ताजा अपडेट »

बर्दघाट नगरपालिकाकाे आफ्नै स्थानीय पाठ्यक्रम “हाम्रो बर्दघाट”

आइतबार, ०५ मंसिर २०७८, ०८ : १७
8 Shares

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरको पहिचान समेटिएको स्थानिय तहको पाठ्यक्रम सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच नगरपालिकाले हाम्रो बर्दघाट नामक पाठ्यक्रम मार्फत नगरभित्रका सबै विद्यालयमा आधारभुत तह सम्म पठनपाठन गर्न पाठ्यक्रम सार्वजनिक गरेको हो ।

स्थानीय पाठ्यक्रममा नगरपालिका भित्रका पर्यटकीय स्थलको ऐतिहासिक महत्व, प्राकृतिक विपत्तिग्रस्त क्षेत्र, सामाजिक सांस्कृतिक भौगोलिक विविधता समेटिएका जानकारीमुलक सामाग्री समेटिएको छ । शिक्षाको विकासमा स्थनीय तहको प्रमुख जिम्मेवारी रहेने भएकाले जिल्लाका सातै स्थानीय तहमध्ये सबैभन्दा पहिले पाठ्यक्रम लागू गर्ने नगरपालिका बर्दघाट भएको नगर प्रमुख धिरज शर्मा बस्यालले बताए ।

सानैदेखि बालबालीकालाई स्थनीय तहको जानकारी गराई आफू जन्मेको ठाउप्रति जिम्मेवार बनाउने उद्देश्य अनुरुप स्थानूय पाठ्यक्रम लागू गरिएको उनको भनाई छ । बालबालीकालाई अनुशासित भई आफ्नो जन्मभूमिप्रति जिम्मेवारीबोध गराउने गरी पाठ्यक्रम तयार पारिएको र त्यसैको आधारमा पुस्तक छापिने पनि बस्यालले जानकारी दिए ।

नगर उप प्रमुख मायादेवी पौडेलले विद्यालयमा पढ्ने बालबालिकालाई आफ्नो नगरपालिकाका विभिन्न पक्षका धेरै ज्ञान हुनुपर्ने भएकोले स्थानीय पाठ्यक्रम सहयोगि बन्ने विश्वास व्यक्त गरिन् ।बर्दघाट नगरपालिकाले तयार पारेको पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई पठनपाठन गराउनका लागि विद्यालयका शिक्षक शिक्षिकाहरुलाई अभिमूखीकरण प्रदान गरेको छ । पहिलो चरणमा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षक शिक्षिकालाई पाठ्यक्रमका विषयमा अभिमूखिकरण गरिएको र अर्को चरणमा संस्थागत विद्यालयका शिक्षक शिक्षिकालाई समेटिने शिक्षा शाखा प्रमुख प्रमुख ईन्द्र बहादुर कुँवरले जानकारी दिए ।

नगरपालिकाले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ र स्थानीय सरकार संचालन ऐन २०७४ मा भएको व्यवस्था अनुरुप पाठ्यक्रम तयार पारी लागू गरेको हो । बर्दघाटमा धार्मिकसहित ३५ ओटा सामुदायिक विद्यालय र २३ ओटा संस्थागत विद्यालय छन् । नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम पढाई गरिएको शिक्षा शाखाका धनपति पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।