ताजा अपडेट »

एउटै बाबुका १७ सन्तान : सँगै दशैं-तिहार मनाउने साइत अहिलेसम्म जुरेको छैन

मंगलबार, १६ कार्तिक २०७८, १८ : ५४
20 Shares
एउटै बाबुका १७ सन्तान : सँगै दशैं-तिहार मनाउने साइत अहिलेसम्म जुरेको छैन

गुल्मी । एउटै बाबुका १७ सन्तान मध्ये जेठा छोरा हुन् नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला पार्टी संयोजक बिरबहादुर कार्की (चाहल ) । उनीसित उनका ती सबै दाजु–भाई दिदी–बहिनीहरुको नाम सोधियो । उनले त्यस्तै ७/८ जनाको नाम त केहि बेर हेक्का राख्दै भन्न सके । तर, अरुको नाम बिर्सेर श्रीमती रेनु कार्कीलाई तत्काल फोन गरेर उनीबाट सबैको नाम टिपाए।

जिल्लाको मालिका गाउँपालिका–५ छापाहिले सागबारी निवासी ७५ वर्षीय चित्रबहादुर कार्की वीर बहादुरसहित १७ सन्तानका बाबु हुन् । उनकी एउटी जेठी छोरी कालिका कार्की पौदी अमराईमा बिबाह भई बालबच्चाकी आमा समेत भएको बेला ३५ वर्षको उमेरमा मृत्यु भएको थियो । अरु १६ जना छोरा छोरीहरु सबै सकुशल र हट्टाकट्टा छन्।

चित्रबहादुर कार्कीको वैवाहिक सम्बन्ध पनि रोचक नै छ । जेठी श्रीमती खिमकलीलाई बाजा बजाएर विवाह गरि भित्राएको ४ महिना मै कान्छी ल्याउन उनै श्रीमतीसंग प्रस्ताव राखेर जमुना कार्कीलाई दोश्रो श्रीमतीका रुपमा विवाह गरे । दुबै श्रीमती एउटै घरमा मिलेर बसे । कान्छीतर्फ वीर बहादुर कार्की पहिलो सन्तानका रुपमा जन्मिए । त्यसपछि दुबैतर्फ सन्तान जन्मिने क्रम सुरु भयो।

जेठी श्रीमती खिमकलीले ६ भाई छोरा ४ बहिनी छोरी सहित १० सन्तान जन्माइन् । कान्छी श्रीमती जमुनाले ३ भाई छोरा र ४ वटी छोरीसहित ७ सन्तान जन्माइन् । १ सय ७३ रोपनी खेतीबारी भएका चित्र बहादुरलाई ती सन्तान पाल्न कहिल्लै अन्नको कमी भएन्।

कुनै समय गोठमा चार–पाँच वटासम्म लैना भैंसी पाल्ने चित्र बहादुरका छोरा–छोरीहरु दुध,दही,महिले नै हट्टाकट्टा भए । टोलको नाम नै सागबारी । त्यसै पनि सिङ्गो छापाहिले गाउँ पास्सीको साग (रायोको साग ) र मुला खेतीमा सदियौंदेखि प्रशिद्ध थलो हो । गाउँकै सागपात दुध,महिले एउटी विवाहित छोरी बाहेक अरु सबै निरोगी भए।

चित्रबहादुरले भ्याएसम्म खेतीपाती आफैले गर्दै आएका छन्। हलो जोत्नेदेखि दाउरा घाँस सबै आँफैले गर्छन् । १० सन्तानकी आमा खिमकली भने केही रोगी भएकी छन् । अर्की श्रीमती जमुना निरोगी छन् र सबै घरको काम भ्याउँछिन् । तपाइँहरु दुई बहिनीहरु बीच कहिले–काँही झगडा परेको छ कि छैन् ? भनेर सोद्धा खिमकली हाँस्दै भन्छिन्–‘किन झगडा गर्नु पर्यो र ? आ–आफ्नो भाग्य खाने न हो ? हामी त अहिले सम्म हाँसी–खुशी नै छौं , कहिल्यै झगडा परेको छैन् ।’

तपाइँहरुको त झण्डै एकैचोटी दुबैको विवाह भएको थियो रे’नि त ? भन्ने अर्को प्रश्नमा जुमना कार्कीले भनिन्–‘खै के गर्ने त्यस्तै भयो ।’ जेठा छोरा बिरबहादुर कार्की भन्छन्–‘ सानै छँदा त दशैं–तिहार सबैले संगै मनाइएको होला । तर, म जान्ने भएदेखि सबै दाजु भाई , दिदी बहिनीहरुले घरमा एकैसाथ बसेर दशैं तिहार मनाउन पाइएको छैनौं।’

उनी जनयुद्ध कालदेखि माओवादीमा लागेर जिल्ला नेता भए । माइला ढालबहादुर गाउँमै खेती– किसानी गर्छन् । साइँला अजित कार्की रुपन्देहीको छपियामा किसानी पेशा नै गर्छन् । काइँला ढालबहादुर कार्की बैदेशिक रोजगारमा छन्। राइँला मिन बहादुर कार्की पनि बैदेशिक रोजगारमा छन् । ठाइँला हिराबहादुर कार्की भारतीय सेनामा छन्। घाइँला गोपाल कार्की जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–फोकल पर्सन सुपरभाइजर छन् । ठूला कान्छा सन्तोष कार्की नेपाल प्रहरीमा छन् । कान्छा चन्द्रबहादुर कार्की गाउँमै छन् । साना कान्छा मदन कार्की भारतीय सेनामा छन् ।

जेठी दिदी कालिकाको मृत्यु भए पनि माइली तारा , साइँली पुतली, काइँली हिमा,राइँली शान्ता , ठाइँली पार्वती र कान्छी सावित्रा विवाहित छन् । सबै एकै साथ नजुटे पनि दशैं-तिहारमा ताउलो र खड्करोमा खान पकाउनु पर्ने जेठा छोरा कार्कीले बताए । उनको दावी छ–‘सरकारी जागिरे बाहेक हामी सबै दाजु भाई दिदी–बहिनी र ज्वाँई चेला भान्जा भान्जी सबै माओवादी हौं।’

उनी भन्छन्-‘अन्यत्र सौतेला छोरा छोरीहरुमा मनमुटाव हुन्छ भन्छन् तर हाम्रोमा एउटै मन छ । अहिलेसम्म कसैसँग सामान्य विवाद समेत भएको छैन्।’ ठूलो परिमाणमा बाली-नाली उब्जनी गर्ने किसान परिवारमा जन्मिएका माओवादी नेता वीर बहादुरलाई गाउँको खेती किसानी मोह टुटेको छैन्। उनले सदरमुकाममा कुनै समयको वन–झाडी भाडामा लिई फाँडेर खोतीयोग्य जमिन बनाई सबै खाले जडिबुटी र फलफूलको नर्सरी सञ्चालन गर्दै आएका छन्।

उनी र उनकी श्रीमती रेनु कार्की पनि माओवादी नेतृ हुन् । दुबैले राजनीतिसंगै कृषि पेशालाई निरन्तरता दिँदै आएका छन् । उनीहरुले त्यही पेशाबाटै नर्सरी रहेको स्थानमा जमिन किनेर छाप्रे घर बनाएका छन् । बाहिर हेर्दा टिनको छाप्रो भित्र हेर्दा सजिसजाउ सभ्रान्त परिवारको जस्तै छ । उनको घर चलाउने मुख्य श्रोत नै त्यही नर्सरी बनेको छ । उनीहरुकोमा लोकल कुुखरा,विभिन्न साग पात र तरकारीहरु समेत किन्न पाइन्छ ।

बाबुले १७ सन्तान जन्माए पनि जेठा छोरा वीर बहादुरले भने एक छोरा र एक छोरी मात्रै जन्माए । छोरा संघर्ष कार्की शिभिल इन्जिनियर छन् भने छोरी ज्योती कार्की स्टाफ नर्स पढ्दै छिन् । कार्कीले करिब २–३ घण्टा लगाएर खोज्दा समेत सबै जनाको तस्वीर भने भेट्टाउन सकेनन् ।

गुल्मी मै अर्का एउटै बाबुका २१ सन्तान सबै शकुशल र हट्टाकट्टा छन् । मुसिकोट नगरपालिका–३ पेगा निवासी बिष्णुबहादुर पाण्डेका २१ सन्तान रहेका हुन् । उनकी एउटी छोरी सिडियो, एक छोरा वन अधिकृत र अर्का छोरा सशस्त्रका डिएसपी सहित सरकारी जागिरे मात्रै ९ जना छन्। उनीहरुले पनि एकै साथ घरमा दशैं–तिहार मनाउन नपाएको बताउँदै आएका छन्।

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार