ताजा अपडेट »

थप १२ हजार जनामा कोरोना सङ्क्रमण, बाँके 'रेडजोन' घोषित

मंगलबार, ११ माघ २०७८, १८ : ०३
8 Shares

काठमाण्डाैं । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार जनाभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। केही दिनयता दैनिक १२ हजारभन्दा बढी सङ्क्रमित फेला परेको यो दोस्रो पटक हो। पछिल्लो वृद्धिसँगै देशभरि रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ८८,९०० नाघेको छ। पछिल्लो २४ घण्टामा कोभिड-१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या आठ छ।

मङ्गलवार अपराह्न प्रकाशित विवरणअनुसार विगत २४ घण्टामा १८,१०३ वटा परीक्षण पीसीआर विधिबाट र ७,८०६ वटा एन्टिजन विधिबाट कुल २५,९०९ परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएका परीक्षणमध्ये ५२ प्रतिशतभन्दा बढीमा र एन्टिजन परीक्षणमा ३३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो। हाल देशभरि सङ्क्रमितको सङ्ख्या ८८,९३४ रहेको तथ्याङ्कले देखाउँछ। तीमध्ये ५६,८८२ काठमाण्डू उपत्यकामा रहेको तथ्याङ्कले देखाउँछ।

अहिले आईसीयूमा २४५ जना र भेन्टिलेटरमा ४४ जना बिरामी भएको मन्त्रालयले जनाएको छ। विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ३,०४० रहेको छ। अहिले सङ्क्रमित भइरहेकामध्ये अधिकांश २१ देखि ४० वर्ष उमेर समूहका मानिसहरू रहेका छन्। विगत दुई सातादेखि नेपालमा कोभिड-१९ सङ्क्रमण वृद्धि भइरहेको हो। स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण दर वृद्धि भइरहेको बताउँदै आएका छन्।

बाँके 'रेडजोन' घोषित

बाँकेमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेपछि जिल्लालाई 'रेडजोन' घोषणा गरिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा ६५० जनाभन्दा बढी सक्रिय सङ्क्रमित छन्। जिल्लालाई कोभिड 'रेडजोन' घोषणासँगै जिल्ला प्रशासन कार्यालय बाँकेका अत्यावश्यक बाहेकका सेवाहरू मङ्गलवारदेखि बन्द गरिएको छ।

कार्यालयकै कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जिल्ला प्रशाशन कार्यालय बाँकेले सूचनामार्फत् जनाएको छ। कार्यालयका अनुसार नियमित कार्य सम्पादनका क्रममा केही कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएको छ भने केही कर्मचारीमा मिल्दोजुल्दो लक्षण देखिएकाले उनीहरू आइसोलेशनमा रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।