ताजा अपडेट »

साथ पाए जित्न सकिन्छ क्यान्सर

शनिबार, ०६ कार्तिक २०७८, ०८ : ३५
8 Shares

काठमाडौँ । ललितपुरकी विनु केसीलाई स्तन क्यान्सर भएपछि भारतमा उपचार गराइन । अहिले उनले क्यान्सरलाई पूर्ण रूपमा जितिसकेकि छन। क्यान्सर जित्न उनको परिवारको ठूलो साथ रह्यो ।परिवारले साथ नदिएको भए क्यान्सरलाई जित्न धेरै कठिन हुन्थ्यो । क्यान्सर हुँदा निकै गाह्रो थियो । आफन्त घरमा आएर हौसला दिनुभन्दा रोइदिन्थे । आफन्त रुँदा उनको मनोबल खस्किन्थ्यो । यति साना बच्चा टुहुरो हुने भए भनेर अरूले भनेको सुनेपछि धेरै गाह्रो भएर बाथरुम छिरेर रोएको स्मरण गर्दै उनले भनीन, “बिरामीलाई क्यान्सर शब्द सुन्नै मन लाग्दैन । क्यान्सरबाटै तीन जना सानिमालाई गुमाइसकेकी थिएँ । बिचरा भनिदिँदा निराश भइसकेको थिएँ ।”

१५ वर्षअघि क्यान्सर भनेको मृत्यु हो भन्ने थियो । त्यसैले विनु जतिदिन बाँचिन्छ बच्चासँग खुसी भएर बाँच्न चाहनुहुन्थ्यो । मलाई भेट्न आउनेले बिचरा बर्बाद भो । यति सानो उमेरमा क्यान्सर लाग्यो तर भगवान् छन्, यति सानो बच्चालाई भगवान्ले टुहुरो बनाउँदैनन् भन्ने शब्द सुनेपछि असह्य भएको थियो । त्यो बेला हाँसिरहेकी मलाई धेरै गाह्रो भएको थियो । केसीले क्यान्सर रोगीलाई बिचरा होइन, हौसलाको खाँचो रहेको बताए । हाम्रो शक्ति भनेकै हौसला हो भन्दै उहाँले हौसला दिँदा एउटा युद्ध नै जिते जस्तो अनुभव रहने बताइन ।

यस्तै नेपाल क्यान्सर सर्भाइभर सोसाइटीका अध्यक्ष प्रमिता खनालले पनि स्तन क्यान्सर जितिसक्नुभएको हो । उनी पनि क्यान्सर रोगीलाई दया होइन, हौसला चाहिएको बताइन । स्तन क्यान्सर हुँदा कतिपयको स्तन काटिएको भन्दै स्तनलाई जोगाएरै क्यान्सरको उपचार गर्नसकिने बताइन । उनले राज्यले क्यान्सर रोगीलाई दिइँदै आएको खर्चमा वृद्धि गर्नुपर्नेमा जोड दिइन ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले महिनावारी भएको ५ देखि ७ दिनको बीचमा स्तन परीक्षण गर्न जरुरी रहेको जानकारी गराए । उनले गर्भवती र महिनावारी सुकेका महिलाले स्तन परीक्षण गर्नुपर्ने जानकारी दिँदै आफ्नो स्तन क्यान्सर भए/नभएको आफैँ जान्न सकिने बताए । नेपालमा प्रत्येक दिन छ जना महिलामा स्तन क्यान्सरको समस्या देखिने गरेको भन्दै डा. शाहीले तीन जना महिलाको मृत्यु हुने गरेको बताए।

महिला आफँैले महिनामा एक पटक आफ्नो स्तन आफैले परीक्षण गर्न महिलालाई आग्रह गरे । शाहीले क्यान्सर रोग पत्ता लगाउने उपकरण अभाव भएर पनि क्यान्सर रोग बढेको हुनसक्ने बताए। क्यान्सरको उपचारमा अति आवश्यक रेडिएसन मेसिनसमेत देशभरमा चितवन, झापा र काठमाडौँमा मात्र छन् । यही कारण पनि धेरै व्यक्तिले समयमा क्यान्सरको उपचार पाउन नसकेको उनको भनाइ छ ।

क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाले नेपालमा क्यान्सर रोग महँगो हुँदै गएको बताए । नेपालीको आर्थिक स्थितिअनुसार क्यान्सर रोग महँगो भएको उनको भनाइ छ । अक्टोबर महिनामा विश्वमा स्तन क्यान्सर जनचेतनामूलक महिनाको रूपमा मनाउने गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।