ताजा अपडेट »

तिलोत्तमा चक्रपथमा नेताको दोहोरो चरित्र, भताभुङ्ग पारिएको सडकले जनतालाई सास्ती

विहीबार, २२ बैशाख २०७९, १२ : ३१
12 Shares

बुटवल । तिलोत्तमामा निर्माणाधिन चक्रपथमा नेताहरुको दोहोरो चरित्रले स्थानीय जनता तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ । एउटै योजनालाई राजनीतिक स्वार्थ अनुकुल बनाउँन २ पटकसम्म शिलान्यास गर्नुका साथै भएको सडकलाई समेत भताभुङ्ग पारेर छाडिएको छ । चक्रपथको योगीकुटीलाई जिरो किलो (सूरु विन्दु) मानेर काम सुरु गरिएको ठाउँमा भताभुङ्ग पारेर अलपत्र छाड्दा स्थानीय तथा उक्त सडकहुँदै यात्रा गर्ने यात्रुले सास्ती खेप्नु परेको छ ।

चक्रपथको योगीकुटीलाई जिरो किलो (सूरु बिन्दु) मानेर २०७३ साल असोज ८ गते तत्कालीन रक्षामन्त्रीको हैसियतमा बालकृष्ण खाँणले शिलान्यास गरेका थिए । पहिलो पटक शिलान्यास गरिएको ठाउँबाट चक्रपथ निर्माण सुरु भए पनि उक्त ठाउँको कामलाई ठप्प पारेर पुनः अर्को ठाउँमा शिलान्यास गरीएको थियो । जस अरुले पाउन सक्ने डरले हाल गृहमन्त्री बालकृष्ण खाँण तथा उनका भाई काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँणको जोड बलमा चक्रपथको अर्को ठाउँबाट पुन शिलान्यास गरी काम अघि बढाइएको आरोप लागेको छ । अन्यत्रैबाट काम गर्ने भएपछि भएको सडकलाई पनि भताभुङ्ग पारेर छाड्दा सास्ती खेप्नु परेको त्यहाँका स्थानीयले गुनासो गर्ने गरेका छन् ।

६ वर्षअघि शिलान्यास गरेको चक्रपथ निर्माणमा चासो नदिएका नेता बालकृष्ण खाँणले गत फागुन २१ मा उहीँ चक्रपथलाई लखनचोकमा दोस्रो पटक शिलान्यास गरेका थिए । पहिलो पटक शिलान्यास गरेको स्थानमा शिलालेख राख्ने बाहेक यो अवधिमा खाँणको तर्फबाट चक्रपथको विकास र विस्तारमा कुनै काम भएन । स्रोतका अनुसार योगिकुटीबाट निर्माण थालिएको सडक अघि बढाउँदा त्यसको जस एमालेलाई जाने भएपछि काँग्रेस जिल्ला सभापति समेत रहेका नेता रामकृष्ण खाँणको योजनामा चक्रपथकैं नाममा लखनचोकमा पुनः शिलान्यास गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका जनप्रतिधिहिरुको पहलमा संघीय र प्रदेश सरकारको बजेटबाट योगिकुटीबाट चक्रपथ निर्माणको काम अघि बढेको थियो । अघिल्लो वर्ष योगिकुटीबाट गणेशनगरसम्मको सडकको बेस बनाउने काम भएको थियो । यो काम सकिँदै गर्दा संघीय र प्रदेश सरकार फेरिए । पहिलो पटक शिलान्यास गरेका नेता खाँण सत्तामा पुगे । तर, उनी सत्तामा पुगेपछि योगिकुटी चोकदेखि पूर्वतिरको चक्रपथ अघि बढाउन चासो दिएनन् ।

गृहमन्त्री खाँणले बजेट थप गरेको भन्दै ओमसतिया गाउँपालिकाको लखनथापा चोकमा पुनः चक्रपथको शिलन्यास गरेका हुन् । जबकी योगिकुटीदेखि गणेशनगरसम्मको बाटो कालोपत्रे गर्ने काम बजेट अभावमा रोकिएको छ । मन्त्री खाँणले २१ फागुनमा चक्रपथ पुनः शिलन्यास गर्दा उनको चर्को विरोधभएको थियो । एकातिरको बाटो अलपत्र पारेर अर्कोतिर शिलन्यास गरेकोमा विरोध हुनु अस्वभाविक पनि थिएन । नेता खाँण आगामी प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ मा निर्वाचन लड्ने चर्चासँगै उनले ओमसतियामा बाटो पुनः शिलन्यास गरेका हुन् ।

डिभिजन सडक कार्यालयका अनुसार दुई लेन र दायाँ–बायाँनाली सहितको सडक निर्माणका लागि काष्ठमण्डप तिरुपती जेभि सुनवलले ठेक्का लिएको छ । करिब १ अर्ब ८० करोड लागतमा निर्माण हुने करीब ४९ किलोमिटर लम्वाईको उक्त सडक निर्माणका लागि यस वर्ष ६ करोड रुपैयाँ विनियोजन भएको थियो । सोही बजेटको सडक बनाउन चक्रपथ पुनः शिलान्यास गरिएको हो । गएको माघ २७ गते ठेक्का सम्झौता भएको उक्त सडकको ८ सय मिटर मात्रै निर्माण गर्ने गरी ३ करोड ५७ लाख हाराहारीको रकम यसबर्ष खर्च हुने छ । बाँकी रहेको रकमबाट कामगर्ने गरी पुनः ठेक्का प्रक्रिया अगाडी बढेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।