ताजा अपडेट »

जय कोदो, जय गुन्द्रुक र ढिँडो !

शुक्रबार, २१ माघ २०७८, १६ : ०८
13 Shares

गुल्मी । पहाडको बसाई शहरमा भन्दा झन् आनन्ददायिक बन्न थाल्यो । भन्थे, बुढापाकाहरुले जाडोयामको चिसो फाल्ने भनेकै कोदो हो।’ नभन्दै साँच्ची नै रहेछ । झण्डै ८/९ दिन चिसोले गर्दा रुघा खोकी, ज्वरो र पखला समेतले थला पार्यो । बुढापाकाहरुको कथनलाई शिरोधार्य गर्ने ‘गृहमन्त्री’ श्रीमती ज्यूले बुझी हाल्नु भएछ । अनि त कोदो पिसाउन मिल तिर लाग्न भयो । गत केहि दिन यता बिहानै ढिडो, साँझै ढिडो कहिले सिन्की ( गुन्द्रुक ) त कहिले लोकल कुखरा र पाठाको रस सित खान थाले पछि त चिसो–सिसो कता भाग्यो कता ।

बेकारमा मेडिकलमा औषधिमा खर्च गरिए छ । निको हुनुको साटो थप च्याँप्दै थियो । कतिपयले ‘कोरोना भयो तलाई जा चेक गराउन’भन्दै थिए । आफूले टेरिएन। जय होस कोदो… जय होस् ढिडो । हिजो त्यही ढिँडोले मिच्छाएर घरमा कहिले पाहुन आउलान वा कुनै चाड पर्व वा कसैको भोज भतेर आउला भन्ने भइएका पाहडीहरु मध्ये आफू पनि एक परिएएको थियो । बल्ल अहिले आएर कोदो औषधि रहेछ । कोदो मानव शरिरलाई अमृत र औषधि रहेछ भन्ने चेत पस्यो । कोदोले निको गरेको रुघा खोकी पछि पछिल्लो तीन दिन यता निकै मिठो निद्रा परेको छ ।

जस्तापाताको छानो नजिर्क बेमौसमी मकैका बोटहरु, अन्य रुख पातमा सिम–सिम पानीको सुरुताल क्या आनन्द दिने गरी बजिरहेको न्यानो बिस्तराबाट सुन्दा जागेको मान्छे पनि फेरि निदाईए छ । गएराति करिब २ बजेतिर जागिएको थियो । एकछिन मनमा कुरा खेल्दै थियो । त्यही बेलामा सिमसिमे पानीले न्यानो साथ दियो । अर्के बल्यांकेट खम्टाउन लगायो । उसैको गुनगुनमा फेरि मिठो निद्रा लाग्यो । निद्रा भन्दा झन मिठो सपनाको संसारमा डुलायो । वषौंदेखि देखभेट हुन नसकेका बालसखाहरुलाई गाउँकै चोक चौपारीहरुमा हिजो जस्तै गरी भेट गरायो ।

चोकमा आगो तापेर बस्थ्यौं । कहिले अगेना वरिपरी हात खुट्टा तन्काएर भुटेका मकै भट्ट खान्थ्यौं । खै आजकल त त्यो गहतको झोल पनि कहाँ पाउनु ? उति बेला त घर घरमा गहतको खेती हुन्थ्यो । मासको फाँडो जम्मु र सिधा्रा झानेको , त्योसंग ढिडो त गलाबाट आँफै बग्थ्यो । उति वेला हामीले बाइबाडा भन्थ्यौं, अहिले लोकल टमाटर भन्ने गरिन्छ । कति तिख्खर हुन्थ्यो कि त्यसैको मात्रै रस बनाए पनि परेवाको मासुको रसलाई पर सारिदिन्थ्यो । ढिँडो खुर्लुक्क पारिन्थ्यो । जाडै भएपनि मई र आटो गोथलेर खानुको मज्जा नै बेग्लै हुन्थ्यो । कति उब्जीने हो उति बेला गाउँमा । बेसार घरै, अदुला , लशुन, टिमुर, अनेक जडिबुटी घरै ।

औषधि मुलो पनि घरै हजुरबुवाको पालासम्म हामी कोही पनि अस्पताल धाउनु परेन । ज्वरो आए कली सिन्की लगायतका जडिबुटी बनाई दिन्थे पाका मान्छेहरु । पखला लागे असुराको पातदेखि अनेकन घरेलु औषधि । ग्यास्टिक लगाएतको कब्जियत भए अगेनाको खरानी देखि गाने गुर्जोसम्मको ओखती मुलो घर गाउँ मै हुन्थ्यो । उति बेला जाडो भनेर के गर्ने ? हामी केटा–केटी अल्छी गर्न खोजे पनि बुढापाकाहरुले विहान चार पाँच बजे नै भुग्रामा कोदाको रोटो, पकै भट्ट जुनेलो भुट्न थालेपछि अल्छी लागेपनि खानका लागि चाँडै उठिन्थ्यो । अनि अक्कर थाप्थे र उनिहरुले भनेको काम विहानै देखि गरिन्थ्यो ।

कसैले घाँसको भारी कसैले पानी त कसैले अन्य काम गरेर चिसो मौसमा तातो पसिनाले भिजिन्थ्यो । कठै अहिले त शहरमा मात्रै हो र गाउँमा समेत छोरा छोरी बुहारीहरु यो अनुभुती लेख्दै गरेको दिनको सवा १२ बज्यो । चिसोका कारण बिस्तराबाट उठेका छैनन् । धन्न मोवाईल अझ धन्न फेसबुक, टिकटक र युट्यूव । साथी त्यही बनिरहेको छ । एउटै कोठाका श्रीमान श्रीमतीलाई एक अर्कोसंग बोल्न फुुर्सदै छैन । कतानी बोल्यो भने झर्किन्छन् ।

किनकी सबै खाले स्वाद उतै छ । घरमा कोदो मकै प्रशास्तै भएको परिवारले अहिले त्यो बेचेर वा गाई भैसीलाई खुवाएर आफूहरुले चाँही मधेसका कुहेका चामलको भात खान्छन् । तरकारी रोप्ने उपती छैन् । कुहेको सैवुनको तरकारी खान्छन् । माछा मासुको सट्टा चाउचाउको रस बनाउँछन् । बाबु आमा बाजे बजैको पाला सम्म प्रत्येक घरमा खसी बोका, दर्जनौ लोकल कुखराका पाले हुन्थ्यो । यो जाडोमा च्याप्प खाटिन्थ्यो तिख्खर रस बनाएर पिईन्थ्यो । ए बरै अहिले त घरमा केहि पाल्नु छैन । उसैलाई जत्थेर सुकै मासु चाहिने । दिनभरी मजदुरी गर्छ, साँझ ब्यलर कुखरो कहाँ छ भन्दै खोज्दै हिड्छ अनि त्यो संग कम गुणस्तरको केमिकलयुक्त रक्सीका सिसी पिउँछ । दिनभरीको कमाई त्यसैमा खचिन्छ ।

खर्च मात्रै होइन उसले आफ्नो शरिर पनि दिनानु दिन खर्चिदै गएको छ । म भन्दा १५ वर्ष कान्छो भाईको त्यो शरिर , त्यस्तो स्वास्थ्य अवस्था ? संगै हुँदा भन्छन्–‘ तँ भन्दा उ कति वर्षले जेठो छ ? जवाफमा म भन्छु म भन्दा उ १५ वर्ष कान्छो छ । उनिहरु पत्याउँदैनन् । पत्त्याउन पनि कसरी ? उसलाई गाउँको पौष्टिक कोदो मकैको खान रुच्नै छाडेको छ । घरमा ताजा तरकारी नै फलाउँदैन त कसले फलाएर उसको हातमा थमाई दिउन् ? उ दोकान कै उधारो राशनले बेला बेलामा थाल खाउँकी भात खाउँ हुन्छ ।

बाउ बाजेको खेत बारी बझाएर उ अर्काकोमा निमेक मजदुरी गर्न हिड्छ । त्यो पनि कमाई भन्दा खर्च बढी गर्छ । उसैका कारणले उसकी श्रीमती लघुवित्तको ऋणमा डुब्न बाध्य भइन्। एउटा हो र ? दर्जनौ लघुवित्तको फन्दामा पर्न बाध्य भइन्। अन्ततः स–साना छोरा छोरी घर मै छाडेर इन्डियाको जुठा भाडा माझन् हिडिन् । त्यस्तै श्रीमान अनि त्यस्तै अनत्पादक क्षेत्रको ऋणले उनि सहित गुल्मीको एउटै लघुवित्तबाट मात्रै ६५ जना महिलाले गाउँ छाडेका छन् ।

यो चिसोमा घरमा छाडिएका लालाबालाको बिजोग छ । केहि दिन त आमाले भैसी बाधिन अहिले त्यो पनि बेचेर हिहिन । केहि दिन त आमाले तरकारी बारीमा रोपिन अहिले त्यही पनि बजाएर भागिन । आफ्नै खेमा सय मुरी धान फलाउने आलिशान महल र चिल्लो कारको मालिक गुल्मी धुर्कोट गाउँपालिका– ६ सिस्तुङ्ग गाउँका मेघनाथ अर्याल अहिले भैसी गोठालो बनेका छन् ।

छिमेकी मिस्त्री काम गर्ने एक जना पुरुष विहान ९ बजे सम्म बिस्तरामा हुन्छ । तर करोडौंपति अर्याल विहान चार पाँच बजे नै भैसी गोठमा गोबर सोत्तर गरिरहेका हुन्छन् । उनलाई नपुग्दो केहि छैन। चार जनाको परिवार दिनहुँ वासमति चामलको भात र माछा मासु पनि दिनहुँ खान पुग्छ । तर, अर्याल परिवार कोदो र मकैकै खान रुचाउँछन् । तरकारी आफै फलाउँछन् । माछा मासुका लागि घर मै खसी बोका र कुखरा पालेका छन् जब चाह्यो काटेर कान्छन् । ३० वर्षसम्म बुटवलका शहरमा बसेर गत दुई वर्षदेखि गाउँ फर्किएका उनिहरु गाउँको परम्परागत ताजा खानका कारण बुटवलमा भएको विमार पनि हट्दै गएको छ । अर्याल भन्छन्‘ सुगुर लगायका विभिन्न बिमारका कारण बुटवलमा छँदा मर्निङ्ग वाक नहिडि हुँदैन्थ्यो , अहिले त के को मर्निङ्ग वाक ? भैसी गोठ कै कामले पसिना कडाउँछ ।’

अर्यालले जस्तै काममा पसिना काड्नु छैन् । गाउँकै उत्पादन खानु पर्छ भन्ने सोँच छैन। कमाई भन्दा खर्च बढी छ । उपती न पापती हाई–फाई बढी छ । अनि उ झन पछि झन गरिव नभएर त्यो पौरखी साहुको छोरा ओला ? उनि उ झन् पछि झन् रोग विमारले जरा गाडेर चाँडै नमरे उ मर्ला ? खैर ढिलो चाँडो मनुको त कुरा नगरौं । गरिब हुँदै जानुको एउटा ज्वालन्त उदाहरण पेश गरौं । हाम्रा गाृउाँट विदेश गएका दुई जना युवाहरु मध्ये एक जना विदेशबाट घर आयो । दशंैको बेला थियो ।

कुखुरा बोका सहितको पञ्चवली कोटमा चढायो । ईस्टमित्र टन्नै बोलायो । माछा मासुमा भन्दा बढि जाँड रक्मसीमा पैसा स्वाह.. पार्यो । उसैलाई फेरी श्रीमति छोरा छोरी बोकेर कहिले मनकामना त कहिले सुपा देउराी पाठो पुजा र घुमफिर गर्नै प¥यो । अन्ततः बिचराले कमाएर ल्याएको पैसा धर्म संस्कार र विलासी जिवनयापनमा स्वाह भयो ।

अन्ततः बिदेश फर्किने बेलामा साहुले भनेकै ब्याजमा ऋण काढेर उड्यो । तर, उससंगै आएको गाउँको अर्को ठिटोले घरमा जे थियो त्यही खायो, खानु भन्दा पहिला शहरमा घडेरी किनेर कमाईको सहि सदुपयोग ग¥यो । अर्को चोटी उ फर्केर आउँदा त्यो घडेरीको मुल्य दोब्बर–तेब्बर हुने छ । अनि उ धनी नभएर को हुने ? यो चिसो मौसम, त्यस माथि पानी परेकाले बाहिर निस्कन नसकेर सिमसिमे पानीको प्यार–प्यारका आनन्द लिदै गाउँ घरको अनुभव अनुभूति र बुझाई पस्केको हुँ, पढेर साथ दिनु भयो भने तपाईलाई पनि यो चिसो मौसममा न्यानो अभिवादन !

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार