ताजा अपडेट »

लुम्बिनी बौद्ध विश्वविद्यालय १७औं वर्षमा, १६ मंसिरमा राष्ट्रपति लुम्बिनी जाँदै

सोमबार, १३ मंसिर २०७८, ११ : १८
4 Shares

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले आज १७औं विश्वविद्यालय दिवस मनाउँदै छ । ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो ।

विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिकशास्त्र र विकास अध्ययन तथा प्रायोगिक विज्ञान संकायअन्तर्गत विभिन्न विषय सञ्चालन गरिरहेको छ । लुम्बिनी, बुटवल र देवदहमा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । यो अवधिमा विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक भवन, केन्द्रीय कार्यालय भवन, केन्द्रीय पुस्तकालय भवन, केन्द्रीय क्याम्पस भवन, छात्रा वास (छात्रछात्रा), शिक्षक आवास गृह, पदाधिकारी आवस गृह, बुटवल सिटी कलेज निर्माण गरेको छ भने अनुसन्धान केन्द्र निर्माणाधीन अवस्थामा छ ।

विश्विद्यालय दिवसको अवसरमा आज बुटवलको नयाँगाउँस्थित सिटी कलेजमा रक्तदान कार्यक्रम गरिएको छ । मंगलबार लुम्बिनीमा मुटुरोग स्वास्थ्य शिविर आयोजना हुँदैछ । स्वास्थ्य शिविरमा मुटुरोगसहित पेट, छाती तथा हार्डजोर्नीका १५ जना चिकित्सकहरू सहभागी हुनेछन् । यसका लागि विश्वविद्यालयले गंगालाल हृदयरोग केन्द्र र हर्ट टु हर्ट नेपालसँग सहकार्य गरेको छ ।

दिवसकै अवसर पारेर गर्न लागिएको त्रियान प्रज्ञा सम्मेलनको १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रित रहेर सम्मेलन गर्न लागिएको जानकारी दिए ।

“नेपालमा बौद्ध दर्शनका तीनवटा अभ्यास भइरहेका छन्, बौद्ध संस्कृतिसँग जोडिएका ती अभ्यासलाई समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो”, उनले भने । रजिष्ट्रार आचार्यका अनुसार थेरवाद र महायान बौद्ध दर्शनका दुई पाटा हुन् । नेपालमा महायानभित्र पनि बज्रयानको संस्कृति रहेको र यसलाई समृद्धिसँग जोड्ने उपायका बारेमा सम्मेलनमा सहभागी विज्ञहरुले छलफल गर्नेछन् ।

प्रज्ञा सम्मेलनमा थेरवाद, महायान र बज्रयानको संस्कृति र समृद्धि विषयमा ६ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा सहभागी विज्ञहरूले बौद्ध शिक्षा र शिक्षण पद्धतिको विषयमा दोस्रो खण्डमा छलफल गर्नेछन् । त्यहाँ तीन जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् । १६ मंसिरमा घोषणापत्र जारी गर्दै सम्मेलन समापन हुने रजिष्ट्रार डा.आचार्यले बताए । सोही दिन हुने मुख्य कार्यक्रममा राष्ट्रपति सहभागी हुनेछिन् । त्यस अवसरमा उनले केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने कार्यक्रमसमेत छ । विश्वविद्यालयले नौ करोड २० लाखको लागतमा केन्द्रीय पुस्तकालय निर्माण गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।