कार्तिक ९,
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु गरिएको छ। निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम सुरु गरेको हो।नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको हो ।
गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए। शिलान्यासको सात महीनापछि काम सुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम सुरु गरेको छ। आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम सुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम थालेको हो। पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए। दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ। रुख काट्न अनुमति भने अझै नआएको हुँदा तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम सुरु हुने योजना प्रमुख अधिकारीले बताए।
रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने योजना प्रमुख अधिकारीले बताए। त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम सुरु गरिएको छ। गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका सानासाना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए। अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम सुरु गरिएको हो । रुख काटन अनुमति लिन, विद्युत्, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम शुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीले बताए।अब निर्माणको काममा कुनै बाधा नआए कामले गति लिने उनले बताए। दोस्रो खण्डमा भने अझै काम सुरु हुन सकेको छैन । नारायणगढ– बुटवलखण्डलाई दुई भागमा विभाजन गरिएको छ। त्यसअन्तर्गत नवलपरासीपूर्व गैँडाकोटदेखि दाउन्नेसम्मको एउटा खण्ड र दाउन्नेदेखि बुटवल चौराहासम्मको अर्को खण्ड रहेका छन् ।
झण्डै ११३ किलोमिटर सडक विस्तार गरी चार लेनको बनाउन लागिएको हो । सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारको योजना यसै खण्डबाट सुरु गर्न लागेको हो ।एशियाली विकास बैंकको ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको हो । सडक विस्तारका लागि झण्डै रु १७ अर्बमा ठेक्का लागेको छ । सडक विस्तारपछि चार लेनको हुनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । दुई दुई लेनको बीचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ ।तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालोतर्फ चढ्ने सवारीले प्रयोग गर्ने गरी दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरी तीन लेनको सडक निर्माण गरिने योजना प्रमुख अधिकारीले बताए। -रासस
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/globalaawaj/public_html/wp-includes/functions.php on line 5145