ताजा अपडेट »

कोरोनाले सञ्चार क्षेत्र धरासायी, सरकारले अपनत्व नगरेको गुनासो

शनिबार, २३ असोज २०७८, २१ : १५
6 Shares

बुटवल । कोरोना महामारीले सञ्चार क्षेत्र धराशायी बनेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । शनिबार चाँदनी नेपालद्वारा बुटवलमा आयोजित कोभिड–१९ पत्रकारिता र सञ्चारमाध्यम विषयक छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले कोरोना महामारी सञ्चारमाध्यक्ष बन्द हुने अवस्थामा पुग्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको गुनासो गरेका छन्।

कार्यक्रममा बरिष्ठ पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले पत्रकार महासंघले साँझा भूिमका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । पहाडीले सञ्चारकर्मीले ज्यान जोखिममा पारेर समाचार संकलन गर्दा पनि महासंघले पत्रकारको सुरक्षाको लागि सम्बन्धित निकायसँग पहल गर्न नसकेको बताए । उनले सञ्चारमाध्यम धरासायी हुँदा पनि सरकारले कुनै चासो नदेखाएको बताउँदै सरकारको खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले कोरोनाले सञ्चारगृह र पत्रकार निकै नराम्रोसँग प्रभावित भएको बताए । उनले सरकार सञ्चारगृहहरुको संरक्षणमा तीन तहको ध्यान नदिएको गुनासो गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले कोभिड महामारी यता सञ्चारमाध्यम थला परेको बताउँदै बन्दै हुने अवस्थामा पुगेको बताए । उनले कोरोना बहाना देखाएर सम्बन्धित निकायले विज्ञापन उपलब्ध गराउन छाडेको बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष यानेन्द्र जिसीले सञ्चारकर्मीहरुको पीडा मिडियाहाउसहरुले बुझ्न नखोजेको बताए । उनले कोरोनाको बहानामा तलब घट्दा पनि सञ्चारकर्मीहरु कम्परमाइज गरेर काम गर्नुपरेको धारणा राखे ।

यस्तै, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पत्रकारको एजेण्डा माथि गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले कोरोना महामारीले सञ्चारक्षेत्र धराशायी भई आर्थिक मन्दीमा परेपनि सञ्चार गृहले स्पष्ट रुपमा आर्थिक अवस्था नखुलाउने गरेको बताउँदै सो बारे सञ्चारकर्मीले नै चासो नदिएको औंल्याए ।

महासंघ रुपन्देहीकी महिला उपाध्यक्ष अमृता अनमोलले मिडिया हाउसहरुले कोरोना महामारीमा पनि संवेदनशीलता नदेखाएको अनुभव राखिन्। उनले व्यक्ति पिच्छे अनलाइन सञ्चालन गर्ने परिपाटीले आधिकारिक र ठूला सञ्चारगृहप्रति पनि अविश्वास बढेको बताउँदै संस्थागत सञ्चार र श्रमजिवी पत्रकारहरुको हकहितका लागि सरोकारवालालाई गम्भिर हुन आग्रह गरिन् । कोरोना महामारी र पत्रकारको अवस्थाबारे मिडियाहाउस सञ्चालक सँग वार्ता गर्नुपर्नेमा उनको जोड छ ।

त्यसैगरी, नेपाल प्रेस यूनियन रुपन्देहीकी सभापति रेखा भुसालले कोरोना महामारीबाट पेशागत असुरक्षा साथै सञ्चारकर्मीले पारिश्रमिक नै नपाएर जागिर छोड्नुपर्ने बाध्यता आएको बताईन् । उनले सम्बन्धित निकायलाई घचघचाउन नसकेको भन्दै सरकारले पनि सञ्चारकर्मीको लागि ठोस कदम नचालेको बताईन् ।

कार्यक्रममा अग्रज पत्रकार हरिश ढकाल, निरा गौतम, गोपाल ज्ञवाली, रिमा बिसी, दीपक न्यौपाने लगाएतले मिडियाहाउसले अपनत्व नदेखाएको गुनासो गरे । सम्बन्धित निकायहरुले पत्रकारलाई चाहिँदा प्रयोग गर्ने तर,सञ्चार माध्यम र सञ्चारकर्मी समस्यामा पर्दा वास्ता पनि नगर्ने उनीहरुको गुनासो छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।