ताजा अपडेट »

तिलोत्तमामा दलहरुको चुनाबी अभियान : एमाले ५ वर्षको गुणगानमा, काँग्रेस-माओवादी आलोचनामा

शुक्रबार, १६ बैशाख २०७९, १५ : ४६
4 Shares

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले चुनावी अभियान तथा प्रचार प्रसारलाई तीब्रता दिएका छन् । गृहमन्त्री बालकृष्ण खाँणको गृह नगर रुपन्देहीको तिलोत्तमाले यसपटकको निर्वाचनमा सबैको ध्यान केन्द्रित गराएको छ ।

यसअघिको स्थानीय तह निर्वाचनमा प्रमुख उपप्रमुखसहित अधिकांश वडामा एमालेले जित निकालेको थियो । उक्त मत परिणामलाई उल्ट्याउन लागिपरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका गठबन्धन दल र नेकपा एमालेले आ–आफ्नै ढँगमा चुनावी अभियानलाई तीब्रता दिएका छन् । तिलोत्तमा नगरमा प्रमुख पदका लागि उम्मेदवार बनेका नेकपा एमालेको तर्फबाट मोहन चापागाईं र गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका रामकृष्ण खाँणनै मूख्य प्रत्यासीका रुपमा देखिएका छन् ।

एमालेका उम्मेदवार चापागाईं लामो समय सञ्चार क्षेत्रमा आवद्ध भई स्थानीय तथा राष्ट्रिय स्तरमा समेत मिडिया फोरमहरुको नेतृत्व गरिसकेका पात्र हुन भने रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाई हुन् । उनले लामो समय रुपन्देहीमा रहेर राजिनीतिक जिवन बिताएका छन् । उनी नेपाली काँग्रेस रुपन्देही सभापति समेत हुन् ।

चुनावी अभियानका क्रममा एमालेका तर्फबाट प्रमुख पदको उम्मेदवार बनेका चापागाईंले पछिल्लो ५ वर्षको अवधिमा स्थानीय सरकारले गरेका कामहरुको बारेमा जानकारी गराउन मै व्यस्त देखिन्छन् । ०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित बासुदेव घिमिरे नेतृत्वको स्थानीय सरकारले गरेका राम्रा कामहरुको फेहरिस्त सुनाउँदै उनका दिनहरु बित्ने गरेका छन् । अधिकांश चुनावी भाषणहरुमा तिलोत्तमा सरकारले पछिल्लो ५ वर्षमा गरेका सडक निर्माण, कृषि अनुदानका कार्यक्रम, स्वास्थ्य संरचनाहरुको निर्माण, सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधारका कार्यक्रम, युवा तथा खेलकूदका क्षेत्रमा भएका गतिविधि तथा भौतिक संरचनाहरुको निर्माण बारे जानकारी गराउन मै केन्द्रित देखिन्छ ।

यसैगरी गठबन्धनबाट प्रमुख पदको उम्मेदवार काँग्रेसका खाँणले पछिल्लो ५ वर्षको अवधिमा स्थानीय सरकारले गरेका कामहरुमा खोट देखाउनमै आफ्ना भाषणको समयलाई खर्चिने गरेका छन् । स्थानीय सकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै उनले तिलोत्तमामा आयोजना गरिएको लगानी सम्मेलन, कृषि अनुदानका कार्यक्रम, सडक निर्माण लगायतका कामहरुमा एमाले कार्यकर्ताहरुलाई मात्रै फाइदा हुने काम भएको दाबी गर्छन् ।

शुक्रबार तिलोत्तमा-५ मणिग्राम स्थित मणिग्राम पार्टी प्यालेसमा गठबन्धन दलहरुको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सुरु हुनुपूर्व सञ्चारकर्मीहरुसँगको कुराकानीमा गठबन्धन दलको तर्फबा नगर प्रमुखका उम्मेदवार तथा काँग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण तिलोत्तमाको स्थानीय सरकारमाथि खनिए । नगर प्रमुख जितेको खण्डमा आफूले पाउनु पर्ने सम्पूर्ण तलब र भत्ता नलिएर नगरको बिकासमा खर्चिने प्रतिवद्धता गरेका खाँणले नगरलाई भ्रष्टाचारमूक्त नगर बनाउने घोषणा गरे ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा योजना कम आलोचना बढी गरेका उनले तिलोत्तमा सरकारले कृषि अनुदान तथा कार्यक्रमका नाममा आफ्ना कार्यकर्ताहरुलाई मात्रै वितरण गर्ने गरेको आरोप लगाए । यसैगरी तिलोत्तमामा आयोजना गरिएको लगानी सम्मेलनको बारेमा समेत उनले टिप्पणी गर्न भ्याए । उक्त सम्मेलनबाट कुनै पनि फाइदा नभएको तथा खर्च मात्रै बढाउने काम भएको उनले टिप्पणी गरे । ‘लगानी सम्मेलनको नाममा एमालेका कार्यकर्ताहरुलाई प्लेनमा काठमाण्डौंसम्म पुर्याउने र ल्याउने मै बित्यो ।’–उनले अघि भने, महँगा रेष्टुरेन्टमा कार्यकर्ता बसाल्ने र भात खुवाउनेभन्दा अरु केही भएन ।

उम्मेदवार खाँणले तिलोत्तमा सरकारले विभिन्न हाउजिङ कम्पनीको नाममा सडक मर्मत गर्ने काम भएको तथा एमाले कार्यकर्ताहरुलाई मात्रै लक्षित गरी सडक निर्माण हुने गरेको आरोप लगाए । ५ वर्षको अवधिमा राम्राभन्दा बढी नराम्रा काम भएको बताउँदै उनले नदिजन्य पदार्थ तथा गिट्टी बालुवाको अनियमित रुपमा निकासी, जथाभावी सार्वजनिक जग्गा वितरण लगाएतका काम भएको भन्दै आलोचना गरे ।

गठबन्धन दलहरुको कार्यक्रम आयोजिना गरिएको मणिग्राम पार्टी प्यालेसभन्दा सडक पारी पूर्वतर्फ एक होटलमा सोही समय नेकपा एमालेको कार्यक्रम चलिरहेको थियो । तिलोत्तमा-५ मणिग्राममै रहेको तिलोत्तमा पार्टी प्यालेसमा एकै समय सञ्चालन भएको एमालेको चुनावी कार्यक्रममा नेताहरु ५ वर्षको अवधिमा भए गरेका गतिविधिहरुको प्रशंसा गर्दै थिए । ‘स्थानीय सरकारमा भएका सिमित श्रोत र साधनका बाबजुद पनि तिलोत्तमाका सडकलाई हरियाली र झिलिमिली बनाउनु, सडक लाइट जडान गरी ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त दाख्नु लगायतका साना तर जनताले महसुस गर्न सक्ने र ठूलो परिवर्तन ल्याउन सक्ने कामहरु तिलोत्तमामा भएका छन् ।’-एमालेबाट नगर प्रमुखका उम्मेदवार चापागाईंले भने ।

मुलुकमै पहिलो पटक सामुदायिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयहरुमा यातायात सुविधाका लागि अनुदानमा सवारी साधन वितरण, कोरोना महामारीको अवधिमा हेल्थ डेस्क, क्वारेन्टिन निर्माण, आइसोलेशन सञ्चालन गरी जनताको स्वास्थ्य सुरक्षामा तदारुकता लगायतका कामले जनताको मत तान्न सफल भएको उनले बताए । पूर्वाधारहरुको निर्माण तथा कृषिको क्षेत्रमा अनुदानको व्यवस्थासँगै आत्मनिर्भर उन्मुख भन्नु पछिल्लो ५ वर्षमा स्थानीय सरकारले गरेका उपलब्धिका रुपमा उनले उल्लेख गरे । पहिलो पटक निर्वाचित स्थानीय सरकारले सुरु गरेका विभिन्न बिकास निर्माणका योजनाहरुलाई पूरा गर्दै तिलोत्तमालाई समृद्ध बनाउनका लागि अन्य नयाँ योजनाहरु पनि ल्याइएको नगरप्रमुखका उम्मेदवार चापागाईले बताए ।

तिलोत्तमामा नगर उपप्रमुखका लागि एमालेबाट जागेश्वरदेवि चौधरीले उम्मेदवारी दिएकी छन् भने गठबन्धन दलको तर्फबाट नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डे रहेका छन् । तिलोत्तमामा यी दुई पक्षहरु बीचनै कडा प्रतिस्पर्धा हुने देखिएको छ । गृहमन्त्री खाँण्को गृह नगर भएका कारण पनि काँग्रेस लगायत गठबन्धन दललाई आफ्नो साख स्थापित गर्नका लागि जित्नै पर्ने दबाबमा नेताहरु रहेका छन् । यसैगरी पहिलो स्थानीय तह निर्वाचनमा नगरप्रमुख, उपप्रमुखसहित अधिकांश वडा अध्यक्षमा जित दर्ता गरेको नेकपा एमालेले पनि आफ्नो साखलाई कायम राख्नेगरी तयारीमा जुटेको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।