ताजा अपडेट »

दाङका विद्यालयमा कोरोना संक्रमण फैलिदै, शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्यकर्मीहरूको सुझाब

विहीबार, २२ पुस २०७८, २१ : ४०
4 Shares

दाङ । तुलसीपुरमा केही दिनयता विद्यालयमा तीब्र रुपमा कोरोना संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरू चिन्तित बनेका छन् ।  विद्यालयका शिक्षक र विद्यार्थीहरूमा कोरोना पुष्टि भएपछि चिन्ताको अवस्था आएको उपमहानगरका कोभिड-१९ फोकल पर्सन विमल केसीले बताए ।

केही समय अगाडि शून्य अवस्थामा रहेको उपमहानगरमा केही दिनयता कोरोना संक्रमण तीब्र रुपमा फैलिएको उनको भनाई छ । उनले अब केही दिनको लागि उपमहानगरका विद्यालयहरू बन्द गर्नुपर्ने सुझाब दिए । उनले भने, ‘आजको अवस्था हेर्ने हो, भने हिजोको भन्दा ६ गुणा फैलिएको छ । त्यो पनि विद्यालयमा धेरै देखिएको छ । जहाँ साना बालबालिकाहरूले कोरोना विरुद्ध खोप लगाएका छैन् ।’

कोरोना पुष्टि भएकाहरूलाई घाटी दुख्ने समस्या मात्र देखिएकाले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भएता पनि अब केही दिनको लागि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको बताए । बिहीबार मात्र तुलसीपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

तुलसीपुरको मेट्रो अस्पतालमा १४२ जनाको परीक्षणमा गरिएको ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्य गुरु जजुर मावि रक्षाचौरका ११ जना विद्यार्थी, सेन्टर मावि तुलसीपुरका विद्यार्थी र शिक्षक गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । त्यस्तै ८ जना स्वास्थ्यकर्मी र अन्य संक्रमित व्यक्तिको सम्पर्कमा रहेको ११ जना गरी जम्मा २५ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अगाडि मावि अश्वाराका विद्यार्थी तथा शिक्षकहरूका कोरोना पुष्टि भएपछि एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ ।

संक्रमित हुने उमेर समुह १३ वर्ष देखि ५९ वर्षसम्मका रहेको उनले बताए । यो सँगै तुलसीपुरमा ५ दिनमा ८४ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको छ र केही दिनमा टेकु अस्पतालमा पठाइने भएको उनले बताए ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसीआर परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कलम चन्दले बताए । उनका अनुसार जिल्लामा केही दिनयता तुलसीपुरमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरे । उनका अनुसार जिल्लामा अहिले ४४ जना सक्रिय संक्रमति रहेका छन् ।

सुमन केसी
लेखकको बारेमा
सुमन केसी