ताजा अपडेट »

‘पहिलो कार्यकालका काम देखेर विपक्षी आत्तिएका छन्, गठबन्धनले रोक्न सक्दैन’

विहीबार, १५ बैशाख २०७९, १९ : १२
6 Shares

नेकपा एमालेबाट सैनामैना नगरपालिकाको मेयरमा चित्रबहादुर कार्की दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । ५ वर्षे कार्यकालमा सैनामैनामा उनले गरेका काम र पुनः उम्मेद्वारी किन ?, के कस्ता एजेण्डा लिएर जनताको घरदैलो गरेका छन्? लगाएत निर्वाचन केन्द्रित रहेर ग्लोबल आवाजका लागि बसन्त आचार्यले चित्रबहादुर कार्कीसँग गरेको कुराकानीः

दास्रो कार्यकालका लागि चुनावी मैदानमा हुनुहुन्छ । पुनः तपाइको उम्मेद्वारी किन?
–पहिलो कार्यकालमा मैले नगरपालिकाको भू–उपयोग योजना,आवधिक योजनादेखि नगर पालिकालाई आवश्यक पर्ने सम्पूर्ण गुरुयोजना निर्माण गरे । नगरपालिकाको संस्थागत र संरचनागत सुदृढिकरणको काम पहिलो चरणमा सम्पन्न गरेँ । नगरलाई समृद्ध नगर बनाउन समृद्धि उन्मूख ठूला विकास पूर्वाधार, आयोजनाहरु जुन बहुवर्षीय प्रकृतिका छन् ।

त्यस्ता आयोजनाहरु केही निर्माण सुरु भएका छन् । केही निर्माणको काम सुरु गर्न बाँकी छन् भने केही निर्माणधीन अवस्थामा छन् । १÷२ वर्ष निर्वाचित भएको नयाँ जनप्रतिनिधिले बुझ्नै लाग्छ । ती अधुरा कामहरु सम्पन्न गर्नको लागि मेरो नेतृत्वमा पार्टीले नयाँ र पुराना सबै जनप्रतिनिधि मिसाएर टिम अगाडि सारेको छ । धेरै जसो नयाँ नै हुनु हुन्छ । यो नगरवासीहरुको चाहाना पनि यही हो । पार्टीका कार्यकर्ताहरुकोे चाहाना पनि यही हो । नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न र व्यस्थित र बैज्ञानिक नगरपालिकाको रुपमा अगाडि बढाउनका लागि दोस्रो कार्यकालका लागि मेरो उम्मेद्वारी हो ।

पहिलो कार्यकालमा जनतासँग गरेको प्रतिबद्धता के कति पूरा गर्नुभयो ? अहिले के कस्ता मुख्य एजेण्डा छन् ?
– पहिलो कार्यकालमा जनतासँग गरेका वाचाहरु जो नगरको स्रोत साधनले गर्न सकिन्छ र सामथ्र्यमा थिए, ती सबै मैले पूरा गरेको छु । तीन तहको सरकार भएको संघीय शासन प्रणाली भएकाले संघीय तहबाट सम्पादन हुनु पर्ने कामहरु मध्यको भूमि सम्बन्धी समस्या समाधान गर्न बनेको आयोग विघटन भएर अहिले राष्ट्रिय भूमि आयोग बनेको छ । यो विघटन र पुर्नगठनको प्रक्रियाले विलम्ब हुँदा अव्यस्थित भूमिहिन सुकुम्बासीलाई जग्गा धनि प्रमाणपत्र दिन सकेनन् । समयमै नाप जाँच गर्ने अनुमति भूमि आयोगले दिएन।

यसकारण त्यो कामको ७० प्रतिशत पूरा भएको छ । बाँकी ३० प्रतिशत छ । त्यस बाहेक अरु सबै प्रतिवद्धताहरु पूरा गरेको छुँ। प्रतिवद्धतामा उल्लेख गरेका भन्दा धेरै नयाँ काम पनि मेरो पहिलो कार्यकालमा भएका छन् । अहिले मेरो प्रमुख एजेण्डा मानविय क्षेत्रको विकासलाई संघन ढङ्गले अघि बढाउने, नगरपालिकालाई बालमैत्री, युवा मैत्री,अपाङ्गमैत्री नगरपालिका बनाउने, नगरमा दिगो शान्ति स्थापनाका लागि सामाजिक न्याय स्थापना गर्ने, समृद्धि उन्मूख ५०० विघाको ल्याण्ड पोलिङ योजना, बहुउद्धेश्यीय बाँध, संग्रालय निर्माण, बोलबम धाम मन्दिर निर्माण, सैलापत्री शक्ति पिठ निर्माण, राजापानी सिमसार क्षेत्रको संरक्षण जस्ता समृद्धिउन्मूख योजना र आयोनालाई स्रोत व्यवस्थापन गरि निर्माण सम्पन्न गर्ने र औद्योगिक गा्रममा कम्तिमा पनि ३ दर्जन भन्दा बढी उद्योगहरु निर्माण गरी सञ्चालन गर्ने । साथै कृषि क्षेत्रको यान्त्रिकरण र आधुनिकरण, प्राविधिक ज्ञान र बजार प्रवद्र्धन गर्ने र किसानहरुलाई विशेष संरक्षण गर्ने नीतिका साथ कृषि क्षेत्रबाट प्रशस्त उत्पादन गर्ने योजना रहेको छ । साथै युवामा अहिले देशमा केही छैन भनेर निराशा छ । यसबाट मुक्त गराउन आफ्नै नगरमा अवसरको सृजना गर्ने र आत्मनिर्भर नागरिक उत्पादन गर्ने मेरो उद्देश्य रहेको छ ।

यसपटक तपाइँको जीतका आधारहरु के–के हुन सक्छन?
– ५ वर्ष भित्र ५७ किलोमिटर चक्र पथ बनाएका छौँ । यस अवधीमै १० वटा मोटोरेवल पुलको निर्माण सम्पन्न गरेका छौँ । यो कार्यकालमा प्रशासनिक भवन लगाएतका शासकीय स्वरुपका संरचना निर्माण सम्पन्न गरेर आफ्नै कार्यालय सञ्चालन गर्ने अवस्थामा पुगेको छ । ३ वटा सामान्य हेल्थ पोष्ट भएको नगरमा प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र, ३ वटा ल्याबसहितको हेल्थ पोष्ट जस मध्ये २ वटामा डाक्टरको सुविधा, आधारभूत अस्पतालको निर्माण, सय वेडको ट्रमा सेन्टर निर्माणउन्मूख लगायतका काम सम्पन्न गरे । सामान्य हेल्थ पोष्ट भएको नगरलाई स्वास्थ्य क्षेत्रमा सवल बन्नेको छ । एक घर एक धारा वितरण गरेका छौँ । पाँच वर्षमा मैले सम्पादन गरेका काम छन् । यी नै मेरा अहिलेका जीतका आधारहरु हुन् ।

अहिलेका प्रत्यासी तथा प्रतिपक्षले डिपिआरमै ५ वर्ष बित्यो, चरम अनियमितता र भ्रष्टाचार भयो भन्दै खुलेयाम भनिरहेका छन् नि?
–कुनैपनि क्षेत्रको विकासमा कुनै पनि योजना निर्माण गर्दा त्यसको परिकल्पना गरिन्छ । त्यसपछि त्यसको डिटेल प्रस्तावनाहरु तयार गरिन्छ र त्यसको डिपिआर तयार गरिन्छ । अनि बल्ल निर्माण लगिन्छ । विकासका यी चरणहरु हुन् । ५ वर्षमा अरबौं अर्बका योजनाहरु परिकल्पना गरेर निर्माण सम्पन्न गर्न सम्भव छैन, पहिलो कुरा । दोस्रो २ वर्षसम्म कोरोना महामारीले काम ठप्प भयो ।

त्यसकारण यो ५ वर्षमा हामीले विपक्षीको कल्पना भन्दा पनि बाहिरको काम गरेका छौँ । यसबाट उहाँहरु अत्तालिनु भएको छ । एडिबीले सैनामैना नगरपालिकामा नेपालमा छनौट गरेको अत्याधुनिक विकासको लागि अनुदान सहयोग दिने १० मध्ये यो नगरपालिकालाई छनोट गरेर सबै डिपिआरहरु सबै एडिबीले लगेको छ । उहाँहरुले एनालाईश गरेर सबैमा ठेक्का निकाल्दै हुनु हुन्छ । यो सैनामैना नगरपालिकाको लागि धेरै नै गैरवको कुरा हो ।

सैनामैनाको विकासमा एडिबीको सहयोग कोसे ढुङ्गा सावित हुने छ । विपक्षले ५० औँ वर्षसम्म पछाउन नसक्ने गरी यहाँको बिकास निर्माणलाई अघि बढाएका छौँ । यसबाट उँहाहरु आतिनु भएको छ । मैले जति काम गरेको छुँ । ती परामर्शदातामार्फत अध्ययन गर्ने, ठेक्का बन्दोबस्त गर्ने, निर्माण सम्पन्न गर्ने, कार्य सम्पन्न गर्ने । यी सबै कामहरु सार्वजनिक खरिद ऐन, को परिधी भित्र रहेर पारदर्शी तरिकाले सम्पन्न भएका छन्।

सैनामैनामा अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या छन् । तपाइँको ५ वर्षे कार्यकालमा ती समाधान त भएनन् नि ?
– म कसरी असफल भए? नेपालमा सबै भन्दा धेरै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको काम सम्पादन भएको देश भरीमा यो एक मात्रै नगर हो । हामीले लगत संकलन गर्नेदेखि जग्गा नापजाँच गर्न तयारी अवस्थामा बसेका थियौँ । सैनामैनामा साढे १५ हजार भूमिहीन दलित, भूमिहीन सुकुमबासी अव्यवस्थित बसोबासी हुनु हुन्छ । आयोगले नाप जाँच गर्न विलम्ब गरेकाले काम रोकिएको हो ।

निर्वाचन पछिको १ वर्षमा जग्गा धनी प्रमाणपत्र वितरण गर्ने योजनाका साथ अघि बढ्छु । साढे ७ सय गाउँ ब्लक जग्गा धनी प्रमाणपत्र वितरण गरेका छौँ । जुन २०२७ सालमा नापी भएर पुर्जा दिन बाँकी रहेको थियो । थप ५ सयको पूर्जा तयार गरेर राखिएको छ । आचारसंहिताले गर्दा वितरण अहिले भएको छैन् । ०२७ सालदेखि रोकिएका काम पनि गर्न सफल भएँ। ४३ साल भन्दा पुराना विवाद पनि हामीले मिलाएका छौँ । स्थानीय तहको एकल निर्णयले मात्रै गर्न नसकिने भएकाले मात्रै रोकिएको हो । नत्र त्यो काम पनि सम्पन्न हुने थियो ।

अहिले माओवादी र कांग्रेसले चुनावी तालमेल गरेका छन् । उनीहरुको तालमेलले तपाइँलाई चूनौती होला नि? जनताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ?
–जनताको घर दैलोमा मैले हार्दिक स्वागत पाएको छु । उहाँहरु खुसी हुनुहुन्छ । तपाइँहरुलाई हामीले चाहेका छौँ । तपाइँहरु आउनु पर्छ । तपाइँलाई जिताउँछौँ भन्ने सकारात्मक प्रतिक्रियाहरु आएका छन् । केही मतदाताले सल्लाहा सुझाव पनि आएको छ । मरो उम्मेद्वारीले जनता उत्साहित भएको महशुस गरको छु । गठबन्धन हा्रमो लागि चूनौती त हुने नै भयो । तर, जीत सुनिश्तिताको लागि म ढुक्क छु । उहाँहरु भन्दा एमालेमा धेरै ठूलो मतदाता र समर्थन छ ।

तपाइँलाई पुनः टिकट दिएको भनेर पार्टीमा विवाद भयो । सो को विरोधमा नेता कार्यकर्ताले राजीनामा पनि दिए । नयाँलाई मौका दिएर तपाईले अभिभावत्वको भूमिका निर्वाह गरेको भए पनि त राम्रो हुने थियो होला नि?
–म पार्टीको सिपाही हो । पार्टीको आदेशलाई पालना गर्ने हो । पार्टीले सबै मूल्यांकन गरेर जनताको इच्छा, कार्यकर्ताको इच्छा, विपक्षी मतदाताहरुको सल्लाह सुझाव सबै कुरालाई सर्वे गरेर नै एउटा निष्कर्षमा पुगेर आफ्ना उम्मेद्वारहरु खण्डा गरेको छ । यसकारण यो पार्टीको सुविचारिक फौसला हो । आकांक्षीहरुका बीचमा त एक किसिमको प्रतिस्पर्धा भइरहन्छ । यो स्वभाविक प्रक्रिया हो ।

एमालेमा मात्रै होइन, सबैमा पार्टीमा यो प्रतिष्पर्धा हुन्छ । एमालेमा निर्णय नहुँदासम्म प्रतिष्पर्धा हुन्छ, छलफल हुन्छ । निर्णय भएपछि सबैले त्यो निर्णयलाई बोकेर हिड्ने हाम्रो परम्परा छ । जति हामी प्रतिष्पर्धीको रुपमा रहेका थियौँ । निर्णय भए पछि एकछिन असन्तुष्टि रहनु यसलाई स्वाभिक नै मान्छु । सबैले आफ्नो राजीनामा फिर्ता लिने, असन्तुष्टि फिर्ता लिने र पार्टींको निर्णयलाई बोकेर हिड्ने काम भइसकेको छ । अब पार्टीमा त्यस्तो कुनै समस्या छैन् ।

चुनावी मैदानमा होमिरहँदा सैनामैनाबासीलाई के भन्न चाहानु हुन्छ?
–सैनामैनाबासीहरुको एउटा ऐतिहासिक निर्णयले हामी ५ वर्षको कार्यकाल सम्पादन गरेका छौँ । हाम्रो मूल्यांकन नगरबासीहरुले गरिरहनु भएको छ । हामीले ५ वर्षको कार्य सम्पादन गर्दा सधै जनताको साथमा रहेर यो कार्यकाल हामी सम्पन्न गरेका छौँ । टोल विकास संस्थामार्फत सम्पर्क र सम्बन्धमा रहेका थियौँ । सबै काम पारदर्शी ढङ्गले गरेको हुनाले कामको राम्रो मूल्यांकन गर्नु हुने नै छ ।

आगामी दिनमा अहिले मतदाताले दिएका सल्लाह सुझावहरु र ५ वर्षसम्म प्राप्त गरेका मूल्यवान अनुभव छन् । यसकारण सैनामैना नगरपालिकालाई अब्बल नगरपालिका निर्माण गर्न र समृद्ध नगर बनाउन सबै नगरबासीसँग हातेमाले गरेर अघि बढ्न सफल र असल जनप्रतिनिधिको रुपमा विश्वास गरेर फेरि निर्वाचित गराउन अनुरोध गर्छु । र, पुनः सबैको साझा जनप्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता जनाउँछु।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।