ताजा अपडेट »

भोलिबाट एसईईः लुम्बिनीमा साढे ८६ हजार परीक्षार्थी, रुपन्देहीमा मात्रै १८ हजार बढी

विहीबार, ०८ बैशाख २०७९, १३ : ३६
6 Shares

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुनः विगतको जस्तै भोलिदेखि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षामा देशभरबाट पाँच लाख १४ हजार ९६७ परीक्षार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा वोर्डले जनाएको छ ।

कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ लाख ५७ हजार ९ सय २४ छ भने छात्रको संख्या २ लाख ५७ हजार ५३ रहेको छ । त्यस्तै, परीक्षामा प्राविधिक समूहमा ४२ विषय समावेश छन् भने प्राविधिक धारका विद्यार्थीको संख्या १४ हजार ५ सय ६४ छ । ग्रेडवृद्धि परीक्षामा ११ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुँदैछन् ।

यस्तै लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ परीक्षार्थी सहभागि हुने छन् । लुम्बिनी प्रदेशबाट परीक्षामा सहभागि हुने परीक्षार्थी मध्ये २ हजार ८६६ जना प्राविधिक धारका र २ जना परीक्षार्थी दृष्टिबिहिन रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए । लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा र सबै भन्दा कम परीक्षार्थी रुकूम पूर्वमा रहेको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक गैरेले बताए ।

यस्तै परीक्षा सञ्चालनका लागि ३ सय २७ केन्द्राध्यक्ष, ५ सय ७९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३४५ जना निरीक्षक, ८ सय ६७ जना सहायक निरीक्षक र १ हजार ७१३ जना कार्यलय सहयोगि परीक्षामा खटिने निर्देशक गैरेले बताए ।

कुन जिल्लामा कति परीक्षार्थी ?

लुम्बिनी प्रदेशमा सबै भन्दा धेरै परीक्षार्थी रहेको रुपन्देही जिल्लामा २ दृष्टिबिहीन सहित १८ हजार २५४ परीक्षार्थी एसईईमा सहभागि हुने छन् ।रुपन्देहीमा ५५ केन्द्राध्यक्ष, १२२ सहायक केन्द्राध्यक्ष, ९१७ जना निरीक्षक र १८५ जना सहायक निरीक्षक परीक्षामा खटिने शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले जानकारी दिए ।

यस्तै सबै भन्दा कम रुकूम पूर्वमा १ हजार १४१ परीक्षार्थी रहेका छन् भने त्यहाँ ६ कोन्द्राध्यक्ष, ६ सहायक केन्द्राध्यक्ष, ५७ निरीक्षक र ११ जना सहायक निरीक्षक परीक्षामा खटिने निर्देशनालयका निर्देशक गैरेले जनाकारी दिए ।बाँकेमा ९ हजार २८९ परीक्षार्थी परीक्षामा सहभागि हुँदा बर्दियबाट ८ हजार ५९१ परीक्षार्थी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागि हुने छन् । यस्तै दाङमा १३ हजार १५२, कपिलबस्तुमा ८ हजार ८३, रोल्पामा ४ हजारर ११७, प्यूठानमा ४ हजार ४२२, गुल्मीमा ४ हजार ८२३ जना परीक्षार्थी रहेका छन् ।

यता अर्घाखाँचीमा ३ हजार ५८५, नवलपरासीमा ६ हजार ३२६ र पाल्पामा ४ हजार ८४१ जना परीक्षार्थी माध्यमिक शिक्षा परीक्षाको परीक्षा दिने छन् । परीक्षाको सबै तयारी पुरा भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक मनोज कुमार गैरेले बताए ।‘परीक्षाको शतप्रतिशत तयारी पुरा भएको छन। सबै केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहायक निरीक्षक सम्बन्धीत केन्द्रमा पुगि सक्नु भएको छ । लुम्बिनी प्रदेशमा शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्ने छौँ ।’–उनले भने ।

परीक्षा वैशाख २० गते सकिने छ भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहे पनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको छ ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।