ताजा अपडेट »

मुख्यमन्त्री राईले आज प्रदेशसभाबाट विश्वासको मत लिने

मंगलबार, ३० कार्तिक २०७८, ०९ : ४७
4 Shares

विराटनगर। मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै छन। मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन ।प्रदेशसभाबाट विश्वासको मत लिनुभन्दा दुई दिन अघि प्रस्ताव दर्ता गरिसक्नु पर्ने संसद नियमावलीको व्यवस्था अनुसार मुख्यमन्त्रीले आइतबार प्रस्ताव दर्ता गराए।

‘विश्वासको मत लिने तयारी स्वरुप सोमबार सत्ता गठबन्धन दलहरुको बैठक बसेको थियो । बैठकले सत्तारुढ दलहरुमा आउन सक्ने सम्भावित असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न पनि गरेको छ । बैठकले सत्तागठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलको नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । संयन्त्रले सरकारसँग नीतिगत र गठबन्धनलाई मजबुद बनाउने विषयमा समन्वय गर्ने बताइएको छ ।

यसैगरी काँग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ । न्यूनतम् साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य रहेका छन ।

कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले कात्तिक २३ गते नै विश्वासको मत लिने तयारी गरेको भएपनि तिहार र छठ पर्वका कारण त्यस दिन बोलाइएको प्रदेशसभा बैठक सूचना टाँसगरी कात्तिक ३० गतेका लागि सारिएको थियो ।

प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्य कायम छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि ताप्लेजुङका सांसद टंक आङ्बुहाङको पद रिक्त भएको थियो । मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका ५० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री राईले गठबन्धनको सबै मत कायम रहने विश्वास व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।