ताजा अपडेट »

बुटवल-नारायणगढ सडक विस्तार: गैँडाकोटबाट माटो ल्याइने

शुक्रबार, २९ कार्तिक २०७६, १४ : १८
18 Shares

कार्तिक २९,
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि आवश्यक पर्ने माटो गैँडाकोट नगरपालिका–१४ को भागरबाट ल्याइने भएको छ । रुख बिरुवा नभएको पहाडको डिस्को खनेर बाटो विस्तारमा प्रयोग गर्दै खेतीयोग्य जमीन बनाउने उद्देश्यले स्थानीयले माटो बिक्री गरेका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिए । सडक विस्तारका लागि ठेक्का पाएको चिनियाँ कम्पनीलाई निर्माण सामग्री उपलब्ध गराउने जिम्मा पाएको सुपा निर्माण कम्पनी प्रालीले माटो लगेबापत नगरपालिकालाई प्रतिघनमिटर रु १५ का दरले करसमेत तिर्ने पौडेलले बताए ।

माटो लैजाने विषयमा गैँडाकोटको भागरमा भएको छलफलका क्रममा नगर पौडेलले माटो लैजाँदा दिउँसोको समयमा लैजानुपर्ने, सडक बिगारेको अवस्थामा तत्काल मर्मत गर्नुपर्ने तथा अन्तिममा छ मिटरको कालोपत्र सडक निर्माण गरिदिनुपर्नेलगायतका विभिन्न सहमति भएको बताए । पूर्व–पश्चिम राजमार्गको गैँडाकोट नगरपालिका–१४ मा पर्ने अमरापुरी चोकबाट उत्तरतर्फको भागरको माटो स्थानीयले बिक्री गरेका हुन् । प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख भएबमोजिम मात्रै माटो खन्न पाउने गरी सम्झौता गरिएको गैँडाकोटका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए । माटो लैजाने पक्षले सम्झौताविपरीत काम गरेको अवस्थामा ठेक्का रद्द गराएर कारवाही गर्ने अधिकार नगरपालिकासँग भएको उनको भनाइ छ । सो स्थानको माटो नारायणगढ–बुटवल सडक खण्ड विस्तारका लागि खण्ड १ मा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।- रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।