ताजा अपडेट »

बुटवल मोतिपुर निषेधाज्ञामा कडाई : सुरक्षा बढाइयो, ८ जना नियन्त्रणमा

मंगलबार, २९ भदौ २०७८, ११ : २८
20 Shares

बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेसँगै यस क्षेत्रमा सुरक्षा बढाइएको छ। सुकुम्बासीका नाममा मोतीपुर औद्योगिक करिडोरको जग्गा कब्जा गर्न थालेपछि बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न निर्देशन जारी गर्दै प्रशासनले हिजोदेखि निषेधाज्ञा लागू गरेको हो ।

औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेको भन्दै अहिले सम्म ८ जनालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। बस्ती बसाउनुको लागि हजार जनाको समुह तयार गरि सरकारसँग भिड्न तयार रहेको र बस्ने व्यवस्था मिलाउन रसिद काटेको थाहा पाएकोले उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

आइतबार पक्राउ परेका ४ जनालाई धरौटीमा रिहा गरिएको छ भने निषेधाज्ञा शुरु भएपछि पक्राउ परेका ४ जनालाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले तोकिएका क्षेत्रमा बनेका संरचना हटाउने र नयाँ आउनेलाई पक्राउ गरि कारवाही गरिने बताए । 

उनले उलङ्घन गरेमा १ लाख सम्म जरिवाना र ६ महिना सम्म कैद वा दुबै सजाय दिन सकिने व्यवस्था रहेको बताए । उनले तोकिएको ४ किल्लाभित्र नआई सहयोग गर्न आग्रह समेत गरेका छन् । निषेधित क्षेत्र पूर्व तिनाउ नदी ( बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खेतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) तोकिएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।