात्र होइन मुलुककै गृहमन्त्री बालकृष्ण खाँण समेत झण्डावाल गाडीमा हुइँकिने गर्दछन् । गृहमन्त्री खाँणकै गृनगरमा घटेको घटना महिना दिनसम्म पनि सत्यतथ्य पत्ता लाग्न नसक्नु दुर्भाग्यपूर्ण भएको अमृताका आफन्तले गुनासो गर्ने गरेका छन् ।

अमृताका दाजु पुष्प खत्री आफ्नो कामकाज छाडेर प्रहरी प्रशासन र अद्दाअदालत धाउन मै व्यस्थ हुने गरेका छन् । बहिनीको मृत्युले पोलेको छातीभन्दा दिनभर घामले तातेको सडक उनलाई सितल लाग्ने गर्दछ । दिनभरको दौडधुपपछि फेरी हरेक साझ उनी दियो लिएर उही सडकमा पुग्ने गर्दछन् जहाँ झण्डावाल गाडी १०० किलोमिटर प्रतिघण्टा बढीको गतीमा हुँकिने गर्दछ ।

अमृताको आत्महत्या कि, हत्या भन्ने विषयमा बुधबार रुपन्देही जल्ला अदालतमा थुनछेकको बहस भएको उनका दाजु पुष्पले जनकारी दिए । अदालतमा बहस चलिरहँदा अमृतको पोष्टमार्टम रिपोर्ट, घटनामा भेटिएका सबुतहरुको फरेन्सी ल्याब रिपोर्ट हालसम्म पनि नआउँदा शंका थप बढ्दै गएको उनले बताए । घटनालाई राज्यशक्तिको जोडबलमै दबाउन खोज्नुका साथै बहिनीले न्याय नपाउने हो कि भन्ने शंका बढ्दै गएको अमृताका दाजु पुष्पले गुनासो गरे । सिँगो प्रहरी प्रशासनको जिम्मा लिएर मुलुको सुरक्षा गर्ने गृहमन्त्रीकै नगरका बासिन्दा उनलाई अचेल प्रशासन र सुरक्षा व्यवस्थाप्रति आशंका पैदान हुने गरेको छ । न्यायप्रतिको भरोसा टुड्दै गएको छ ।

मृतक २९ वर्षीया अमृताको पोष्टमार्टम भएपनि शव बुझेर दाहसंस्कार भने भएको छैन । चैत्र ३० गते रहस्यमय मृत्यु भएकी अमृता सोही दिन साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी थिइन । तर, सोही साँझ १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको परिवार तथा अस्पताल श्रोतले दिएको जानकारीले उनका माइती पक्षलाई छाँगाबाट खसेजस्तै बनायो । अमृताले विष सेवन गरेर मृत्यु भएको परिवारले बताए पनि माइती पक्षले भने उनको योजनाबद्ध रुपमा हत्या गरिएको दावी गर्दै आएको छ । सोही आरोपमा अमृताका श्रीमान् र सासूससुरालाई प्रहरीले पक्राउ गरेर अदालती कारबाही अगाडी बढेकोमा सासु र ससुरालाई धराै‌टीमा छाड्ने काम भएकाे अमृताका दाजु पुष्पले बताए ।

गृहमन्त्रीको काम र कर्तव्य देशभर शान्ति सुरक्षा कायम गर्नु हो तर, आफ्नै नगरमा निरन्तर चेलीको शंकास्पद मृत्यु हुँदा पनि उचित छानविन नभएको,न्यायको अनुभूति नभएको नगरबासीको गुनासो छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।