ताजा अपडेट »

निजी क्षेत्रको संलग्नतामा रुग्ण उद्योग पुनः सञ्चालनको तयारी

बुधबार, २९ असोज २०७६, ०७ : २६
6 Shares

असोज २९,

काठमाडौँ । सरकारले रुग्ण उद्योग निजी क्षेत्रलाई दिने गरी सञ्चालनको तयारी गरेको छ । उद्योग मन्त्रालयले पहिलो चरणमा सातवटा रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउने प्राथमिकता निर्धारण गरी काम अगाडि बढाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, ओरियन्टल म्याग्नेसाइट, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना लिमिटेड र विराटनगर जुटमिल सञ्चालनको तयारी गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योगको संरचना बेचेर दायित्व चुक्ता गर्ने तयारी गरिए पनि अर्थ मन्त्रालयले दायित्व तिर्न सहमत भएपछि निजीकरण गरी सञ्चालनमा जुटेको खुलाउनुभयो । उहाँले कुनै उद्योग बेच्ने पक्षमा सरकार नरहेको बताउनुभयो । सरकारले दसवटा उद्योगलाई रुग्ण उद्योगको पहिचान गरेको छ ।मन्त्री यादवले रुग्ण उद्योग निजी क्षेत्रलाई नै दिएर सञ्चालनको तयारी भइरहेको प्रस्ट्याउनुभयो । उहाँले हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालन सम्बन्धमा मन्त्रिपरिषद्मा प्रस्तावसमेत लगेको जानकारी दिनुभयो ।

मन्त्रालयले सञ्चालनको प्रस्ताव लगे पनि अर्थ मन्त्रालय मातहातको वित्तीय व्यवस्थापन महाशाखाको निजीकरण समितिसँग समन्वय नगरेकाले उक्त प्रस्ताव यसअघि फिर्ता पठाइएको थियो । मन्त्री यादवले भन्नुभयो, “मन्त्रिपरिषद्ले प्रस्ताव फिर्ता गरेपछि निजीकरण समितिको निर्णयमा उद्योगले अर्को प्रस्ताव लगिएको छ ।”अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखाका उपसचिव षडानन्द गौतमले समितिको निर्णयपछि उद्योग मन्त्रालयले हेटौंडा कपडा र बुटवल धागो सम्बन्धमा प्रस्ताव मन्त्रिपरिषद्मा लगेको बताउनुभयो । निजीकरण समितिको राय वा निर्णयपछि उद्योग मन्त्रालयले निजी संस्थान वा कम्पनीसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लग्ने व्यवस्था छ ।

मन्त्रालयले मन्त्रिपरिषद्मा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसायलगायतका चल अचल, स्थिर सम्पत्ति भाडामा वा पट्टा बहालमा दिने प्रस्ताव लगेको छ ।वि.सं. २०३५ देखि हेटौँडा कपडा उद्योगले व्यावसायिक उत्पादन सुरु गरेको थियो । दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता भएको उक्त उद्योग २०५७ सालदेखि बन्द अवस्थामा छ । उद्योग पूर्ण क्षमतामा सञ्चालनमा हुँदा एक हजार पाँच सय जनाले रोजगारी पाएका थिए ।त्यसैगरी, बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि जग्गा, भवन, उपकरण, व्यवसायलगायतका चल अचल, स्थिर सम्पत्ति ३० वर्षका लागि भाडा/पट्टा बहालमा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ । उक्त कारखाना २०३९ सालमा स्थापना भएको हो । दैनिक १० टन उत्पादन क्षमता रहेको कारखानाले २०६४ सालसम्म सानो मात्रामा उत्पादन गरे पनि उक्त वर्ष नै पूर्णरूपमा बन्द हुन पुग्यो ।

हेटौँडा कपडा उद्योगको अवस्था बुझ्न र सञ्चालनका लागि मन्त्रालय र नेपाली सेनाको प्रतिनिधि सम्मिलित कार्यदलसमेत गठन गरिएको थियो । औद्योगिक सम्पत्ति नौ करोड २६ लाख कायम गरिएको उद्योग सञ्चालनका लागि ५० करोड खर्च लाग्ने कार्यदलले अध्ययनमा औँल्याएको थियो ।
उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले सातवटा रुग्ण उद्योगका पुराना बक्यौता तिर्ने क्रममा रहेको जानकारी दिनुभयो । उहाँले बाँकी बक्यौता तिरेर सञ्चालनको स्वरूपबारे निर्णय गरिने बताउनुभयो ।सहसचिव पौडेलले रुग्ण अवस्थामा रहेको अर्को उद्योग गोरखकाली रबरको सम्पत्ति दायित्व, कर्मचारीको फरफारक भइरहेको बताउनुभयो । हालसम्म मन्त्रालयले रबर उद्योगका अवकाश कर्मचारीहरूको तलब भत्ताबापत २८ करोड ७५ लाख भुक्तानी गरिसकेको छ ।


उद्योगको लेखापरीक्षण बाँकी रहँदा निजीकरणको प्रक्रियामा लग्न ढिलाइ भएको छ । मन्त्री यादवले महालेखा परीक्षकबाट कर परीक्षण गर्न ताकेता गरिरहेको जानकारी दिनुहुँदै परीक्षणलगत्तै बाँकी कार्यले तीव्रता पाउने बताउनुभयो । सरकारले सातवटै उद्योगमा कार्यरत कर्मचारीलाई अवकाश दिए पनि भुक्तानी गर्न बाँकी रहेको कर्मचारीको दायित्व फछ्र्योट गरेर सञ्चालनका लागि निजी क्षेत्रलाई आह्वान गर्ने तयारी गरेको छ । यसअघि वीरगञ्ज चिनी कारखानाका १९३ कर्मचारीले अवकाश अस्वीकार गर्दै अदालतमा मुद्दा हालेका थिए ।

मन्त्री यादवले सरकारको तयारीप्रति असन्तुष्ट रहेका कर्मचारी पनि अवकाश लिन सहमत भएकाले फरफारक गर्न लागेको जानकारी दिनुभयो । सहमत कर्मचारीका लागि अर्थ मन्त्रालयबाट पाँच करोड ३८ लाख निकासा भइसकेको उद्योग मन्त्रालयले जनाएको छ । ७३२ कर्मचारी यसअघि नै अवकाश सुविधा लिइसकेका छन् । उक्त कारखाना २०६१ सालदेखि बन्द छ ।उद्योग सञ्चालन गर्ने वा नगर्ने सम्बन्धमा सबैभन्दा बढी विवाद जनकपुर चुरोट कारखाना लिमिटेडमा देखिएको छ । सरकारले खारेज गरिसकेको उक्त कारखानको संरचना हाल प्रदेश २ सरकारले प्रयोगमा ल्याएको छ । मन्त्री यादवले जचुकाली सञ्चालनमा कुनै विवाद नरहेको दाबी गर्नुहुँदै भन्नुभयो, “आवासीय क्षेत्र प्रदेशले प्रयोग गरुन्, उत्पादन र प्रशासनिक भवनमा उद्योग सञ्चालन गर्ने तयारी गरेका छौँ ।” प्रदेश २ सरकारले हाल आवासीयसँगै प्रशासनिक भवन पनि प्रयोगमा ल्याएको छ । प्रशासनिक भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राखिएको छ । वि.सं. २०७२ मा मन्त्रिपरिषद्को निर्णयले ‘जचुकाली’लाई उद्योग मन्त्रालयबाट हटाएर गृह मन्त्रालय मातहात लगेको थियो ।


जनकपुर चुरोट कारखाना लिमिटेडको जीर्ण अवस्थामा रहेको सम्पत्ति लिलामीबाट एक करोड ४६ लाख रुपियाँ राजस्व सङ्कलन गरिएको छ । वि.सं. २०२१ मा स्थापित ‘जचुकाली’ पूर्ण क्षमतामा सञ्चालनमा हुँदा करिब पाँच हजारले रोजगारी पाएका थिए । ‘जचुकाली’ २०६९ देखि बन्द अवस्थामा छ ।त्यसैगरी, रघुपति जुटमिलका लागि न्यायिक जाँचबुझ आयोग गठन गरी आयोगको सिफारिशको आधारमा निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ । वि.सं. १९९३ मा स्थापित जुटमिल नेपालको पहिलो उद्योग हो ।

उद्योग सञ्चालनको स्वरूप पनि निजी क्षेत्रकै प्रस्तावमा निर्भर हुने छ । मन्त्री यादव भन्नुहुन्छ, “निश्चित हिस्सा सरकारलाई दिने वा निजी क्षेत्रले नै पूर्णरूपमा राख्ने सम्बन्धमा निजी क्षेत्रको प्रस्तावको आधारमा सरकारले आफ्नो धारणा बनाउने छ ।” उहाँले सरकारले राख्नैपर्ने भए थोरै मात्रै हिस्सा राखेर निजी क्षेत्रलाई सञ्चालनको जिम्मेवारी दिने प्रस्ट्याउनुभयो । यसअघि निजी क्षेत्रबाट उद्योग सञ्चालनका लागि अनौपचारिक प्रस्ताव आए पनि अस्पष्ट नीतिले निजीकरणको प्रक्रिया अगाडि बढ्न सकेको थिएन । तत्कालै म्याद तोक्न कठिनाइ भए पनि केही समयभित्रै प्रक्रिया पूरा गरेर उद्योग सञ्चालन हुने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।- ईश्वरचन्द्र झा /गोरखापत्र अनलाइन   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।