ताजा अपडेट »

बुटवल-नारायणगढ सडक विस्तार, लोकाहा र गैँडाकोटबाट काम शुरु

शनिबार, ०९ कार्तिक २०७६, १४ : ०४
6 Shares

कार्तिक ९,
कावासोती । पूर्व पश्चिम राजमार्ग अर्न्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम शुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम शुरु गरेको हो । नारायणगढ-बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम शुरु गरेको हो । गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए । शिलान्यासको सात महीनापछि काम शुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको छ ।

आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम शुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम शुरु गरेको हो । पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए । दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ । रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम शुरु हुने योजना प्रमुख अधिकारीले बताए । रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने योजना प्रमुख अधिकारीले बताए । त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम शुरु गरिएको छ । गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका सानासाना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए । अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम शुरु गरिएको हो । रुख काटन अनुमति लिन, विद्युत्, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम शुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीले बताए ।

अब निर्माणको काममा कुनै बाधा नआए कामले गति लिने उनले बताए । दोस्रो खण्डमा भने अझै काम शुरु हुन सकेको छैन । नारायणगढ-बुटवलखण्डलाई दुई भागमा विभाजन गरिएको छ । सोअन्तर्गत नवलपरासीपूर्व गैँडाकोटदेखि दाउन्नेसम्मको एउटा खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको अर्को खण्ड रहेका छन् । झण्डै ११३ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारको योजना यसै खण्डबाट शुरु गर्न लागेको हो । एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको हो । सडक विस्तारका लागि झण्डै रु १७ अर्बमा ठेक्का लागेको छ । सडक विस्तारपछि चार लेनको हुनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । दुई दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालोतर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरी दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।