ताजा अपडेट »

एसियन कंक्रिटो बन्यो कंक्रिटजन्य उत्पादनमा नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो उद्योग

विहीबार, ३१ भदौ २०७८, १८ : ४६
14 Shares

बुटवल । नवलपरासीस्थित एशियन कंक्रिटोले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य बस्तु उत्पादन गर्ने उद्योगहरुमा नेपाल गुणस्तर प्राप्त गर्ने एसियन कंक्रिटो पहिलो भएको कम्पनीले जनाएको छ । कंक्रिटोले गत बैशाखमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘एनएस’ चिन्ह प्राप्त गरेको कम्पनीका अध्यक्ष मनिष रुङ्गटाले जानकारी दिए। यूरोपियन तथा भारतीय मापदण्ड अनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको एशियन कंक्रिटोले नेपाल गुणस्तर मापदण्ड अनुसार उत्पादन सुरु गरेको छ ।

‘नेपालमा यस्ता सामग्रीको मापदण्ड बनिनसकेको अवस्थामा हामीले यूरोपियन तथा भारतीय मापदण्डलाई अनुशरण गरेर विभिन्न सामग्री बनाइरहेका थियौं ।’ अध्यक्ष रुङ्गाटाले भने, ‘नेपाल सरकारले यससम्बन्धी मापदण्ड बनाएपछि एसियन कंक्रिटोले नेपाल गुणस्तर (एनएस) लिएको तथा अहिले सोही अनुरुप उत्पादन गर्दै आएको छ ।’ उद्योगले हाल ३० वटा विभिन्न निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए । यसमध्ये कर्बस्टोन र इन्टरलक ब्लक नेपाल गुणस्तर चिन्ह्र प्राप्त गर्ने पहिलो प्रोडक्ट भएको अग्रवालले बताए ।

कार्बस्टोन र इन्टरलक ब्लक सरकारले बनाउने पूर्वाधार विकासमै ८०/९० प्रतिशतसम्म खपत हुने गरेको छ । यदि सरकारले नेपाल गुणस्तर चिन्ह्र प्राप्त गरेको उत्पादन मात्रै प्रयोग गरेमा सरकारको अर्बौ रुपैयाँ वार्षिक मर्मत सम्भारबापत खर्च हुने रकम जोगिने कम्पनीका भाइस प्रेसिडेन्ट स्यामल झाले दाबी गरे । ‘विगतका दिनमा नेपालमा यस्ता गुणस्तरीय प्रोडक्ट बनेका थिएनन् । उद्योग पनि लागिसकेका थिएनन् । बाध्य भएर सरकारले गुणस्तरहीन प्रोडक्ट प्रयोग गरिरहेको थियो,’–झाले भने, ‘अब नेपालमै सरकारद्वारा बनाइएको मापदण्ड पालना गरेर गुणस्तरीय कर्बस्टोन तथा इन्टरलक ब्लक बन्न थालिसकेका छन् । त्यही भएर सरकारले पनि अबउप्रान्त बन्ने पूर्वाधारमा एनएस प्राप्त उत्पादन लगाउनका लागि योजना अघि सार्नुपर्छ ।’

उद्योगले बनाइरकेको कर्बस्टोन सडकको छेउ किनारा तथा डिभाइडरमा प्रयोग गरिन्छ भने इन्टरलक ब्लक फूटपाथदेखि शहरी क्षेत्रका भित्री सडक बनाउन सकिन्छ । विश्वका विभिन्न मुलुकमा भित्री तथा सहरका मुख्य सडक नै इन्टरलक ब्लकबाट बनाइएका छन् ।

नेपालमा पनि यस्ता खाले गुणस्तरीय इन्टरलक ब्लकबाट भित्री तथा सहरी सडक बनाउँदा टिकाउ, दिगोपना, वातारणमैत्री र मर्मत सम्भारमा लाग्ने खर्च समेत जोगाउन सकिने कम्पनीका प्रबन्ध निर्देशक अग्रवालले बताए । सरकारले विश्व बैंकको सहयोगमा चोभारमा निर्माण गरिसकेको सुक्खा बन्दरगाहमा एसियन कंक्रिटोले उत्पादन गरेको इन्टरलक ब्लक प्रयोग भइसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।