ताजा अपडेट »

स्वास्थ्य सतर्कताका साथ गुणस्तरीय सेवा दिएका छौं : ध्रुब शर्मा

मंगलबार, ०६ पुस २०७८, १८ : १२
6 Shares

कोरोना महामारीले २ वर्षदेखि प्रभावित रहँदै आएको हस्पिटालिटी क्षेत्र विस्तारै लयमा आउँदै छ । धार्मिक,औद्योगिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकसित हुँदै आएको रुपन्देहका पुराना र नयाँ ठूला,मझौला तथा साना होटल तथा रेष्टूरेण्ट व्यवसायहरु हाल पुनः सञ्चालनमा आइसकेका छन् । केहि भने बन्दै र सञ्चालनमा आउँदै छन् ।

होटल क्षेत्रमा अरबौं लगानी रहेको रुपन्देहीमा ठूला होटल, रिसोर्टहरुको संख्या पनि थपिँदै छ । पहिलेदेखि चल्दै आएका होटल,रिसोर्टहरुले पुनः नयाँ व्यवस्थापन तथा स्तरोन्नती गर्दै सूचारु भएका छन् । यसै क्रममा तत्कालिन समयमा नै अर्थात् कोभिड पूर्व मात्रै सञ्चालनमा आएको रुपन्देहीको सियारीस्थित लुम्बिनी रिसोर्ट पनि नयाँ व्यवस्थापन र स्तरोन्नतीका साथ सञ्चालनमा आएको छ । यसै सन्दर्भमा रहेर लुम्बिनी प्यालेस रिसोर्टका व्यवस्थापक ध्रुब शर्मासँग ग्लोबल आवाजका लागि गरिएको संवाद:

संक्रमणपछि कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
–लामो समयको संक्रमण र बन्दपछि हामीले रिसोर्टलाई विस्तारै पुनः सञ्चालनमा ल्याएका छौं । सञ्चालन पूर्व मर्मत,डेकोरेशन,स्तरोन्नती लगाएत पनि गरेका छौं । पुनः पूर्वतयारी गरेर रिसोर्टलाई थप व्यस्थित र आकर्षक बनाएर गतिशिल बनाएका छौं ।

संक्रमण केहि मत्थर भएतापनि जोखिम भने जारी छ,थप अर्को भेरियण्टको त्रास छ । यसले कस्तो प्रभाव पारेको छ र, तपाइँहरुले कसरी सावधानी अपनाउनु भएको छ ?
–प्रभाव त पहिल्यैदेखि छ नै । तर,विस्तारै सबै क्षेत्र चलायमान भएसँगै र सरकारले पनि सबै क्षेत्रलाई खुला गरेपछि नै हामी पुनः सञ्चालनमा आएका हौं । हामीले स्वास्थ्य मापदण्डलाई निरन्तरता गरेका छौं । त्यसैगरी आउने ग्राहकलाई पनि हामी मापदण्ड अनुसार नै स्वागत र सेवा प्रदान गरेका छौं । हाल अर्को भेरियण्टको जोखिमले हामी थप सतर्क बन्दै स्वास्थ्य सावधानीका सामग्री तथा उपकरणलाई परिचालन गरेका छौं।

लुम्बिनी प्यालेसमा के कस्ता विशेषता र सेवाहरु उपलब्ध छन्, जसका लागि पर्यटक वा ग्राहक यहाँ आउछन् वा आउन पर्दछ?
–यो भैरहवा–बुटवल जस्ता व्यस्त शहरहरुको बीचमा छ । त्यसैगरी विकसति तिलोत्तमा , पर्यटकीय क्षेत्र लुम्बिनीको पनि बीचमा अवस्थित छ । फराकिलो क्षेत्रफलमा , आर्कषक संरचनामा बनेको रिसोर्ट वातावरणीय दृष्टिकोणले पनि शान्त र स्वच्छ ठाउँमा रहेको छ । रिसोर्टमा बस्नको,खानाको व्यवस्थासँगै बोटिङ,स्विमिङ, म्यूजिक लगाएत धेरै सेवाहरु रहेका छन् । बाल उद्यान, सेल्फी जोन,बोटिङ , स्वस्थ तथा विभिन्न परिकारका खाना र खुल्ला वातावरण रहेको छ जसले गर्दा बालबासलका,किशोर–किशोरी,युवाहरुदेखि वृद्धवृद्धा सबैका लागि लुम्बिनी रिसोर्ट उत्तम स्थान हो । पारिवारिक वातावरण र माहौल बनाएका छौं त्यसैले पारिवारिक घुमघाम र विश्रामका लागि पनि यहाँ आउनै पर्दछ ।

रिसोर्ट नयाँ व्यवस्थापन,स्तरोन्नती र योजनाका साथ सञ्चालन गरेको भन्नुभयो, के–के गर्नुभयो र के–के योजना छन् ?
–कोभिडको दौरान बन्द हुँदा असर परेका क्षेत्रमा हामीले मर्मत तथा रिनोभेसन गरेका छौं । आफ्नै कृषि फार्म सञ्चालन गरेका छौं । रुपनदेही एग्रो फार्मबाट हामीले अर्गानिक कृषि उत्पादन गर्दै आएका छौं । स्विमिङ पुल बनाउँदैछौं । स्पा, पार्कहरु निर्माणाधिन छन् । दक्ष कर्मचारी उत्पादनका लागि होटल म्यानेजमेण्ट तालिम सञ्चालन गर्दैछौं । रिसोर्टलाई पूर्णतया बसाई,आराम र मनोरञ्जन स्थलको हब बनाउँदै छौं । विभिन्न आकारका हल निर्माण भएका छन् । साथै थप गरी विभिन्न स्थानीय स्तरमा हुने कार्यक्रमहरु सञ्चालन गर्नुका साथै राष्ट्रिय–अन्तराष्ट्रिय स्तरका सेमिनार,गोष्ठीहरु पनि सहज रुपमा सञ्चालन गर्ने रिसोर्टका रुपमा स्थापित गर्दैछौं ।

रिसोर्टले स्थानीय स्तरमा वा राज्यलाई के कसरी कस्तो टेवा पुर्याएको छ ?
–ग्रामिण क्षेत्रमा करौडौं लगानीमा रिसोर्ट सञ्चालन गर्नु आफैमा स्थानीय स्तर र राज्यलाई फाइदा हो । यसबाट अर्कोतर्फ स्थानीय स्रोत र साधनको प्रयोग र आर्थिक चलायमान पनि भएको छ । एक सय बढीले रोजगार प्राप्त गरेका छन् । स्थानीय स्तरमै गुणस्तरी हस्पिटालिटीको उपलब्धता भएको छ । यसबाट यहाँका आर्थिक गतिविधि बढ्नाले स्थानीय स्तरमा अन्य समभावनाहरु पनि उत्पन्न भएका छन् । रुपन्देहीबासीलाई घुमफिर,मनोरञ्जन र खानाका लागि आकर्षक रिसोर्ट बनेको छ भने लुम्बिनी आउने पर्यटकका लागि पनि गुणस्तरीय हस्पिटालिटी स्थल बनेको छ । जसले गर्दा पर्यटन क्षेत्रमा महत्वपूर्ण टेवा पुगेको छ ।

करोडौं लगानीमा रिसोर्ट सञ्चालन गरिरहँदा के कस्ता समस्या र चूनौतीहरु रहेका छन् र कसरी समाधान होलान् ?
–पक्कैपनि सुनसान स्याल कराउने झाडीमा आकर्षक रिसोर्ट बनेको छ । ग्रामिण क्षेत्र र सडक स्तर नहुँदा मुख्य समस्या बनेको छ । त्यसैगरी कोभिड महामारी,बन्द, राज्यको अव्यवहारिक नीति लगाएत धेरै समस्याहरु रहेका छन् । हाल स्थानीय स्तरबाट सडक मर्मत तथा पीच पनि हुँदैछ । कोभिड पछाडिको जनजीवन चलायमान हुँदै छ । सेवाग्राहीहरु आउँदै हुनुहुन्छ । विभिन्न समस्या र चूनौतीहरुलाई समाधान गर्दै अगाडि बढ्दै छौं । हस्पिटालिटी क्षेत्रका समस्या र संकटबाट अगाडि बढ्न राज्य तथा सरोकारवालाले विशेष नीति ल्याई व्यवहारिक कार्यान्वय गरेमा लुम्बिनी प्यालेस लगाएत् समग्र होटल तथा रेष्टूरेष्ट क्षेत्र चलायमानसँगै पर्यटन र आर्थिक गतिविधि वृद्धि भई राज्यलाई नै फाइदा हुने छ ।

गौतम भूसाल
लेखकको बारेमा
गौतम भूसाल

भूसाल ग्लोबल आवाज अनलाइका प्रबन्ध सम्पादक हुन् ।