ताजा अपडेट »

बुटवलमा माओवादी भित्र विवाद, दुई समूह बीच कार्यालयमै हात हालाहाल

विहीबार, २३ मंसिर २०७८, १८ : ३७
6 Shares

बुटवल । नेकपा माओावदी केन्द्रको बुटवल उपमहानगर कमिटीको नेतृत्व छान्ने विषयमा विवाद भएपछि १८ गते सकिएको अधिवेशन अहिलेसम्म नेतृत्वबिहीन भएको छ । केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा पुगेको हो ।

अधिवेशनले नगर प्रतिनिधि छनौट गरेपनि यसको पदाधिकारी तथा यहाँबाट प्रदेशमा जाने प्रनिनिधि विवादका कारण छान्न नसकेको एक नेताले बताए । प्रदेश प्रतिनिधिको ९ पदमा २३ जनाको उम्मेद्वारी परेपनि केही नेताहरुले आफू निकटकालाई पठाउन खोजेका कारण ढिलाई भएको छ । ‘भोलि प्रदेशमा पठाउने नाम अहिलेसम्म केही टुङ्गो छैन, अधिवेशन सकिएको ६ दिन भइसक्यो, न चुनाव हुन्छ न नेतृत्व छनौट, यस्तो गाइजात्रा छ हजुर हाम्रो पार्टीमा ।’– ती नेताले भने ।

यो विवादमा पार्टीका रुपन्देही संयोजक निर्मलकुमार जीसी र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले विधान विपरीत आफ्नो मान्छे ल्याउन खोजेकाले समस्या भएको ती नेताले बताए । यहाँका धेरै पुराना नेता कार्यकर्ताले नारायण बन्जाडे, मनोज राना, मन्जु भुसाल, मणि भट्टराईलाई ल्याउन खोजेपनि नेतृत्वको क्षमता नभएकोले आफ्नो एस म्यान ल्याउन ढिलाई गरेको आरोप लगाएका छन् ।

उनीहरुलाई बामदेव शर्मा, विनोद पहाडीलगायतका नेताहरुले अगाडि सारेका छन् भने संयोजक जिसी, इन्चार्ज बिश्वकर्मा र बुटवल नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नेतृत्वमा आउन नदिनेमा छन् । तीन दिनअघि नेतृत्व छान्न बसेको विषयमा दुबै समूहका नेताहरु बीच हात हालाहालको स्थिति भएको थियो ।

सो क्रममा माओवादी केन्द्रीय अनुशासन आयोगका सदस्य तथा प्रचार विभागका सदस्य विनोद पहाडीमाथि आक्रमण हुन थालेपछि उनले पनि आफ्नो थप शक्ति बोलाएको स्रोतले बतायो । पार्टी कार्यालयमा दुबै समूह बीच पटक–पटक हात हालाहालको अवस्था आएपछि दुबै समूहले आफ्नो समूह बलियो बनाएका छन् ।

माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् । ‘१८ गते सकिएको अधिवेशनले अहिलेसम्म नेतृत्व छान्न सकेको छैन, यहाँभन्दा सांगठनिक अराजकता के हुन्छ ? चुनाव गर्न पनि नदिने, आफ्नो मान्छे पार्न सहमतिका लागि बस्न पनि नदिने ?’ ती नेताले भने । माओवादी रुपन्देही संयोजक निर्मल जिसीले केही आन्तरिक प्रकृयाले बुटवलमा नेतृत्व छान्न ढिलाई भएको स्वीकार गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।