ताजा अपडेट »

प्रचण्ड बाहिरिएपछि गठबन्धन बैठक स्थगित, साँझ फेरि बस्ने

सोमबार, ०५ बैशाख २०७९, १३ : ४५
2 Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएका छन् । सोमबार बिहानदेखि बसेको गठबन्धन बैठकबाट प्रचण्ड बाहिरिएका हुन् । 

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार पत्रकार सम्मेलन सकेर बालुवाटारमा जारी गठबन्धनको बैठक फेरि प्रचण्ड सहभागी हुने छन् । 

‘अहिले गठबन्धनको बैठकबाट अध्यक्षज्यू बाहिरिनुभएको छ । उहाँ पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा सहभागी हुन गठबन्धन बैठकबाट बाहिरिनुभएको हो,’ मल्लले भने, ‘पत्रकार सम्मेलन सकिएपछि पुनः अध्यक्षज्यू गठबन्धन बैठकमा जानु हुन्छ ।’ 

गठबन्धन बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा भागबन्डा गरेर उम्मेदवार तय गर्ने विषयमा कुराकानी भइरहेको मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनकाे भनाइ छ ।

बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।