ताजा अपडेट »

लैंगिक हिंसाविरुद्ध कानूनी सचेतना जगाउँदै कालिकाका विद्यार्थी

आइतबार, १२ मंसिर २०७८, २१ : १२
6 Shares


बुटवल । कालिका मानवज्ञान मावि कानून शिक्षा विभागले नवलपरासी ,रुपन्देही र कपिलवस्तुका ४२ वटा विद्यालयमा लैंगिक हिंसा विरुद्ध सचेतना तथा बाल अधिकार सम्बन्धि प्रशिक्षण दिएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई कानूनका विद्यार्थीहरुले प्रशिक्षण दिएका थिए ।

नेपालमै पहिलोपटक कक्षा ११ र १२ मा कानून विषयमा पठनपाठन शुरु गरेको कालिका मानवज्ञान माविको कानून शिक्षा विभागले हरेक वर्ष विद्यालयका बालबालिका र समुदायको लागि लैंगिक हिँसा विरुद्धको सचेतना कार्यक्रम गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत कानूनका विद्यार्थीहरु विभिन्न विद्यालयमा पुगेर विद्यार्थिहरुलीई हिँसाको कारण, यसको प्रकृति तथा असर तथा यसको न्युनिकरनको बारेमा विद्यार्थी र महिला समुहहरुलाई प्रसिक्षण दिने, कानूनी व्यवस्था र उपचारको लागि गर्नुपर्ने प्रक्रियाको बारेमा जानकारी दिने गरेका छन् ।

कानूनका विद्यार्थीहरुद्वारा स्कूले बालबालिकालाई लैंगिक हिँसा र बाल अधिकारको बारेमा छोटो समय प्रशिक्षण दिदा पनि बालबालिकामा हिँसा विरुद्धको चेतना वृद्धि भएको र बालबालिकाहरुले आफ्ना समस्याहरु खुलेर भन्न सक्ने भएको देवदह माविकी शिक्षिका अम्बिका कंडेल बताउँछिन्। उनि भन्छिन् " करिब आफ्नै उमेरका कानूनका विद्यार्थीहरुसंग स्कूले विद्यार्थीहरु बढी खुल्न सक्ने र कानूनका विद्यार्थीहरुले कानूनको अनेकौ पाटोहरु बताउने र आफ्ना अनुभवहरु शेयर गर्ने भएकोले विद्यार्थी लक्षित कानूनी साक्षरता कार्यक्रम प्रभावकारी देखिएको छ." ।
लैंगिक हिँसा विरुद्धको अभियान शहर केन्द्रित र अधिकारकर्मी केन्द्रित भैरहेको अवस्थामा कानूनका विद्यार्थीहरुले सचेतनाको अभियान लिएर दूरदराजका विद्यालयमा पुग्नु निकै उदाहरणीय भएको र त्यसले हिँसा विरुद्ध उभिन सक्ने नागरिक तयार गर्न र हिँसा रहित समाजको निर्माण गर्न ठुलो मद्दत पुग्ने अधिकारकर्मी तथा अधिवक्ता हेमा न्यौपानेको भनाई छ ।

कालिकाका कानूनका विद्यार्थीहरुले स्वयमसेवी रुपमा यस्तो कार्यक्रमहरु गर्दै आएका छन्. कार्यक्रमको लागि सामाग्रीहरु तयार गर्ने , विद्यालयमा कार्यक्रम गर्ने जस्ता कामहरु आफ्नै खर्चमा गर्दै आएका छन् भने कार्यक्रमको सहजीकरण विद्यालयले गरिदिने गरेको छ। लैंगिक हिँसा विरुद्धको प्रशिक्षण कार्यक्रम लिएर साना बालबालिका माझमा पुग्न पाउदा आफुले सिकेको कुरा अरुलाईसिकाउने अवसर पाएको र हिँसा विरुद्धमा लड्ने उर्जा प्राप्त भएको कार्यक्रममा सहभागी विद्यार्थी तथा कानून विद्यार्थी समाजका अध्यक्ष सन्दिप पौडेल क्षेत्रीले बताए ।
कालिका मानवज्ञान माबीले कानूनका विद्यार्थीहरुलाई व्यवहारिक कानूनी शिक्षा अन्तर्गत प्रहरीसंग विद्यार्थी, स्थानीय सरकारसंग कानूनका विद्यार्थी, संरक्षणमा विद्यार्थी जस्ता लामो अवधिका कार्यक्रम गर्दै आएको छ ।

लैंगिक हिँसा विरुद्धको सचेतना, न्यायमा पहुँचको लागि कानूनी मस्यौदा लेखन प्रशिक्षण, मानव अधिकार सचेतना जस्ता एकदिने कार्यक्रमहरु गर्दै आएको र यसले सामाजिक उत्तरदायित्व पुरा गर्न र योग्य कानूनी विद्यार्थी तयार गर्न मद्दत पुगेको विद्यालयका प्रधानाध्यापक दिनेश थापा बताउँछन् । बुटवलमा अवस्थित कालिका मानवज्ञान माविमा ३८ जिल्लाका २२५ जना विद्यार्थीहरु कानून समुहमा अध्ययनरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।